खेल

बागमतीलाई आत्मघाती गोलको पीडा

एन्फा महिला लिगअन्तर्गत बिहीबार बागमती युथ क्लबका मुख्य प्रशिक्षक सुनीलकुमार श्रेष्ठले सोचेजस्तै खेल चल्दै थियो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा दोस्रो खेलका लागि उत्रिएका बागमतीका खेलाडीले पनि सन्तुलित प्रदर्शन गर्दै थिए। तर, ५४औं मिनेटमा बागमतीले नसोचेको आत्मघाती गोल बेहोर्न पुग्यो। त्यसले सुनीलको बनिबनाउ योजना भताभुङ्ग मात्रै भएन खेलको स्कोर पनि १–१ बाट २–१ मा बदलियो।

‘हामीभन्दा कोसीको टोली बलियो थियो । त्यसैले बराबरी खेल्न उत्रिएका थियौं। तर, दोस्रो हाफको नौ मिनेटमा आत्मघाती गोल खान पुग्यौं,’ उनले भने। उनले भनेजस्तो कोसी कुनै कमजोर टोली होइन। नेपाली राष्ट्रिय टोलीको उमेरसमूहमा खेल्ने अधिकांश खेलाडी रहेको कोसीले गत आइतबार वालिङ नगरपालिकाविरुद्ध भएको पहिलो खेलमै चार गोल बर्साएर सनसनीपूर्ण प्रदर्शन गरेको थियो।

अझ गत वैशाखमा सुर्खेतमा भएको एन्फा महिला लिग छनोटमा पनि अपराजित रहँदै उपाधि पनि यही टोलीले जित्न सफल रह्यो। एकै साथ कोसीको टोलीले यतिधेरै उपलब्धि हासिल गर्नु संयोग मात्रै थिएन, खेलाडीमा मिलेको तालमेल पनि उस्तै थियो। त्यसैले सुनील यो तालमेलसँग सजग हुन चाहन्थे। आधा घण्टाको खेल सुनीलले चाहेजस्तै रह्यो। त्यसमा २६औं मिनेटमा विष्णुमाया बलले गोल पनि निकालिन्।

यो गोल हुनुमा कोसीका दुई डिफेन्डर नेहाकुमारी चौधरी र अनिशा राईको गल्ती रह्यो। उनीहरू बल क्लियर गर्ने जिम्मेवारीमा चुके। त्यसैले बराबरी अंक ल्याउने लक्ष्य लिएको बागमतीलाई यो गोल उपहारभन्दा कम थिएन। तर, त्यो उपहार बागमतीले तीन मिनेट पनि सम्हाल्न सकेन। पहिलो गोलको गल्तीलाई सच्याउन मिडफिल्डमा आएकी नेहाले दिएको लामो बललाई ‘फ्लिक हेडर’ गर्दै समीक्षाले जुन गोल गरिन् त्यसले बागमतीको सन्तुलित खेल नै असन्तुलित बन्न पुग्यो । यही गोलबाट बागमती दबाबमा पर्न थालेको हो। 

त्यसैको परिणाम थियो ५४औं मिनेटमा भएको आत्मघाती गोल। प्रतीक्षा राईले लामो प्रहार गर्दा बागमतीकी गोलकिपर करुणा बुढाथोकीले दिशा पत्ता लगाइसकेकी थिइन्। तर, त्यसको भेउ नपाएकी दिव्या यसमाली मगरले अनावश्यक ‘टच’ गरिदिँदा उक्त बलले सहजै जाली चुम्यो। ‘किपर र डिफेन्समा तालमेल मिल्नुपर्ने हो। तर, त्यो मिल्न सकेन। त्यसैले नखानुपर्ने गोल खायौं र अंक गुमाउन बाध्य भयौं,’ सुनील भन्छन् । पहिलो खेलमा सुदूरपश्चिम प्रदेशमाथि ५–१ को फराकिलो जित निकालेको बागमतीले कोसीलाई पनि नतिजा नसुम्पिएको भए शीर्ष स्थान गुमाउनुपर्ने थिएन।

तर, बिहीबारको नतिजासँगै कोसीले ६ अंक जोड्दै बागमती उछिन्न सफल भयो । बागमतीले तेस्रो खेल विभागीय टोली त्रिभुवन आर्मीसँग खेल्नेछ । यो खेलमा पनि बागमतीको लक्ष्य अंक बाँड्नु नै रहेको सुनील सुनाउँछन् ।

वालिङलाई राहत

वालिङका प्रशिक्षक दिलीप थापाले भनेकै थिए, ‘तालमेल मिल्न समय लाग्छ । तर, तीन दिनको ब्रेक पाएका छौं, विदेशी खेलाडी आउँछन् अनि सब ठीक हुन्छ।’ पहिलो खेलमा चार गोलको हार बेहोर्नु वालिङका लागि ठूलो कुरा थिएन। किनभने खेलाडीले तालमेल मिलाउन अभ्यास गर्ने मौका नै पाएका थिएनन्। तर, पाएको तीन दिनको ब्रेकपश्चात् भने वालिङले तालमेल मिलाएर फर्किएको छनक देखाएको छ। 

त्यसैले पहिलो खेलमा चन्द्रपुर नगरपालिकासँग अंक बाँडेको कर्णालीलाई उसले ४–० ले स्तब्ध बनायो। यसको नायक रहिन् ज्याकलिन नसाली। युगान्डाबाट आएकी उनको पहिलो खेल नै सानदार रह्यो। उनकै ह्याट्रिकमा वालिङले पहिलो जित मात्रै निकालेन महत्त्व्पूर्ण तीन अंक पनि जोड्न सफल भयो। 

उनले १०, ४१ र ७३औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गर्दा उमेरसमूहको राष्ट्रिय टोलीका खेलाडी उतारेको कर्णालीसँग चाल्न बाँकी कुनै रणनीति नै रहेन। त्यसैमा यु–१५ टोलीबाट खेलिसकेकी सुक्रिया मियाले अर्को गोल थप्दै कर्णालीलाई घाउ लगाइदिइन्। तेस्रो खेलमा वालिङले संकटा फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ। कर्णालीले भने उही पुरानो प्रतिद्वन्द्वी कोसीसँग सामना गर्नेछ।

दोस्रो खेलमा जित हासिल गरेपनि कोसी खुसी देखिँदैन। कोसीको फिनिसिङ लाइन राम्रो रहे पनि मिडिफिल्डमा सुधार गर्नुपर्ने देखिएको छ। यो कुरा मुख्य प्रशिक्षक श्याम मानन्धरले पनि महसुस गरेका छन्। भन्छन्,‘लक्ष्य भनेको उत्कृष्ट पाँचमा पर्नु हो । तर, मिडफिल्ड चल्न सकेको छैन। त्यसलाई सुधार गरेर फर्किनेछौं।’

प्रकाशित: २१ भाद्र २०८१ ०६:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App