खेल

अन्तर मेडिकल खेलकुद प्रतियोगितामा कर्णाली प्रतिष्ठान विजयी

जुम्लामा पहिलो पटक आयोजित अन्तर मेडिकल खेलकुद प्रतियोगिता समापन भएको छ। प्रतियोगितामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, शिक्षण अस्पताल जुम्लाले एक लाख रुपैयाँ राशीसहित पहिलो स्थान हासिल गरेको छ।

प्रतियोगिताको आयोजना कर्णाली प्रतिष्ठानले नै गरेको थियो। मदन भण्डारी मेडिकल कलेजले ७५ हजार रुपैयाँ राशीसहित दोस्रो स्थान हासिल गरेको छ भने किष्ट मेडिकल कलेजले ५० हजार रुपैयाँ राशीसहित तेस्रो स्थानमा चित्त बुझाएको छ।

भदौ १६ देखि २२ गतेसम्म सञ्चालन भएको यस प्रतियोगितामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानसहित ६ वटा मेडिकल कलेजले प्रतिस्पर्धा गरेका थिए।

कर्णाली प्रतिष्ठानले सर्वाधिक २१ पदक जित्दै अग्रस्थानमा रह्यो, जसमा ११ स्वर्ण, ७ कास्य र ३ रजत पदक सामेल छन्। खेल संयोजक विवेक पुन मगरका अनुसार मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले २ स्वर्ण, १ कास्य र २ रजत जितेर कुल ५ पदक प्राप्त गरेको छ। किष्ट मेडिकल कलेजले १ स्वर्ण, २ कास्य र ३ रजत जित्दै कुल ६ पदक हात पारेको छ।

महाराजगञ्ज मेडिकल कलेजले १ स्वर्ण, २ रजत, र १ कास्य जितेको छ। राजर्षिजनक विश्वविद्यालय, जनकपुरधामले ३ रजत र ३ कास्य पदक जित्दै चौथो स्थानमा आएको छ।

प्रतियोगिताका विजेता टिम र खेलाडीहरूलाई प्रतिनिधिसभा सांसद कान्तिका सेजुवाल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. मंगल रावललगायतका विशिष्ट अतिथिहरूले पुरस्कार वितरण गरेका थिए।

विभिन्न खेलकुदमा प्रतिस्पर्धा

प्रतियोगितामा विभिन्न खेलकुद विधाहरूमा प्रतिस्पर्धा भएको थियो।

पुरुष भलिबलमा कर्णाली प्रतिष्ठानले प्रथम स्थान हासिल गरेको छ भने मदन भण्डारी प्रतिष्ठान दोस्रो भएको छ। महिला भलिबलमा पनि कर्णाली प्रतिष्ठान विजयी भयो।

क्रिकेटमा किष्ट मेडिकल कलेजले कर्णालीलाई हराउँदै पहिलो स्थान प्राप्त गर्‍यो। टेबल टेनिसमा मदन भण्डारी प्रतिष्ठान पहिलो र कर्णाली प्रतिष्ठान दोस्रो भए।

हाजिरीजवाफ प्रतियोगितामा १४ नम्बर ल्याएर कर्णाली प्रतिष्ठान प्रथम, महाराजगञ्ज मेडिकल कलेज दोस्रो र किष्ट मेडिकल तेस्रो भए।

कविता प्रतियोगितामा महाराजगञ्ज मेडिकल कलेजका प्रयास पौडेल प्रथम, कर्णालीका विवेक कुमार यादव दोस्रो र निराजन चापाई तेस्रो भएका छन्।

दौड प्रतियोगितामा कर्णालीको प्रभुत्व

एक सय मिटर पुरुषको दौडमा कर्णालीका भैरव महत प्रथम, विशेष विष्ट दोस्रो र मदन भण्डारीका अमरनाथ शाह तेस्रो भए। महिलाको १५ सय मिटर दौडमा ऐश्वर्य थापा (कर्णाली) प्रथम, रञ्जना शाह (राजर्षिजनक) दोस्रो र ज्योति चौधरी (राजर्षिजनक) तेस्रो भए।

पुरुष ५ सय मिटर दौडमा कर्णालीका लोकमणि बोहरा प्रथम, महाराजगञ्जका राजन सार्की दोस्रो, र राजर्षि विश्व विद्यालयका कमल शाही तेस्रो भए। फुटबल प्रतियोगितामा मदन भण्डारी प्रतिष्ठानले किष्टलाई पेनाल्टी सुट आउटमा हराउँदै विजयी भयो।

प्रकाशित: २३ भाद्र २०८१ २१:१५ आइतबार