खेल

असोज १२ मा काठमाडौं म्याराथन हुने

सन् २००७ देखि सुरुवात भएको काठमाडौं म्याराथनको १६ औं संस्करण आगामी असोज १२ गते हुने भएको छ । 

काठमाडौं म्याराथन आयोजकले शनिबार पत्रकार सम्मेलन आयोजना गर्दै १६औं संस्करणको बारेमा जानकारी दिएको हो । यसपल्ट १६ देशका ६६ अन्तर्राष्ट्रिय धावकसँगै कुल तीन हजार भन्दा बढीले काठमाडौं म्याराथनमा चुनौती प्रस्तुत गर्ने काठमाडौं म्याराथनका मुख्य आयोजक निलेन्द्रराज श्रेष्ठले जानकारी दिए । 

म्याराथनमा एक सय ७० धावकले सहभागिताका लागि नाम दर्ता गराइसकेका छन् । हाफ म्याराथनमा भने पाँच सय ५०  धावकले चुनौती प्रस्तुत गर्ने अहिलेसम्म टुङ्गो लागेको छ ।

त्यस्तै सरकारी र निजी गरेर ६० भन्दा बढी विद्यालयका छात्र छात्राले पाँच किलोमिटर दौड र तीन किलोमिटर खुला दौडमा प्रतिस्पर्धा गर्नेछन् । फेमिली रनमा १९ परिवारको सहभागिता रहनेछ । काठमाडौं म्याराथनका मुख्य आयोजक श्रेष्ठले दौडका बेला ट्राफिक व्यवस्थापन नै सबैभन्दा ठुलो चुनौती रहेको बताए । उनले दौडका बेला ट्राफिक व्यवस्थापनका लागि सम्बन्धित निकायसँग छलफल भइरहेको पनि बनाए । म्याराथन र हाफ म्याराथन दौडमा इलेक्ट्रिक टाइमिङ प्रयोग हुने आयोजकले जनाएको छ । 

यो प्रविधिको प्रयोगले धावकलाई अन्य अन्तर्राष्ट्रिय प्रतियोगितामा छनोटका लागि पनि सहयोग पुग्ने विश्वास छ । दौडमा चार सयभन्दा बढी स्वयंसेवक तथा टेक्निकल अफिसियलको सहभागिता रहनेछ । 

प्रकाशित: ५ आश्विन २०८१ १८:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App