खेल

चौतारा साँगाचोकगढी कपमा एन्फाको विजय सुरुवात

सिन्धुपाल्चोक– उद्घाटन खेलमा सहज जित निकाल्दै अखिल नेपाल फुटवल संघ (एन्फा)–यूू १६ ले प्रथम चौतारा साँगाचोकगढी मेयर कप फुटबल प्रतियोगितामा सुखद सुरुवात गरेको छ। चौताराको टुँडिखेलमा मंगलबार भएको खेलमा एन्फाले घरेलु टोली चौतारा युवा क्लवलाई ८–१ को फराकिलो गोल अन्तरमा हरायो। 

कार्लोस बाखेल एक्लैले चार गोल गरेको खेलमा एन्फाले पहिलो हाफमै पाँच गोल गरेको थियो। दोस्रो हाफमा उसले तीन गोल थप्यो। एक पक्षीय खेलको पहिलो हाफमै बाखेलले ह्याट्रिक पूरा गरेका थिए। खेलको म्यान अफ द म्याच घोषित उनले दोस्रो हाफमा गोल थप्दै व्यक्तिगत गोल संख्या चार पु-याए। 

टोलीलाई फराकिलो जित दिलाउने क्रममा एन्फाका अशोक किङरिङले दुई तथा पदम भट्टराई र सञ्जिव अर्यालले एक÷एक गोल गरे। दोस्रो हाफमा केही सुधारिएको प्रदर्शन गरेको चौताराका लागि अंकितराज थलाले सान्त्वना गोल फर्काएका थिए। खेलको अन्तिम १५ मिनेट चौतारा १० खेलाडीमा सीमित भएको थियो। म्यान अफ द म्याच कार्लोसले ट्रफी र नगद ३ हजार रुपैयाँ पुरस्कार पाए। 

चौतारा–साँगाचोकगढी नगरपालिका प्रवद्र्धक र तोप–२१ आयोजक रहेको प्रतियोगिताको बिजेताले ट्रफीको साथमा नगद २ लाख र उपविजेताले १ लाख पुरस्कार पाउने छन्। प्रतियोगिताको सर्वाधिक गोलकर्ता र उत्कृष्ट खेलाडीलाई ४० इन्चको एक थान एलइडी टिभी पुरस्कार प्रदान गरिने आयोजक तोप–२१ का अध्यक्ष अशोक कार्कीले बताए। उनका अनुसार प्रत्येक खेलको म्यान अफ द म्याचलाई ट्रफी र नगद ३ हजार पुरस्कार दिइने छ। 

प्रतियोगितामा बिभागीय टोली एपिएफ (सशस्त्र प्रहरी बल)सहित विभिन्न १७ क्लबले सहभागिता जनाएका छन्। नकआउटको आधारमा चैत ३० गतेसम्म चल्ने प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवराज विष्टले गरेका थिए। 

प्रकाशित: २० चैत्र २०७४ १५:३३ मंगलबार

चौतारा साँगाचोकगढी कपमा एन्फाको विजय सुरुवात