खेल

‘पलेशाको पुरस्कारमा आयकर छुटको प्रस्ताव गर्छौं’

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले पेरिस पारालिम्पिक २०२४ की ऐतिहासिक पदक विजेता पलेशा गोवर्धनले पाउने पुरस्कारमा कर छुटका लागि प्रस्ताव गर्ने बताएका छन्।

पारा तेक्वान्दोकी पलेशाले शुक्रबार के–४४ विधाअन्तर्गत महिला ५७ केजी तौलसमूहमा कांस्य पदक जितेकी थिइन्। यो पदक नेपाली खेलकुद इतिहासकै सबैभन्दा ठूलो हो। उक्त ऐतिहासिक पदक दिलाएकी पलेशाले ६५ लाख रूपैयाँ पाउने राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ मा नै स्पष्ट छ। उनले पाउने पुरस्कार रकममा आयकर २०५८ का अनुसार २५ प्रतिशत काटिने व्यवस्था रहेको छ। तर, ऐतिहासिक सफलता दिलाएकी पलेशाले प्राप्त गर्ने पुरस्कारमा आयकर छुटका लागि प्रस्ताव पठाइने भएको छ। पलेशाको सफलताबारे गरिएको कुराकानीमा सदस्यसचिव घिसिङले कार्यकारी समितिमार्पmत आयकर छुटको प्रस्ताव पठाउने उल्लेख गरेका हुन्।

‘खेलअगाडि नै राज्यले दिने पुरस्कारबारे प्रत्याभूति गराउन सके खेलाडीको प्रदर्शन उच्च हुनेछ। सोहीअनुरूप नै म राखेपमा नियुक्त भएपछि पदक जित्ने खेलाडीले कानुनी रूपमै पुरस्कार पाउने वातावरण सिर्जना गर्न खेलकुद विकास नियमावली बनाइएको थिएँ,’ उनले भने। पारा तेक्वान्दोकै सफलताका कारण पारा खेलकुदलाई व्यवस्थित रूपमा आयोजना गर्न अगाडि बढको घिसिङ बताउँछन्। दशौं राष्ट्रिय खेलकुदलगत्तै प्रथम पारा राष्ट्रिय खेलकुद आयोजना गर्न युवा तथा खेलकुद मन्त्रालयमार्फत् वार्षिक बजेट छुट्याइएको छ। यद्यपि, यो पर्याप्त नरहेको उनको भनाइ छ।

‘घरेलु पारा खेलकुदलाई व्यवस्थित र व्यावसायिक बनाउने सके मात्र नेपाली खेलकुदमा पलेशाजस्तै खेलाडीको जन्म हुनेछ,’ उनले भने, ‘साना देशले पनि विश्व खेलकुदमा ठूला सफलता पाउन सकिन्छ भन्ने सन्देश दिएको छ।’ पेरिस पुग्नुअघि पलेशाले म्यानचेस्टर सिटीमा एक महिनाको तयारी गरेकी थिइन्। यही तयारीकै मद्दतले पलेशाले सफलता पाएको उनको विश्वास छ। घिसिङले तयारीअनुरूप नतिजा दिएकोमा पलेशा र उनका प्रशिक्षक कविराज नेगी लामालाई विशेष धन्यवाद दिए। पलेशा र करातेकी एरिका गुरुङलाई (१९औं एसियाली खेलकुदकी रजत विजेता) सदस्यसचिव घिसिङले नेपाली खेलकुदमा आजको युगका हिरो संज्ञा दिए।

यी दुईले अझै ठूला सफलता दिलाउन सक्ने सम्भावना रहेको उनमा विश्वास छ। तर, सम्बन्धित संघले आगामी एसियाली खेलकुद र ओलम्पिक लक्षित दीर्घकालीन तयारी गर्नुपर्ने घिसिङले औंल्याए। परिषद्ले त्यसका लागि आवश्यक लगानी गर्ने उनले स्पष्ट पारे। ‘पलेशा र एरिकाले अब स्वर्ण पदक जित्नेगरी तयारी गर्नुपर्छ। तर, त्यो लक्ष्य पूरा गर्न अहिले देखि नै तयारी थाल्नुपर्छ। उनीहरूलाई लगानी गर्न राखेप तयार छ। संघलाई प्रभावकारी योजना ल्याउन निर्देशन दिएको छु,’ उनले भने।

सदस्यसचिव घिसिङले ठूला सफलता प्राप्त गर्न पर्याप्त लगानीसहित मिसनका रूपमा लामो तयारी आवश्यक रहेको औंल्याए। सन् २०२६ को २०औं एसियाली खेलकुदका लागि अहिले नै राखेपले तयारी गरिसकेको छ। स्वर्णसहित दुई अंकको पदक ल्याउने लक्षितसहित यो तयारी गरिएको उनको भनाइ छ। उनले खेलकुदमा परिणाममुखी बनाउन खेलाडी आवास पनि आवश्यक रहेको औंल्याए। खेलाडीले सीमित श्रोत साधनबाट पनि ऐतिहासिक सफलता प्राप्त गर्नुले धेरै सम्भावनाहरू देखाएको उनी बताउँछन्। 

प्रकाशित: १६ भाद्र २०८१ ०८:०९ आइतबार

#National Sports Council #Tanka_Ghising