खेल

छात्रा बास्केटबलमा गोल्डेनगेट च्याम्पियन

सन्ध्या डंगोलको प्रेरणामा गोल्डेनगेट इन्टरनेसनल कलेजले शनिबार प्रथम अन्तरकलेज छात्रा बास्केटबल प्रतियोगिताको उपाधि उचालेको छ।

सानागाउँस्थित रोयल स्पोर्ट्स सेन्ट्रलको कोर्टमा भएको प्रतिस्पर्धात्मक फाइनलमा गोल्डेनगेटले जेभियर इन्टरनेसनल कलेजलाई ४२–४० को साँघुरो अन्तरले हराउँदै उपाधि उचालेको हो। गोल्डेनगेटको जितमा सन्ध्याले सर्वाधिक १८ अंकको योगदान दिइन्। प्रोफेसनल एडुकेसन कन्सल्टेन्सी (पिइसी) द्वारा आयोजित प्रतियोगितामा सन्ध्या नै मोस्ट भेलुएबल प्लेयर भइन्। अतिरिक्त समयको खेल ३–१ ले आफ्नो पक्षमा पार्दै गोल्डेनगेटले उपाधि सुनिश्चित गरेको हो। निर्धारित समयमा ३९–३९ को बराबरी भएपछि खेलको निर्णयका लागि अतिरिक्त समयमा धकेलिएको हो।  

निर्धारित समयको चार क्वार्टरमा गोल्डेनगेटले क्रमशः १०–११, ७–४, ८–१० र १४–१४ को प्रदर्शन गरेको थियो। उपाधिसँगै गोल्डेनगेटले २० हजार तथा जेभियरले १० हजार नगदसहित ट्रफी, पदक र गिफ्ट ह्याम्पर प्राप्त गरे। विजेतालाई अस्ट्रेलियन क्याथलिक युनिभर्सिटी (एसियु) की रिजनल मार्केटिङ म्यानेजर कोल्मा फेच्नर, एसियुकी रिजनल म्यानेजर अनुष्का श्रेष्ठ, पिइसीका संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत एसके श्रेष्ठ, पिइसीका प्रोग्राम डाइरेक्टर राजु सिंह, नेपाली राष्ट्रिय महिला क्रिकेट टिमकी कप्तान इन्दु बर्मालगायतले पुरस्कृत गरे। ६ दिने प्रतियोगितामा सात टोलीले लिगकम नकआउट आधारमा प्रतिस्पर्धा गरेको प्रतियोगिता संयोजक नृपेश श्रेष्ठले जानकारी दिए।

 

प्रकाशित: २३ भाद्र २०८१ ०७:३६ आइतबार

#First Inter College Girls Basketball Tournament #Goldengate International College