खेल

बाँकेमा खुला तेक्वान्दो प्रतियोगिता

‘प्रथम आमन्त्रित अन्तरप्रदेश आइटिएफ तेक्वान्दोको खुला प्रतियोगिता’ बुधबारबाट बाँकेमा सुरु भएको छ।

बाँकेको खजुरा गाउँपालिका– २ मा रहेको रंगशालामा प्रतियोगिता सुरु भएको हो। प्रतियोगिताको उद्घाटन खेलमा महिलातर्फ २०–२५ केजी तौलसमूहमा राइका चौधरी पहिलो, स्मृति बुढा दोस्रो र कृष्मा सारुमगर तथा जेनिशा शाह तेस्रो भए। आयोजकका अनुसार बुधबार नै अन्य उमेरसमूहका सेमिफाइनल खेल पनि सम्पन्न भए।

मोडेल आइटिएफ तेक्वान्दो दो एकेडेमीको आयोजनामा भएको उक्त प्रतियोगितामा लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र कोसी प्रदेशका विभिन्न जिल्लाबाट आएका करिब २ सय ८० जना खेलाडीले सहभागिता जनाएका छन्।

प्रतियोगितामा पुरुष र महिलातर्फ उत्कृष्ट खेलाडी तथा समुहगत रूपमा पहिलो, दोस्रो र तेस्रो हुनेलाई ट्रफी, प्रमाणपत्र प्रदान गरिने आयोजक संस्थाका अध्यक्ष होमबहादुर सुनारले जानकारी दिए।

नेपालमा मार्सलआर्टमध्येको एक विधा आइटिएफ तेक्वान्दो लोकप्रिय बन्दै गइरहेको अवस्थामा यो प्रतियोगिता महŒवपूर्ण रहेको नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघका अध्यक्ष प्रविणकुमार कार्कीले बताए। ‘खेलकुद गतिविधिलाई अगाडि बढाउनका लागि कुना काप्चामा लुकेर बसेका प्रतिभालाई बाहिर ल्याउन तीनै तहका सरकारले लगानी गर्नुपर्छ,’ उनले भने। प्रतियोगिताको प्रमुख अतिथी एवम् खजुरा गाउँपालिका अध्यक्ष डम्बरबहादुर बिकले उद्घाटन गरेका थिए।

प्रकाशित: २० भाद्र २०८१ ०७:२७ बिहीबार