खेल

एरिकाले दिलाइन् अर्को ऐतिहासिक पदक

करातेकी एरिका गुरुङले गत १९औं एसियाली खेलकुदमा स्वर्ण पदकको प्रतिस्पर्धामा भएको हारको बदला लिँदै नेपाली खेलकुदमा अर्को ऐतिहासिक सफलता रचेकी छन् ।

चीनको हाङझाउमा जारी २०औं एसियन सिनियर कराते च्याम्पियनसिपको महिला कुमुते ६८ केजीमाथि शुक्रबार फाइनलमा पुग्दै एरिकाले इतिहास रचेकी हुन् । अहिलेसम्म नेपालका कराते खेलाडीले सिनियर एसियन च्याम्पियनसिपमा पदक जितेको इतिहास  छैन । तर, हाङझावको स्पोर्ट्स सेन्टर जिम्न्याजिममा जारी एसियन च्याम्पियनसिपमा एरिकाले पदक मात्र पक्का गरेकी छैनन्, फेरि ऐतिहासिक स्वर्णको प्रतिस्पर्धा तय गरेकी छन् । स्पोर्ट्स सेन्टर जिम्न्याजिममा सोही स्थानमा हो, जहाँ एरिकाले करिब एक वर्षअगाडि नै सम्पन्न १९औं एसियाली खेलकुदमा इतिहास रचेकी  थिइन् ।  

त्यतिबेला उनले यसै विधामा रजत पदक जितेकी थिइन् । त्यो पदक नेपाली खेलकुदमा व्यक्तिगततर्पm दोस्रोपल्ट ठूलो सफलता हो । त्यसअघि सन् १९९८ को एसियाली खेलकुदमा तेक्वान्दोकी सबिता राजभण्डारीले रजत पदक दिलाएकी थिइन् । जुन, इतिहास २५ वर्षपछि एरिकाले चीनमा गत वर्ष दोहो¥याइन् । उनको यो ऐतिहासिक यात्रा चीनमै फेरि दोहोरिएको छ । करातेको सिनियर च्याम्पियनसिपमा पदक पक्का गर्दै एरिकाले अर्को ठूलो नतिजा दिएकी छन् । यस क्रममा उनले गत एसियाली खेलकुदको फाइनलमा बेहोरेको हारको बदलासमेत लिइन् ।  

क्वार्टरफाइनलमा एरिकाको प्रतिद्वन्द्वी काजकिस्तानकी सोफ्या बेरुल्टसेभा थिइन् । सोफ्या टोकियो ओलम्पिक र विश्व च्याम्पियनसिपकै कांस्य पदक विजेता हुन् । सोफ्यासँग नै गत एसियाली खेलकुदको फाइनलमा ३–० ले पराजित हुँदा एरिका नेपाली खेलकुदको पहिलो स्वर्ण जित्नबाट चुकेकी थिइन् । त्यसको बदला एरिकाले शुक्रबार लिएकी छन् । एरिका र सोफ्याबीचको क्वार्टरफाइनल खेल १–१ को बराबरीमा टुंगिएको थियो । तर, ‘रेफ्री’ को निर्णयका आधारमा एरिका विजयी भइन् । पहिलो अंक एरिकाले बटुलेकी थिइन्, जुन जितको आधार नै बन्यो ।  

त्यसअघि शुक्रबार नै एरिकाले प्रिक्वार्टरफाइनलमा फिलिपिन्सकी इसाबेल अरिएन्ने ब्रिटोलाई ४–० ले स्तब्ध बनाउँदै क्वार्टरफाइनलमा पुगेको नेपाली टोलीका मुख्य प्रशिक्षक कुशल श्रेष्ठले जानकारी दिए । क्वार्टरफाइनलमा फेरि कठिन प्रतिद्वन्द्वी सोफ्यासँग भेट भए पनि यसपल्ट एरिकाले बाजी मारिन् । एरिकाले सेमिफाइनलमा भने थाइल्यान्डकी केवालिन सोङक्लिनलाई ८–० ले हराउँदै फाइनल यात्रा तय गरेकी हुन् । अब उनले स्वर्ण भिडन्तमा भियतनामकी नाओन थि नुयेनविरुद्ध आइतबार प्रतिस्पर्धा गर्नेछिन् । एरिकाले फाइनलमा स्थान बनाएसँगै कम्तीमा रजत पदक पक्का गरेकी छन् ।

एसियन सिनियर कराते च्याम्पियनसिपका यस अघिका संस्करणमा नेपाल पदकविहीन रहँदै आएको थियो । यसपल्ट भने नेपाल हात खाली भएर फर्कनु पर्ने छैन । एक वर्षकै अवधिमा एरिकाको यो पाँचौं अन्तर्राष्ट्रिय सहभागिता हो, यी सबै प्रतिस्पर्धामा उनी पदकविहीन हुनु परेको छैन । यसअघि उनले इन्डोनेसियाको जकार्तामा सम्पन्न दशौं विश्व सितोरियो कराते च्याम्पियनसिपमा स्वर्ण, एसियाली खेलकुदमा रजत, अमेरिकाको टेक्सासमा सम्पन्न युएस ओपन कराते च्याम्पियनसिपमा स्वर्ण र रजतसँगै भुटानको थिम्पुमा सम्पन्न आठौं दक्षिण एसियाली कराते च्याम्पियनसिपमा पनि स्वर्ण जितेकी थिइन् ।

गत एसियाली खेलकुदमा एरिकाका प्रशिक्षक कुशल श्रेष्ठ नै थिए । उनै कुशलको प्रशिक्षणमा नेपालले फेरि अर्को सफलता पाएको छ । यसै च्याम्पियनसिपमा कुमुतेका अन्य स्पर्धामा भने नेपाली खेलाडीको चुनौती सकिएको छ । शुक्रबार भएका पुरुष ६० केजीमुनि मीनबहादुर तामाङ, ६७ केजीमुनि सन्तोष श्रेष्ठ, ८४ केजीमुनि मोहम्मद शेखु आलम र ८४ केजीमाथि आशिष श्रेष्ठ पदकविहीन भए । शेखु आलम मात्र दोस्रो चरणमा पुगेका थिए । तर, दोस्रो चरणमा उनी विश्व नम्बर एक खेलाडीसँग पराजित हुन पुगे ।  

कुमुतेकै महिला ५५ केजीमुनि जिया कार्की र ६१ केजीमुनि निरूपा दोङले प्रतिस्पर्धा गरेका थिए । महिला टिम कातामा एलिसा रास्कोटी मगर, मेघा लिम्बू र टप्पी थापाले प्रतिस्पर्धा गर्दैछन् । एलिसाले एकल कातामा पनि प्रतिस्पर्धा गर्नेछन् । पुरुष एकल कातामा स्वनिम मानन्धरले खेल्ने छन् । काता शनिबार हुनेछ । कातामा नेपाली टोलीका प्रशिक्षक १३औं दक्षिण एसियाली खेलकुद (साग) मा दोहोरो स्वर्ण विजेता मन्डेकाजी श्रेष्ठ हुन् ।  

प्रकाशित: ४ आश्विन २०८१ २१:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App