खेल

पदक विजेता भलिबल खेलाडी नगदसहित सम्मानित

काभा महिला भलिबल क्लब च्याम्पियनसिप विजेता नेपाल पुलिस क्लबका प्रत्येक सदस्यलाई नगदसहित सम्मान गरिएको छ।

नक्सालमा मंगलवार एक कार्यक्रम आयोजना गर्दै शिखर इन्स्योरेन्स कम्पनीले च्याम्पियन पुलिसका प्रत्येक सदस्यलाई नगद सहित सम्मान गरेको थियो । प्रत्येक खेलाडी, प्रशिक्षक र म्यानेजरलाई समान ५० हजार एक रुपैयाँ नगद पुरस्कारसहित सम्मान गरेको हो ।

विधातर्फ उत्कृष्ट खेलाडीलाई थप ५० हजार रुपैयाँबाट पनि पुरस्कृत गरिएको थियो ।  च्याम्पियनसिपमा नेपाल पुलिस क्लबकी उषा भण्डारी वेस्ट भ्यालुएबल प्लेयर र उत्कृष्ट आउट साइट हिटर घोषित भएकी थिइन् । त्यसबापत उनलाई दुई विधामा उत्कृष्ट पुरस्कार थप गर्दै कुल एक लाख ५० हजार दुई रुपैयाँ पुरस्कृत गरिएको थियो ।

त्यस्तै सुमित्रा रेग्मी उत्कृष्ट मिडल ब्लकर र शान्तिकला तामाङ उत्कृष्ट लिबेरो घोषित भएकी थिइन् । दुवैलाई पुरस्कार रकमबाट ५० हजार हजार थप गर्दै एक लाख दुई रुपैयाँसहित सम्मान गरिएको थियो ।

रूपेश विष्ट मुख्य प्रशिक्षक र सहायक प्रशिक्षकमा सुशीला थापा थिए । प्रशिक्षकद्वयसँगै अफिसियललाई पनि समान ५० हजार रुपैयाँसहित सम्मान गरिएको थियो । पूर्व मन्त्री तथा नकपा समाजवादीकी नेतृ रामकुमारी झाँक्री र शिखर इन्स्योरेन्सका अध्यक्ष गौरव अग्रवाल र सिइओ दीपप्रकाश पाण्डेले विजेता खेलाडी तथा प्रशिक्षकलाई सम्मान गरेका हुन् ।

नेपाल पुलिस क्लबले फाइनलमा उज्बेकिस्तानको हुमो भलिबल क्लबमाथि ३–० को सोझो सेटमा हराउँदै उपाधि जितेको हो । पुलिस अपराजित रहँदै यो उचाल्न सफल भयो । मालदिभ्समा शनिवार सम्पन्न च्याम्पियनसिपमा नेपाल पुलिस क्लबसहित उज्बेकिस्तान, श्रीलङ्का, मालदिभ्स र ताजकिस्तानका ६ क्लबले प्रतिस्पर्धा गरेका थिए ।

लिग चरणमा नेपाल पुलिसले हुमोसँगै श्रीलङ्काको श्रीलङ्का एयर फोर्स र ताजकिस्तानको डाइमेड भलिबल क्लबलाई समान ३–० ले हराएको थियो । 

नेपाल पुलिसले मालदिभ्सका टोली वाम्को क्लबलाई ३–२ र मालदिभ्स पुलिस क्लबलाई ३–१ को सेटमा पराजित गरेको थियो । पुलिसले आठौँ एनभिए महिला भलिबल लिग च्याम्पियनको हैसियतमा काभा महिला क्लब च्याम्पियनसिपमा चुनौती प्रस्तुत गरेको हो ।

यस च्याम्पियनसिपमा सहभागी हुन पुलिसले एपिएफ क्लबकी स्पाइकर सरस्वती चौधरी र निरुता ठगुन्नाका साथै न्यु डायमण्ड स्पोर्टस क्लबकी मिडल ब्लकर सुमित्रा रेग्मीलाई अनुबन्ध गरेको थियो । 

प्रकाशित: ८ आश्विन २०८१ २०:०७ मंगलबार

#Cava Women's Volleyball Club Championship #Nepal Police Club #Shikhar Insurance Company