खेल

नारद मुनि गोल्डकप ४ महिना पछि सर्‍यो

बसाहा गोल्डकपबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलन। तस्बिरः महेश्वर

बिहीबार (भोली) देखि सुरु हुने तय भएको उदयपुरकै सर्वाधिक पुरस्कार राशीको गोल्डकप ‘१० औँ नारदमुनि थुलुङ स्मृति गोल्डकप फुटबल प्रतियोगिता ०८१’ अन्तिम चरणमा आएर स्थगित भएको छ।

अविरल वर्षापछि उत्पन्न असामान्य परिस्थितिका कारण असोज १७ देखि २४ गतेसम्म सञ्चालन गर्ने भनिएको प्रतियोगिता स्थगित गर्नुपरेको आयोजक बसाहा क्लबले जनाएको छ।

क्लबका अध्यक्ष गौतम राईका अनुसार अविरल वर्षाका कारण देशव्यापी जनधनको क्षति भइरहेको तथा सडक बाटोहरू भत्के बिग्रेका कारण खेलाडीहरु सहभागी हुन समस्या भएकाले स्थगित गर्नु परेको हो।

जिल्लाको चौदण्डीगढी नगरपालिका ४ बसाहाको बर्खेडाँडास्थित नारद आदर्श रङ्गशालामा गर्ने तयारी पूरा भईसकेको प्रतियोगिता अहिलेलाई रोक्दै ४ महिनापछि आयोजना गर्ने गरी हाललाई स्थगित गरिएको हो। अध्यक्ष राईका अनुसार प्रतियोगिता आउँदो माघ २२ गतेदेखि सञ्चालन गर्ने निर्णय क्लबले गरेको छ।

बिहीबार उद्घाटन गर्ने भनिएको प्रतियोगितामा गत वर्षको विजेता बागमती युवा क्लब सर्लाही, उपविजेता न्यु त्रियुगा स्पोर्ट क्लब सप्तरीसहित विभिन्न ८ समूहले भाग लिने पक्का भईसकेको थियो। त्यसैगरी झापा ११, विराट मेघा स्पोर्टिङ मोरङ, चित्लाङ फुटबल क्लब काठमाडौं, सहलेश क्लब सिराहा र संकटा फुटबल क्लब काठमाडौंले सहभागिता जनाउने पक्का भईसकेको थियो।

विजेता टोलीले ट्रफिसहित नगद ५ लाख रुपैँया, मेडल र प्रमाणपत्र पाउने छ भने उपविजेताले नगद २ लाख २५ हजारसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। पुरस्कार  ठूलाे नभएर यो गोल्डकप उदयपुरको सबभन्दा जेठो र पुरानो गोल्डकप पनि भएको क्लबका पूर्व अध्यक्ष तथा सल्लाहकार शेखर राईले बताए। 

प्रकाशित: १६ आश्विन २०८१ १२:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App