खेल

ऐतिहासिक स्वर्णबाट चुकिन् एरिका

२०औं एसिया सिनियर कराते च्याम्पियनसिपमा नेपालकी एरिका गुरुङ ऐतिहासिक स्वर्ण पदकबाट चुकेकी छिन्।

चीनको हाङ्जाउमा सम्पन्न च्याम्पियनसिपको ६८ केजीमाथि तौल समूहको फाइनल खेलमा भियतनामकी एनगुएन थी एनगाेएनसँग ६–० ले पराजित हुँदै एरिकाले रजतमा चित्त बुझाएकी हुन्।

यो हारसँगै नेपाली करातेलाई एसियाली स्तरमा पहिलो स्वर्ण दिलाउने सुनौलो मौका एरिकाले गुमाएकी छिन्। उनले प्राप्त गरेको रजत पदक पनि नेपालका लागि ऐतिहासिक पदक हो।

यो पदक नेपालका लागि एसियन सिनियर कराते च्याम्पियनसिपको इतिहासमै पहिलो पदक हो। यसअघि कुनै पनि नेपाली खेलाडीले यस च्याम्पियनसिपमा पदक जित्न सकेका थिएनन्। एरिकाले यो पदक जितेर नेपाली करातेको नयाँ युगको सुरुवात गरेकी छन्।

प्रकाशित: ६ आश्विन २०८१ १५:५४ आइतबार