खेल

रंगशाला स्तरोन्नतीमा एन्फाको उदासीनता

अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपालको एक मात्र अन्तर्राष्ट्रियस्तरको रंगशाला स्तरोन्नतीमा उदासीनता देखाएको आरोप लागेको छ।

नेपालको एक मात्र अन्तर्राष्ट्रिय फुटबल मैदान दशरथ रंगशालाको स्तरोन्नती गर्न नसक्दा पछिल्ला समय सरोकारवालाको सवैत्र आलोचना भैरहेको छ। 

रंगशालाको संरक्षण राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले गर्दै आए पनि यसको भोकचलन गर्ने मुख्य संस्था एन्फा नै हो। तर, एन्फाले रंगशालाको स्तर सुधार गर्न आवश्यक पर्ने काम नगरेको राखेपले आरोप लगाएको छ। राखेपले आफूले माग गरेको अनुमानित लागत र समयावधी सहितको कार्ययोजना प्रस्तुत गर्न एन्फालाई आग्रह गरे पनि बेवास्ता गरेको उल्लेख गरेको हो।

गत साउन अन्तिममा राखेपका सदस्यसचिव टंकलाल घिसिङ र एन्फाका पदाधिकारीबीच भएको छलफलमा १५ दिनभित्र परामर्शदाताको सुझावअनुसार कार्ययोजना पेश गर्ने सहमती भएको थियो। तर, एन्फाले छलफलअनुसार काम अगाडि नबढाएको राखेपले बिहीबार उल्लेख गरेको छ। 

सहमतीअनुसार १५ दिनभित्र अन्तर्राष्ट्रिय प्रविधिको प्रयोग गरी फुटबल मैदान स्तरोन्नती गर्न एन्फाले कार्ययोजना पेश गर्नुपर्ने थियो। यद्यपि, एक महिना समय बितिसक्दा पनि एन्फाले चासो देखाएको छ। राखेपका अनुसार कार्ययोजना पेश नगरेको भन्दै फेरि एन्फालाई ध्यानाकर्षण पत्राचार पठाइएको छ। 

राखेपअन्तर्गत संघ संस्था समन्वय शाखाका प्रमुख चन्द्रकुमार राईले सात दिनभित्र लागतसँगै आवश्यक पर्ने समयावधीसहित कार्ययोजना पेश गर्न पुनः एन्फालाई पत्राचार गरिएको बताएका छन्।

प्रकाशित: ४ आश्विन २०८१ ०७:१५ शुक्रबार

#Dasharath Stadium