खेल

एनपीएलकाे कमर्सियल राइट्स ६ करोडमा बिक्री

नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको नेपाल प्रिमियर लिग (एनपीएल) को ‘स्ट्राटेजिक एण्ड कमर्शियल राइट्स’ ब्रान्ड लजिकले पाएको छ।

क्यानले बोलकबोल मार्फत यो अधिकारका लागि आवेदन खुलाएको थियो। जसमा सबैभन्दा बढी ५ करोड ९२ लाख रुपैयाँको बोली लगाउँदै ब्रान्ड लजिकले सो महत्त्वपूर्ण अधिकार प्राप्त गरेको हो।

यस सम्झौताले ब्रान्ड लजिक र नेपाल प्रिमियर लिगको सहकार्यलाई थप दिगो र व्यवस्थित बनाउने अपेक्षा गरिएको छ। ब्रान्ड लजिकले अब लिगको प्रचार-प्रसार, ब्रान्डिङ, मार्केटिङ, प्रसारण अधिकार, प्रायोजन व्यवस्थापन, र ग्राउन्ड ब्रान्डिङजस्ता महत्त्वपूर्ण जिम्मेवारी सम्हाल्नेछ।

सम्झौतासँगै, ब्रान्ड लजिकले नेपाल प्रिमियर लिगका खेलहरू देशभर र अन्तर्राष्ट्रिय स्तरमा प्रसारण गर्न सक्ने अधिकार पाएको 

छ। यसका साथै, लिगका विभिन्न प्रायोजन अवसरहरूलाई व्यवस्थापन गर्दै लिगको आर्थिक पक्षलाई थप मजबुत बनाउन कम्पनीले विशेष भूमिका खेल्नेछ।

ब्रान्ड लजिकका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत रोशन निरौलाले यस सहकार्यबारे उत्साह व्यक्त गर्दै भने, “क्रिकेट मेरो सानैदेखिको प्रिय खेल हो, र यस लिगलाई हाम्रो कम्पनीसँग जोड्न पाउँदा गर्व लागेको छ। नेपाल प्रिमियर लिगलाई अझै उत्कृष्ट बनाउन र विश्वस्तरमा पुर्‍याउन सक्ने अवसर पाएकोमा म खुसी छु। नेपाली क्रिकेटको भविष्यको रूपमा यो लिग महत्त्वपूर्ण छ, र हामी यसलाई सफल बनाउन हाम्रा सबै स्रोतसाधन प्रयोग गर्नेछौं।”

विज्ञापन तथा मार्केटिङ क्षेत्रमा आफ्ना सिर्जनात्मक सोच र उत्कृष्ट कार्यान्वयन क्षमताका कारण छुट्टै पहिचान बनाउन सफल ब्रान्ड लजिकले, नेपाल प्रिमियर लिगलाई नयाँ उचाइमा पुर्‍याउन योगदान दिने विश्वास गरिएको छ।

प्रकाशित: १४ आश्विन २०८१ २१:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App