खेल

एन्फा महिला लिग : एपिएफ अपराजित रहँदै शीर्षमा

लक्ष्य बुनेर मात्रै हुँदैन, उद्देश्य पूरा गर्न बलियो टोली पनि चाहिन्छ। एन्फा महिला लिगमा यी दुवै पक्ष मिलेको टोली हो, एपिएफ क्लब।

एपिएफमा नेपाली राष्ट्रिय टोलीबाट खेल्ने खेलाडीको बाहुल्य नै छ। स्टारले भरिएको एपिएफले यस लिगमा उत्कृष्ट प्रदर्शन पनि गर्‍यो। यस क्रममा एपिएफले लिगका कुनै खेल गुमाउनु परेन। एपिएफले तीन खेल अगावै दोस्रो चरण अर्थात् सुपर लिगमा पनि स्थान बनाएको थियो।

एपिएफले शुक्रबार पनि बागमती युथ क्लबलाई ७–० ले हराउँदै अपराजित यात्रा ९ खेलसम्म पुर्‍याउँदै आफ्नो लय जारी नै राख्यो। पहिलो खेलमा नेपाल पुलिससँग गोलरहित बराबरी खेलेको एपिएफले त्यसपछि सबै खेल जित्यो। यस क्रममा एपिएफले २५ अंक जोडेको छ।

विभागीय प्रतिद्वन्द्वी आर्मी र पुलिसले पनि एपिएफलाई भेटाउन सकेन। यता, शुक्रबार नै कर्णालीविरुद्ध ५–० को नतिजा हात पारेको आर्मीले १९ अंक बटुल्यो। एक खेल खेल्न बाँकी रहेको पुलिसको त्योभन्दा एक अंक कम छ। छैटौं स्थानमा रहेर लिग पूरा गरेको बागमतीले १० अंक जोड्यो।

कर्णाली भने चार अंकसहित पुछारबाट दोस्रो स्थानमा रह्यो। एपिएफ, आर्मी र पुलिससँगै शीर्ष पाँचमा अटाएका वालिङ नगरपालिका र कोसी प्रदेशले अर्को सिजनका लागि पनि लिगमा सोझै स्थान बनाएका छन्। शीर्ष पाँचभन्दा बाहिरका टोलीले भने छनोट खेल्नुपर्ने छ।

एपिएफको आठौं जितमा रश्मिकुमारी घिसिङको प्रदर्शन उत्कृष्ट रहयो। यसै सिजन आर्मीबाट एपिएफ पुगेकी रश्मिकुमारीले एक्लैले पाँच गोल गरिन्। मुख्य फरवार्ड सावित्रा भण्डारी फ्रान्सेली क्लबमा आबद्द भएपछि एपिएफले सुरुका खेलमा गोल स्कोरिङमा समस्या भोगेका थियो।

तर, केही खेलपछि नै रश्मिले लयमा समातिन् र सावित्राको अभाव खड्किन दिइनन्। बागमतीविरुद्ध पाँच गोल गर्दै रश्मिकुमारीले पहिलोचरणमै आफ्नो गोलसंख्या १८ मा पुर्‍याएकी छन्। जारी लिगमा यो उनको तेस्रो ह्याट्रिक पनि हो। यसअघि उनले कोसीविरुद्ध पाँच र सुदूरपश्चिम प्रदेशविरुद्ध चार गोल गरेकी थिइन्।

रश्मिकुमारीले ३५औं मिनेटमा पहिलो गोल गरेकी हुन्। त्यसपछि उनले गोलको वर्षा गरिन्। रश्मिकुमारीले ४०औं र ५८औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरिन्। पेनाल्टीमार्फत उनले ह्याट्रिक पूरा गरेकी हुन्। त्यसअघि कप्तान अनिता बस्नेतले पनि एपिएफका लागि एक गोल थपेकी थिइन्।

बागमतीका खेलाडीले एकपछि अर्को गल्ती गरेपछि एपिएफले फाइदा उठाएको हो। एपिएफले दुई गोल पेनाल्टीमार्फत गर्‍यो। दुईपल्ट ह्यान्ड गरेपछि एपिएफले पाएको पेनाल्टीलाई गोलमा परिणत गरेको हो। रश्मिकुमारी लिगको सर्वाधिक गोलकर्ता हुन्।  

उनीभन्दा पछाडि तीन खेलाडी (आठ गोल) दोस्रो स्थानमा छन्। आर्मीकी अमिषा कार्कीले आठ गोल मात्रै गर्न सकिन्। वालिङकी ज्याकलिन नसाली र चन्द्रा भण्डारीले पनि समान आठ गोल गरेकी छन्। तर, ज्याकलिनले आठ खेल खेल्दा चन्द्राले भने ९ खेलबाट यो उपलब्धि हात पारेकी हुन्।

८८औं मिनेटमा रश्मिकुमारीले व्यक्तिगत पाँचौं गोल गर्दा सविता रानामगरले पनि मौका गुमाइनन्। उनले इन्जुरी समयको पहिलो मिनेटमा एपिएफको छैटौं गोल गरिन्। छनोट नखेली लिग खेल्ने अवसर पाएको बागमतीको यो पाँचौं हार हो।  

अर्को खेलमा पनि आर्मीले लिगबाट बाहिरिसकेको कर्णालीविरुद्ध उस्तै फराकिलो नतिजा निकाल्यो। यो जितमा दीपा राई, दीपा शाही, अमिषा कार्की, विमला चौधरी र चन्द्रा भण्डारीले समान एक गोल गरे।

पहिलो चरणको लिगको अन्तिम खेलमा शनिबार संकटा फुटबल क्लब र पुलिस भिड्ने छन्। पुलिस पनि यो खेल जित्दै पहिलो चरणको सुखद अन्त्य गर्न चाहन्छ। हारे संकटा ११ अंकसहित छैटौं स्थानमा रहने छ।

प्रकाशित: १२ आश्विन २०८१ ११:२१ शनिबार

#APF Club