खेल

निजी क्षेत्रलाई क्रिकेटमा जोड्नु सुखद् सन्देशः कर्णाली याक्स निर्देशक गृहेन्द्र घिमिरे

हिमालयन बिल्डर्स एन्ड इन्जिनियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सका निर्देशक गृहेन्द्र घिमिरेले नीजि क्षेत्र नेपाली क्रिकेटमा जोड्नु सुखद् सन्देश भएको बताएका छन् ।

मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले काठमाडौंमा एक कार्यक्रम गर्दै नेपाल प्रिमियर लिग(एनपिएल)मा सहभागी ८ क्लबको मालिक सार्वजनिक गरेको थियो ।

कार्यक्रममा बोल्दै कर्णाली याक्सका निर्देशक गृहेन्द्र घिमिरेले भने, ‘नीजि क्षेत्रलाई खेलसँग जोड्ने काम गरेकोमा क्यानलाई बधाई दिन चाहन्छु । यो सुखद् सन्देश हो । अब, नेपाली क्रिकेटले विकासमा ठूलो फड्को मार्नेछ ।’

हिमालयन बिल्डर्स एन्ड इन्जिनियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सले सोमबार मात्रै टिम नाम, लोगो र प्रशिक्षक सार्वजनिक गरेको थियो । कर्णालीको प्रतिनिधित्व गर्ने याक टिमको लोगोमा समावेश गरिएको छ ।

यस्तै, टिमको प्रशिक्षकमा पूर्व कप्तान तथा नेपाली राष्ट्रिय ‘ए’ टिमका प्रशिक्षक ज्ञानेन्द्र मल्ललाई नियुक्ती गरिएको छ । मल्ल कर्णाली याक्सका टिम निर्देशन पनि हुन् । हिमालयन बिल्डर्स एन्ड इन्जिनियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सको मार्कीमा राष्ट्रिय टोलीका अलराउन्डर सोमपाल कामी रहेका छन् ।

कर्णाली याक्समा निर्देशक गृहेन्द्र घिमिरले नेपाली खेलकुद भन्दैबित्तिकै ओलम्पियन दीपक विष्ट, संगिना वैद्यसँगै पूर्व कप्तान पारस खड्का तथा पछिल्लो समय पलेशा गोवर्धन र एरिका गुरुङ जस्ता खेलाडीमा नाम सधै चर्चामा आउने बताउँदै अबका दिनमा एनपिएल पनि जोडिएको बताए । ‘हामीले खेलकुद भन्नेबित्तिकै सधै दीपक विष्ट, संगिना वैद्यसँगै पूर्व कप्तान पारस खड्का तथा पछिल्लो समय पलेशा गोवर्धन र एरिका गुरुङ जस्ता खेलाडीमा नाम सुन्छौं । अब, क्यानले संसारको ध्यान नेपाल प्रिमियर लिगमार्फत तान्न सफल भएको छ ।’

निर्देशक घिमिरेले कर्णाली याक्सको लागि स्पोन्सर खोज्दै जाँदा नेपाली क्रिकेटको प्रशंसा अत्याधिक पाएको सुनाउँदै नेपाली क्रिकेटको भविष्य उज्वल रहेको प्रष्ट पारेका छन् ।  ‘नीजि क्षेत्रले भविष्यमा नेपाली क्रिकेटलाई माथिल्लो स्तरमा पुर्याउन योगदान सुरु गरिसकेका छन् । यहाँ प्रतियोगिता सबैले जित्न खेल्छन् । कस्ले जित्छ थाहा हुँदैन । सबैले राम्रो प्रतिस्पर्धा गर्नेमा विश्वस्त छु ।’

प्रकाशित: १५ आश्विन २०८१ २२:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App