खेल

काभा महिला भलिबल: फाइनल पुगिसकेको पुलिसको पाँचौं जित

माल्दिभ्स पुलिसविरुद्ध स्पाइक गर्दै नेपाल पुलिसकी निरुता ठगुन्ना। तस्बिर सौजन्य : काभा

एक खेलअगाबै फाइनलमा स्थान सुरक्षित गरिसकेको नेपाल पुलिस क्लबले काभा महिला भलिबल क्लब च्याम्पियनसिपमा लगातार पाँचौं जित दर्ता गरेको छ।

माल्दिभ्समा जारी प्रतियोगितामा शुक्रबार भएको प्रारम्भिक चरणको अन्तिम खेलमा नेपाल पुलिसले घरेलु टोली माल्दिभ्स पुलिस क्लबमाथि ३-१ को सेटमा जित निकालेको हो। यससँगै नेपाल पुलिसले पाँच खेलबाट १४ अंक जोड्यो।

नेपाल पुलिसले यसअघि उज्बेकिस्तानको हुमो भलिबल क्लब, श्रीलंकाको श्रीलंका एयर फोर्स र ताजिकिस्तानको डाइमेड भलिबल क्बललाई ३-० को सोझो सेटमा पराजित गरेको थियो। तर, चौथो खेलमा भने घरेलु टोली क्लब वाम्कोसँग ३-२ को सेटमा जित निकाल्न नेपाल पुलिसले संघर्ष गर्नुपरेको थियो।

शुक्रबारको खेलमा नेपाल पुलिसले सहज जित निकाल्यो। नेपाल पुलिसले चार सेटमै खेल आफ्नो पक्षमा पारेको हो। पहिलो सेटमा माल्दिभ्स पुलिसले नेपाल पुलिससामू चुनौती पेस गर्नै सकेको थिएन। खेलको सुरुआतमै नेपाल पुलिसले १०-४ को अग्रता लिएको थियो।

सो अग्रता कायमै राख्दै नेपाल पुलिसले पहिलो सेट २५-१३ ले सहजै आफ्नो बनायो। दोस्रो सेट नेपाल पुलिसका लागि कठिन बन्यो। एक समय नेपाल पुलिस १८-१६ ले पछि परेको थियो।

तर, पुनरागमन गर्दै २५-२१ ले सेट आफ्नो पक्षमा पार्न सफल भयो। दुई सेटमा पछि परेसँगै माल्दिभ्स पुलिसले पुनरागमन गर्ने प्रयास गरेको थियो। सोहीअनुसार तेस्रो सेटमा अपराजित रहेको नेपाल पुलिसलाई कठिन स्थितिमा धकेल्न सफल भयो।

उक्त सेट उसले २३-२५ ले आफ्नो बनायो। तर, चौथो सेटमा नेपाल पुलिस खेलमा फर्किन सफल भयो। उक्त सेट २५-१९ ले जित्दै नेपाल पुलिसले विजयी यात्रा कायम गरेको हो।

प्रकाशित: ५ आश्विन २०८१ ०६:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App