जोहानेसबर्ग – अस्ट्रेलियाका कप्तान टिम पायनेले मंगलबार दक्षिण अफ्रिकालाई चौथो टेस्टमा मंगलबार ४ सय ९२ रनको फराकिलो नजिता सुम्पनुमा हालै सार्वजनिक भएको बल–टेम्परिङको घटना प्रमुख कारण भएको बताएका छन्।
यस जितसँगै दक्षिण अफ्रिकाले चार टेस्टको शृंखला ३–१ ले आफ्नो पक्षमा पा¥यो । दक्षिण अफ्रिकाले १९६९–७० घरेलु भूमिमा अस्ट्रेलियालाई पराजित गरेको यो पहिलो पटक हो।
‘पहिलो टेस्ट गुमाए पनि दक्षिण अफ्रिकाले त्यसपछिका बाँकी तीन टेस्टमा हामीलाई पूर्ण रूपमा दबाब राख्यो,’ पायनेले भने,‘ दक्षिण अफ्रिकी टोली सबै पक्षमा अब्बल छ । यो सत्यबाट हामी पछि हट्न सक्दैनौं।’
८८–३ बाट पाँचौं दिनको खेल सुरु गरेको अस्ट्रेलिया ले थप ३१ रन जोड्दा बाँकी ७ विकेट गुमाएको थियो । चौथो दिनको समाप्तिमा अविजित २३ रनमा खेलिरहेका पिटर ह्यान्सकमलाई थप एक रन जोड्दा बोल्ड गरेका तीव्र गतिका बलर भेर्नोन फिलान्डरले ७ रनमा खेलिरहेका सन मार्सलाई टेम्बा बभुमाबाट क्याच गराएका थिए । खेलजीवनकै उत्कृष्ट बलिङ गरेका फिलान्डरले २१ रन खचैदै ६ विकेट लिए।
त्यसपछि ब्याटिङका लागि आएका मिचेल मार्स र कप्तान पायनेले पनि उल्लेख्य प्रदर्शन गर्न नसेपछि अस्ट्रेलियाको खेलमा फर्कने सम्भावना कमजोर बनेको थियो । मिचेल मार्सलाई खाता नखोल्दै विकेटकिपर क्वान्टन डी ककबाट क्याच गराएका फिलान्डरले ७ रन जोडेको पायनेलाई पनि डी ककबाट क्याच गराएका थिए । त्यस्तै प्याट कमिङ्स (१) लाई बोल्ड गरेको फिलान्डरले चाड सायर्सलाई डिन एल्गरलाबाट क्याच गराउँदै अस्ट्रेलियाली इनिङलाई थप धराशयी बनाएका थिए । कप्तान फाप डु प्लेसिसले नाथन लियोनलाई रनआउट गरेसँगै दक्षिण अफ्रिकाको जितले औपचारिकता पाएको थियो।
यसअघि गत साता सम्पन्न तेस्रो टेस्टमा पनि अस्ट्रेलियाले ३ सय २२ रनको नतिजा सुम्पिएको थियो । उक्त खेलमा कप्तान टिम स्मिथ, उपकप्तान डेभिड वार्नर र ओपनर बेनक्रफ्ट बल टेम्परिङको घटनामा मुछिएका थिए । स्मिथ र वार्नरलाई क्रिकेटसम्बन्धी सम्पूर्ण गतिविधिबाट एक वर्षको प्रतिबन्ध लगाएको क्रिकेट अस्ट्रेलियाले बेनक्रफ्टमाथि ९ महिनाको प्रतिबन्ध लगाएको थियो।
‘म बल टेम्परिङको घटनामा बारेमा थप बोल्न चाहन्नँ,’ पायनेले भने, ‘किनभने यो विषय गत साताभरि चर्चामा रह्यो र यससम्बन्धी धेरै कुरा बाहिर आइसकेका छन् । चौथो टेस्टमा हामीसँग त्यो घटनाबाट माथि उठेको प्रमाणित गर्ने अवसर थियो । तर हामी मानसिक रूपमा यो घटनाबाट माथि उठ्न सकेनाैं । दक्षिण अफ्रिकासामु टोलीले निरीह प्रदर्शन गर्यो।’
‘अस्ट्रेलिया बलियो टोली हो र उनीहरूविरुद्ध हात पारेको सानदार जित प्रशंसनीय छ,’ डु प्लेसिसले भने, ‘यो शृंखला अवधिभर हामी सबै पक्षमा अस्ट्रेलियाभन्दा अब्बल देखियौं।’
प्रकाशित: २१ चैत्र २०७४ ०३:५८ बुधबार