खेल

हाङझाउमा एरिकाको परीक्षा

१९औं एसियाली खेलकुदमा रजत पदक विजेता करातेकी एरिका गुरुङले करिब एक वर्षपछि चीनको हाङझाउमा नै चुनौती प्रस्तुत गर्ने भएकी छन्।

हाङझाउको स्पोर्ट्स सेन्टर जिम्न्याजिममा एरिकाले एसियाडमा २५ वर्षपछि ऐतिहासिक रजत पदक दिलाएकी थिइन्। फेरि सोही स्थानमा उनले अर्को चुनौतीसँगै अवसर पनि सिर्जना गर्ने भएकी छन्। उनका लागि पछिल्लो सफलता दोहोर्‍याउन परीक्षा समेत हुनेछ। यसपल्ट करातेको एसियाली क्षेत्रको सबैभन्दा ठूलो च्याम्पियनसिपमा एरिकाले खेल्न लागेकी हुन्। एसियाली सिनियर करातेको २०औं संस्करण सेप्टेम्बर २० देखि २२ तारिखसम्म हुँदै छ। यस संस्करणमा एरिकासहित नेपालका ११ खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन्। गत दक्षिण एसियाली खेलकुदका पदक विजेतालाई एसियन च्याम्पियनमा समावेश गरिएको हो।

त्यसका लागि खेलाडीसहित १८ सदस्यीय नेपाली टोली मंगलबार हाङझाव प्रस्थान गर्दै छ। एरिकाले एसियाली खेलकुदमा महिला ६८ केजीमाथि तौलसमूहमा रजत पदक जितेकी हुन्। यसपल्ट पनि उनी सोही तौलसमूहमा प्रतिस्पर्धा गर्दैछिन्। कुमुतेकै महिला ५५ केजीमुनि जिया कार्की, ६१ केजीमुनि निरूपा दोङ तामाङ तथा टिम कातामा एलिसा रास्कोटी मगर, मेघा लिम्बू र टप्पी थापाले नेपालको तर्फबाट चुनौती प्रस्तुत गर्दैछन्। एलिसाले एकल कातामा पनि आफ्नो कौशल प्रदर्शन गर्नेछिन्। कुमुतेमा पुरुष ६० केजीमुनि मीनबहादुर तामाङ र ६७ केजीमुनि सन्तोष श्रेष्ठको पनि चुनौती रहनेछ।

कुमुतेकै पुरुषमा ८४ केजीमुनि मोहम्मद शेखु आलम र ८४ केजीमाथि आशिष श्रेष्ठले प्रतिस्पर्धा गर्नेछन्। एकल कातामा स्वनिम मानन्धरले नेपालको तर्पmबाट चुनौती रहनेछ । एरिकासहित सन्तोष, शेखु, स्वनिम, निरूपा र एलिसाले १९औं एसियाली खेलकुदमा पनि प्रतिस्पर्धा गरेका थिए। शेखुले पदकको प्रतिस्पर्धासम्म गरेका थिए । नेपाली टोलीको प्रशिक्षणमा दशौं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्णधारी कुशल श्रेष्ठ र १३औं सागका दोहोरो स्वर्ण विजेता मन्डेकाजी श्रेष्ठ छन्। कुशल कुमुते र मन्डेकाजी काताका प्रशिक्षक हुन्।

कुशल १९औं एसियाली खेलकुदमा पनि नेपाली टोलीका प्रशिक्षक थिए। एसियाली सिनियर कराते च्याम्पियनसिपमा पनि उनले खेलाडीका रूपमा प्रतिस्पर्धा गरेका थिए। टिम व्यवस्थापकमा नेपाल कराते महासंघका उपाध्यक्ष मजेन्द्र सिंह तथा आठौं साग (तत्कालीन साफ) को करातेका स्वर्ण विजेता एवं कराते महासंघका सदस्य रवि महर्जन छन्। एसियाली सिनियर करातेमा नेपाल हालसम्म पदकविहीन छ। नेपाल कराते महासंघका अध्यक्ष युवराज लामा र महासचिव दावा गुरुङ पनि टोलीसँगै जाँदैछन्। उनीहरू प्रतियोगिताअघि हाङझाउमै सेप्टेम्बर १८ मा हुने एसियाली कराते महासंघको कंग्रेसमा सहभागी हुने भएका हुन्। यस च्याम्पियनसिपमा ३१ राष्ट्रका तीन सय ६७ खेलाडीले चुनौती प्रस्तुत गर्दैछन्।

पुरुषमा ९ र महिलामा आठ गरी १७ स्पर्धामा प्रतिस्पर्धा हुनेछ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ र नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले टोलीलाई सोमबार बिदाइ गरेका थिए। सो अवसरमा तालिम तथा प्रशिक्षण विभागका निर्देशक सोभितराज प्रसाईं, राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्ट, नेपालका लागि केल्मीको आधिकारिक विक्रेता कामरु ट्रेडिङ प्रालिका प्रबन्ध निर्देशक उत्तम न्यौपानेलगायत उपस्थित थिए। नेपाली टोलीलाई प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशले प्रायोजन गरेको ट्य्राक सुट तथा केल्मीले प्रायोजन गरेको टिसर्ट र टोपी हस्तान्तरण गरिएको थियो।

सो अवसरमा सदस्यसचिव घिसिङले व्यवस्थित तयारीका साथ कराते टोली प्रतियोगितामा सहभागी हुन लागेको उल्लेख गर्दै खेलाडीलाई उच्च प्रदर्शनका लागि शुभकामना दिए। उनले यो प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडीलाई राखेपले सुविधासहित रणनीतिक तयारीका लागि राष्ट्रिय टिम तयारीमा समावेश गर्ने प्रतिबद्धता व्यक्त गरे। ‘हाङझाउ एसियाडमा एरिकाले रजत जितेर इतिहास रच्नुभयो। त्यतिबेला मेरो चाहना स्वर्णको पुरस्कारका लागि हस्ताक्षर गर्ने थियो। त्यो अधुरो चाहनालाई यसपल्ट सहभागीले पूरा गर्ने विश्वास लिएको छु,’उनले भने। एरिकाले एसियन च्याम्पियनसिपमा सहभागी हुन पाउनु ठूलो अवसर रहेको उल्लेख गर्दै विश्व च्याम्पियनहरूको सहभागिता रहने भएकाले सबै खेलाडीका लागि अनुभव बटुल्ने र आफ्नो क्षमता प्रस्तुत गर्ने राम्रो प्लेटफर्म भएको बताइन्। एरिकाले तयारी पनि राम्रो भएकाले सबै खेलाडी उत्साहित रहेको उल्लेख गरेकी छन्।

प्रकाशित: १ आश्विन २०८१ ०७:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App