खेल

श्रीलंकामा रहेको राष्ट्रिय क्रिकेट टोली अभ्यास खेलमा पराजित

विश्वकप लिग- २ को तयारीका लागि श्रीलंकामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोली अभ्यास खेलमा पराजित भएको छ ।  शुक्रवार भएको अभ्यास खेलमा नेपाल श्रीलंका डेभलभमेन्ट ११ सँग ५ विकेटले पराजित भएको हो ।

नेपालले दिएको १६० रनको मध्यम लक्ष्य डेभलभमेन्टले २६.५ ओभरमा ५ विकेट गुमाएर भेट्टायो । उसको जितमा कृष्ण सन्जुलाले ६० बलमा ६८ र असना बन्दराले ३४ रनको पारी खेले ।  

नेपालका लागि सोमपाल कामी र गुलसन झाले समान २ तथा ललित नारायण राजवंशीले १ विकेट लिएपनि श्रीलंकन टिमलाई सस्तैमा रोक्न भने सकेनन् ।  

त्यसअघि डेभलभमेन्टले टस जितेर बलिङ रोजेपछि ब्याटिङ गरेको नेपाल ४० ओभरमा १५९ रन बनाउँदै अल आउट भएको थियो । कुशल भुर्तेलले ४३, कुशल मल्लले ३५ र आरिफ शेख २० रन जोड्नु बाहेक अन्यको प्रदर्शन उल्लेख्य हुन सकेन।

श्रीलंका डेभलभमेन्ट ११ का लागि गरुका संकेथाले ४ विकेट लिए ।

१६ सेप्टेम्बरबाट क्यानडामा हुने विश्वकप लिग टुको अन्तिम तयारीका लागि नेपाली‌ टोली श्रीलंका गएको हो ।  

नियमित कप्तान रोहित पौडेल र उपकप्तान दीपेन्द्र सिंह ऐरी क्यानडामा रहेकाले अभ्यास खेलमा नेपालको कप्तानी सोमपाल कामीले गरिरहेका छन् ।  

डेभलभमेन्टसँगको पहिलो र दोस्रो अभ्यास खेल भारी वर्षाका कारण टस समेत हुन नसकी रद्द भएको थियो ।

प्रकाशित: २१ भाद्र २०८१ १८:१८ शुक्रबार

#Nepali Cricket Team #Nepali Cricket #Sompal Kami