खेल

टिम साउथी र बाबर आजमले छाडे कप्तानी

श्रीलंकामा शृङ्खला पराजित भएपछि टिम साउथीले न्युजिल्यान्डको टेस्ट कप्तानबाट राजीनामा दिएका छन्।

३५ वर्षे साउथीले राजीनामा दिएपछि न्युजिल्यान्ड क्रिकेट बोर्डले उनको स्थानमा टम लाथमलाई कप्तानको जिम्मेवारी दिएको छ।  

केन विलियम्सनले सन् २०२२ मा नेतृत्व छाडेपछि रातो बलको कमानी साउथीले लिएका थिए। उनले १४ टेस्टमा ६ जित, छ हार र दुई बराबरीको नतिजा निकालेका थिए।

तर श्रीलंका भ्रमणका क्रममा भने न्युजिल्यान्डले नराम्रो हार बेहोर्यो। गालेमा भएको पहिलो टेस्टमा साँधुरो हार भोगेको किबिज टोली दोस्रो खेलमा भने एक इनिङ्सको फराकिलो अन्तरमा पराजित भयो।

अब न्युजिल्यान्डले यही महिनाको अन्तिममा भारतसँग तीन टेस्टको शृंखला खेल्नेछ।  

बाबरले पनि छाडे कप्तानी  

पाकिस्तानका भरपर्दा ब्याट्सम्यान बाबर आजमले पनि एक दिवसीय र टी २० क्रिकेटबाट राजीनामा दिएका छन्। अबको ध्यान ब्याटिङमा दिने भन्दै २९ वर्षे बाबरले सेतो बलको कप्तानी छाडेका हुन्।

सामाजिक सञ्जालबाट राजीनामा घोषणा गरेका बाबरको पछिल्लो प्रदर्शनलाई लिएर आलोचना हुँदै आएको थियो। यद्यपि पाकिस्तानी क्रिकेट टोलीको कप्तानी गर्न पाउनु गर्वको विषय भएको उनको भनाइ छ।

प्रकाशित: १६ आश्विन २०८१ १२:३९ बुधबार

#Team Sauthi #Babar Ajam