खेल

संकटाको जितमा धिरेल नायक

संकटाविरुद्ध बल अगाडि बढाउँदै एफिएफका खेलाडी (सेतो)। तस्बिरः नागरिक

मोरङ – विभागीय टोली एपिएफलाई १–० ले हराउँदै  संकटा क्लब मंगलबार विराटनगरमा जारी विराट गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।

सहिद रंगशालामा निकै प्रतिस्पर्धात्मक बनेको खेलको ६१ औं मिनेटमा संकटाका धिरेलले गोल गरे । सो गोल नै संकटालाई अन्तिम चारमा प्रवेश गराउन निर्णायक बन्यो ।

यसअघि दुवै टोलीले पहिलो हाफमा मध्यम प्रदर्शन गरे । खेलको १७आैं मिनेटमा एपिएफका नवीन लामाले डी बक्सभित्र पाएको पासलाई सदुपयोग गर्न नसक्दा टोलीलाई अग्रता दिलाउन चुके । त्यसपछि खेलको २८औं मिनेटमा संकटाका धिरेलले सिधा प्रहार गरेको बल एपिएफका राजु नगरकोटीले उत्कृष्ट बचाउ गर्दै अग्रताको मौका विफल पारे । पहिलो हाफमा एपिएफले अन्य मुभ बनाए पनि गोल गर्न भने असफल भयो।

दोस्रो हाफमा दुवै टोलीले काउन्टरको प्रयास गरे । पहिलो हाफमा भन्दा केही सुधारिएको खेल प्रस्तुत गरेको एपिएफले ५६औं मिनेटमा सुन्दर गोल गरे पनि रेफ्रीले अफसाइडको सङ्केत दिए।

‘पहिलो हाफमा सुन्दर मौका सिर्जना भएको थियो, तर खेलाडी चल्न नसक्दा मौका गुमायौं ।’

बाँकी समयमा एपिएफले खेलमा फर्किन गरेको प्रयासलाई संकटाको डिफेन्सलाइनले सफल हुन दिएन । यसअघि संकटाले भारतको मोहम्मदन स्पोर्टिङ क्लबलाई पनि १–० को गोलअन्तरले पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेको थियो । खेलमा संकटाका धिरेल त्रारेले म्यान अफ दी म्याच घोषित हुँदै नगद १० हजार रुपैयाँ हात पारे। 

‘संकटामा अहिले युवा खेलाडीको बाहुल्य भएर पनि टोलीले उत्कृष्ट प्रदर्शन गर्यो’, जितपछि बोल्दै संकटाका प्रशिक्षक सल्यान खड्गीले भने, ‘नयाँ टोलीको संयोजन भएकाले युवा खेलाडीले प्रमाणित गर्नलाई उत्कृष्ट प्रदर्शन गरे।’

‘पहिलो हाफमा सुन्दर मौका सिर्जना भएको थियो, तर खेलाडी चल्न नसक्दा मौका गुमायौं’ एपिएफका प्रशिक्षक रत्नकाजी महर्जनले भने,‘थोरै मात्र खेलाडीलाई बत्तीमा खेलेको अनुभव थियो, त्यही अनुभवको कमीले हामीले सोचेजस्तो नतिजा निकाल्न सकेनौं  र पराजित हुनुपर्यो।’

बुधबार विभागीय टोलीद्वय त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब सेमिफाइनल प्रवेशका लागि भिड्नेछन् । चैत २६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालबाट ८ तथा भारत र भुटानबाट १÷१ टोलीले सहभागिता जनाएका छन्।

प्रकाशित: २१ चैत्र २०७४ ०४:१२ बुधबार

संकटाको जितमा धिरेल नायक