खेल

महिला फुटबल लिग: शीर्ष पाँचको होडमा फर्कियो बागमती

एन्फा महिला फुटबल लिगमा बागमती युथ क्लब त्यो मोडमा पुगेको छ, जहाँबाट यो टोली अब सायद पछाडि फर्कन चाहँदैन। पहिलोपल्ट राष्ट्रिय लिगमा बागमतीले प्रतिस्पर्धा गरेको हो। बागमतीले दुई खेलअगावै शीर्ष पाँचमा अटाउन कठिन हुने आँकलन गरेको थियो। तर, सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार संकटा फुटबल क्लबलाई ३–१ ले हराउँदै बागमतीको शीर्ष पाँचमा पुग्ने सम्भावना मात्रै बलियो भएको छैन। अब स्वर्ण अक्षरमा नाम लेखाउन अन्तिम खेल जित्नैपर्ने कर लागेको छ।

यो चरणमा उसको यो अन्तिम खेल हुनेछ अंकतालिकाको शीर्ष टोली एपिएफसँग। बागमतीसँग एक अंकले मात्रै पछि रहेको संकटाका लागि यो खेल महत्त्वपूर्ण थियो। अघोषित फाइनलजस्तै। त्यसमा संकटा चुक्यो। यो हारले संकटाको लिगमा शीर्ष पाँचमा पर्ने सम्भावना लगभग समाप्त गरिदिएको छ। अन्तिम खेलमा शीर्ष पाँचमा स्थान सुरक्षित गरिसकेको नेपाल पुलिससँग खेल्न बाँकी रहेको संकटाको आठ खेलबाट आठ अंक छ। संकटाभन्दा अगाडि बागमती (१०), कोशी प्रदेश (११) र वालिङ नगरपालिका (१२) छन्।

उनीहरूले पनि संकटाजस्तै एक खेल खेल्न बाँकी छ। यही खेलबाट तीन विभागीय टोलीबाहेक शीर्ष पाँचमा अटाउने दुई टोलीको टुंगो लाग्नेछ। लिगको छैटौं खेलमा वालिङसँग ४–० को हार बेहोरेपछि बागमतीका सहायक प्रशिक्षक सोनाम लामाले यस पछिका खेल कठिन मानेका थिए। किनभने बागमतीभन्दा अगाडि संकटा, चन्द्रपुर नगरपालिका र कोसी प्रदेश थिए। तर, सातौं चरणमा त्रिभुवन आर्मीसँग चन्द्रपुर १०–० ले हार्नु र कर्णालीविरुद्ध गिफ्टी अचेमपोङले दोस्रो हाफको इन्जुरी समयको छैटौं मिनेटमा निर्णायक गोल गर्दै जित दिलाउनुले पनि बागमतीलाई लिगमा फर्काएको हो।

मंगलबार उनै गिफ्टी बागमतीका लागि बरदान साबित भइदिइन्। सुनिता भुलनले दिएको बललाई पेनाल्टी बक्सभित्र रहेकी संकटाका कप्तान सुस्मा महर्जनले हेड गर्दै बचाउन खोजेकी थिइन्। तर, उचाइले साथ नदिँदा त्यही बललाई जाली चुमाउँदै गिफ्टीले ६८औं मिनेटमा सुरुआती अग्रता दिलाइन्। गिफ्टी त्यतिमै रोकिनन्। त्यसको आठ मिनेटपछि उनले ‘सोलो’ गोल गर्न पुगिन्। सहारा लिम्बूले दिएको बललाई उनीले एक्लो प्रयासमा जाली चुमाएका हुन्। यद्यपि, तेमिलोपे जेनिफरले ८३औं मिनेटमा गोल गर्दै संकटाको संकट टार्ने प्रयास गरेकी थिइन्।

संकटाका डिफेन्डरले क्लियर गरेको बललाई सुमिहाङमा लिम्बूले नियन्त्रणमा लिने प्रयास गरेकी थिइन्। तर, सफल नहुँदा ममता पुनले उपलब्ध गराइदिएको थ्रु बललाई जेनिफरले गोलमा परिणत गरेकी हुन्। तर, इन्जुरी समयमा सातौं मिनेटमा पुष्षाकुमारी खड्काले गोल गर्दै बागमतीलाई ३–१ को जित दिलाइन्। दुई मिनेटअघि मात्रै अस्मिता खवासको स्थानमा मैदान प्रवेश गरेकी उनलाई यो गोलको अवसर पनि गिफ्टीले मिलाइदिएकी हुन्। अब संकटाले देखेको सपना पूरा गर्न उसले अन्तिम खेलमा पुलिससँग जित्ने मात्रै होइन, अन्य टोलीको नतिजा पनि भर पर्नुपर्ने हुन्छ।

अन्तिम चरणमा बिहीबार पहिलो खेलमा वालिङले बाहिरिसकेको चन्द्रपुरसँग खेल्दा सोही मैदानमा कोसी र सुदूरपश्चिम प्रदेश एकअर्काविरुद्ध उत्रिनेछन्। यो खेलमा वालिङ र कोसीले जित हासिल गरे बागमतीलाई एपिएफसँग नतिजा कुरिरहन आवश्यक पर्दैन। मंगलबार आर्मीसँग ८–० को फराकिलो हार बेहोरेको वालिङले यही नतिजालाई निरन्तरता दियो भने बागमती जितको आशासहित मैदान उत्रिनेछ। अर्कोतर्फ यीमध्ये कुनै दुई टोलीले मात्रै राम्रो नतिजा दिलाए संकटाको झिनो सम्भावना पनि एक खेलअगावै समाप्त हुनेछ, जुन संकटा चाहँदैन।

प्रकाशित: ९ आश्विन २०८१ ०९:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App