अखिल नेपाल फुटबल संघ (एन्फा) ले पूर्वनिर्धारित संरचनालाई परिवर्तन गर्दै सिंगल राउन्ड रोबिनमा महिला लिग सञ्चालन गर्ने भएको छ। एन्फा कम्प्लेक्समा हुने लिगको उद्घाटन खेलमा आज कोशी प्रदेश र वालिङ नगरपालिका भिड्दैछन्। ‘यो लिग खेलाउन फिफाबाटै बजेट आउने हो। तर, डबल राउन्ड रोबिनमा हुँदा फिफा कनेक्टअनुसार ९० खेल पुग्दैन। एएफसीको प्रतियोगितामा सिफारिस गर्दा क्लबले कम्तीमा १० खेल खेलेको हुनुपर्छ। यसपल्ट एपिएफले भने छुट पाएको हो। त्यसैले संरचनामा केही परिमार्जन गरिएको हो,’ प्रतियोगिता संयोजक सञ्जीव मिश्रले भने।
२०७८ सालमा अन्तिमपल्ट राष्ट्रिय महिला लिग आयोजना भएको थियो। त्यही लिग परिवर्तन गरेर एन्फा महिला लिग नामाकरण गरिएको हो। डबल राउन्ड रोबिनमा राष्ट्रिय महिला लिगका तीन विभागीय टोली नेपाल आर्मी, एपिएफ तथा पुलिसले सहभागिता जनाएका थिए। त्यसबाहेक स्थानीय तहका चन्द्रपुर, विराटनगर, चौदण्डीगढी र वालिङ नगरपालिकाले पनि प्रतिस्पर्धा गरे। यो लिग दुई चरणमा गर्ने भनिएको थियो। पहिलो चरण चितवनमा सम्पन्न भयो। तर, अर्को चरण विराटनगरमा आयोजना गर्ने भनिए पनि एन्फाले गर्न सकेन। त्यसैले सात खेल खेल्दै २१ अंक जोडेर शीर्ष स्थानको एपिएफलाई विजेता घोषणा गरियो।
यसपल्ट विराटनगर र चौदण्डीगढीलाई समेट्न नसकिएको एन्फाका प्रवक्ता सुरेश साहले बताए। उनीहरूको स्थानमा ‘ए’ डिभिजन क्लब संकटा, ‘बी’ डिभिजन क्लब बागमती युथ, कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेश लिगमा समेटिएका छन्। कोशी, सुदूरपश्चिम र कर्णाली सुर्खेतमा गत वैशाख सम्पन्न छनोटबाट लिगमा आइपुगेका हुन्। संकटा र बागमतीलाई भने एन्फाले सीधै प्रवेश दिएको हो। ‘नगरप्रमुख परिवर्तनपछि टोलीको अपनत्व लिन कि नलिने भन्ने कुरा आउन थाल्यो। त्यसैले पुराना केही टोलीबिना नै यसपल्ट लिग गर्न लागेका हौं,’ शाहले भने। यसपल्ट १० टोलीबीच सिंगल राउन्ड रोबिनका आधारमा ४५ खेल हुनेछ।
यो राउन्डबाट उत्कृष्ट पाँच टोली डबल राउन्ड रोबिनको सुपर लिगमा प्रवेश गर्नेछन्। सुपर लिगमा कुल २० खेल हुनेछ। सुपर लिगका उत्कृष्ट चार टोलीबीच क्वालिफायर, एलिमिनेटर र फाइनल गरी चार खेल हुनेछ। यसबीच लिगमा कुल ६९ खेल खेल्ने प्रवक्ता शाहले जानकारी दिए। लिगका खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशाला (शनिबार मात्र) र सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछ। लिगको विजेताले १० लाख, उपविजेताले पाँच लाख, उत्कृष्ट खेलाडीले एक लाख, ‘फेयर प्ले’ टिमले एक लाख ५० हजार, उत्कृष्ट गोलकिपर र उच्च गोलकर्ताले समान ५० हजार रूपैयाँ पाउनेछन्। प्लेयर अफ द म्याचलाई पाँच हजार रूपैयाँ प्रदान गरिनेछ।
फितलो तयारी
गत साउन २३ गते नै एन्फाले भदौमा महिला लिग आयोजना गर्ने घोषणा गरिसकेको थियो। तर, लिगमा सहभागिता जनाउने चार टोलीले लिग हुने अन्योलका कारणले तयारी राम्रोसँग हुन नसकेको उल्लेख गरे। छनोटको विजेता कोशी उपाधि जित्ने लक्ष्य लिँदै काठमाडौं आएको छ। तर, लिग हुनेबारे अनिश्चित भएको कारण राम्रो तयारी गर्न नपाएको मुख्य प्रशिक्षक श्याम मानन्धरले बताए। ‘छनोटलगत्तै लिग हुन्छ भन्ने थियो। तर, भएन। त्यसैले हुन्छ या हुँदैन भन्ने नै अनिश्चितता रह्यो। खेलाडी पनि कोशीका विभिन्न स्थानका भएकाले सेल्फ ट्रेनिङमै सीमित रहे। पाँच दिनको मात्र तयारी गरेर आएका हौं,’ उनले भने।
कोशीमा नेपालको उमेरसमूहबाट खेलिसकेको खेलाडीको बाहुल्यता छ। कोशीका कुस्मा राई, जेनिफर रानामगर र सुशीला चौधरी भुटानमा व्यावसायीक फुटबल खेलिरहेका छन्। चार खेल खेलेर उनीहरू टोलीमा फर्किने मान्धरले सुनाए। विभागीयसहित अन्य टोलीलाई कडा चुनौती दिने लक्ष्य उनको छ। वालिङले पनि राम्रो तयारी गर्न पाएको छैन। तर, यसपल्ट टोलीले युगान्डाबाट तीन खेलाडी भित्राएको प्रशिक्षक दिलिप थापाले जानकारी दिए। यस अघि वालिङबाट क्यामरुनका चार खेलाडीले लिग खेलेका थिए। ‘प्रशस्त समय नपाएको होइन। तर प्रशिक्षण गर्न सकिने अवस्थामा रहेन। यद्यपि, उत्कृष्ट प्रदर्शन गर्ने आशा छ,’ उनले भने।
संकटाले काठमाडौंकै खेलाडी समेटेर नौ महिनादेखि टोली निर्माण गरेको हो। उसले लिग खेल्न ६८ बाट २२ खेलाडी छानेको छ। तर, यो टोलीसँग फुटसल खेलेको अनुभव भएता पनि ‘इलाभेन साइड’ मा केही चुनौती हुन सक्ने मुख्य प्रशिक्षक रवीन्द्र सिलाकारको चिन्ता छ। ‘तयारी गर्न मैदान खोजे पनि पाएनौं। त्यसैले, फुटसलमै तयारी गरेर आएका छौं,’ उनले सुनाए। संकटाले यसपल्ट सेनेगलका दुई, घाना र नाइजेरियाका एक खेलाडी भित्राएको छ। गत संस्करणको लिगमा पुलिस दोस्रो भएको थियो।
यसपल्ट यो टोलीको प्रशिक्षण राष्ट्रिय टोलीका पूर्वफरवार्ड भोला सिलवालले सम्हालेका छन्। पुलिसले पनि वर्षाका कारण मैदानमा पर्याप्त प्रशिक्षण गर्न नपाएको सिलवालले सुनाए। एपिएफमा भने राष्ट्रिय टोलीकै बाहुल्यता छ। एपिएफकी स्टार स्ट्राइकर सावित्रा भण्डारी भने यसपल्ट हुने छैनन्। सावित्रा फ्रान्सको शीर्ष डिभिजन क्लब एना भान गेङ्गाम्पबाट खेलिरहेका छन्। अब एपिएफ सावित्रामा भन्दा पनि उनीजस्तै खेलाडी खोज्ने लक्ष्य रहेको प्रशिक्षक जिवेश पाण्डेले बताए।
प्रकाशित: १६ भाद्र २०८१ ०९:५८ आइतबार