खेल

फुटबलभन्दा अन्य कुरामै व्यस्त एन्फा

करिब साढे दुई महिना फुटबलविहीन बनेको बाङ्लादेश पुनः अन्तर्राष्ट्रिय प्रतियोगिता फर्किँदै छ। उसले सेप्टेम्बर ५ र ८ मा भुटानसँग दुई मैत्रीपूर्ण खेल खेल्दै यसको सुरुआत गर्नेछ। बाङ्लादेशले अन्तिमपल्ट जुन ११ मा फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोटअन्तर्गत दोस्रो चरणमा लेबनानसँग प्रतिस्पर्धा गरेको थियो। अब उसको लक्ष्य भनेको भुटानमाथि दुईमा दुई जित निकालेर फिफा वरीयता सुधार गर्ने छ।

बाङ्लादेश फुटबल फेडेरेसनका महासचिव इमरान हुसेन तुषारले द डेली स्टार अनलाइनमा भनेका छन्, ‘हामी सेप्टेम्बरको विन्डोमा भुटानसँग खेल्ने यसअघि नै तय थियो। तर, बाङ्लादेशको वर्तमान अवस्थालाई लिएर भुटानले यहाँ नआउने भनेर पत्र पठायो, त्यसैले हामी भुटान गएर खेल्न लागेका हौं।’

एसियन कप छनोटको आगामी ‘ड्र’ मा पोट–४ को साटो पोट–३ हासिल गर्ने लक्ष्यमा बाङ्गलादेश छ।

त्यसैले फिफा वरीयता वृद्धि गर्न भुटानलाई नै विपक्षी बनाएको उनको भनाइ छ। तर, सोही प्रतियोगिता खेलेको नेपाली खेलाडीलाई भने बाङ्लादेश र भुटानले खेलिरहँदा टुलुटुलु हेरेर बस्नुबाहेकको अन्य विकल्प छैन। अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव किरण राई भन्छन्, ‘बिहीबारसम्म हामी केन्द्रीय कार्यसमितिको बैठकमा व्यस्त थियौं। त्यसैले यसबारे हामीलाई छलफल गर्ने मौका मिलेन। आजदेखि हामीलाई फुर्सद मिलेको छ। अब छलफल गर्छौं।’

फिफाले नै हरेक वर्ष विन्डो छुट्याइदिएको हुन्छ। त्यसको अर्थ प्रतियोगिताविहीन रहेका राष्ट्र पनि फुटबलमै व्यस्त हुन् भन्ने नै हो। एन्फाले पनि आफ्नो खेलाडीलाई व्यस्त राख्न फिफाले बनाएको क्यालेन्डरअनुसार नै सेप्टेम्बरको विन्डोमा तीन राष्ट्र सम्मिलित थ्री नेसन्स कप खेल्ने योजना बनाएको थियो।

सबै कुरा ठीक हुन्थ्यो भने यो प्रतियोगिता सेप्टेम्बर २ देखि १० सम्म हुनुपर्ने थियो। तर, राजनीति दाउपेच र तलबभत्ता बाँडफाँडमै व्यस्त रहेको एन्फाले त्यसको तयारी भने गर्न पाएको छैन। पुरुषतर्फ मात्रै होइन गत मे जुनमा महिला राष्ट्रिय टोलीले पनि थ्री नेसन्स कप खेल्ने तालिका थियो। तर, एन्फाले उक्त प्रतियोगिता खेलाउन सकेन। त्यसको असर फिफा वरीयतामा देखिएको छ। करिब ६ महिनाअघि यो टोली ९७औं स्थानमा पुगिसकेको थियो। अहिले कुनै खेल नहुँदा दुई स्थान खस्किएर ९९औं स्थानमा झरिसकेको छ। तर, महासचिव राईलाई भने यो कुराले चिन्तित बनाएको छैन।

‘हामीले खेलिरहेका छौं। अस्ति भर्खर फिफा र एसियन कप छनोट खेल्यौं। महिला टोलीले पनि लेबानमा खेल्ने तय थियो। तर, त्यहाँ युद्धको कारण सम्भव भएन। यद्यपि, अहिले अन्तर्राष्ट्रियस्तरमा हामी व्यस्त छौं। त्यसैले चिन्ता लिन आवश्यक छैन,’ उनले भने।

नेपाली पुरुष टोलीले गत सेप्टेम्बरमा फिफा विन्डोमा म्यानमारसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो। त्यसपछि नेपाल विश्वकप र एसियन कप छनोटमा व्यस्त रह्यो। अब यो टोलीले मार्च २५ देखि एएफसी एसियन कप क्वालिफायरको तेस्रो चरण खेल्नेछ।

 त्यसअघि बाङ्लादेशलाई झैं नेपाललाई पनि पोर्ट सुधार गर्ने मौका छ। नेपालले आफू रहँदै आएको  पोट–३ बाट केही स्थान सुधार गरे तल्लो पोर्टमा रहेका दुई विपक्षीसँग खेल्ने मौका पाउनेछ। यही टोलीलाई हराए वरीयतामा ठूलै स्थान  फड्को मार्ने अवसर पनि प्राप्त गर्नेछ। तर, लगातार फिफा विन्डो गुमाए नेपाल तल्लो पोर्टमा झर्ने सम्भावना बढ्दै जानेछ। यसले विश्वकप र एसियन कपमा पुग्न गाह्रो हुनेछ। तर, यही प्रतियोगिता खेल्ने लक्ष्य बोकेको सुनाउने राईलाई अहिले आफ्ना खेलाडी कता छन् भन्ने पनि पत्तो छैन। ‘फुटबल भइरहेको छ। उनीहरू व्यस्त नै होलान्। अहिले हामी पनि उनीहरूलाई व्यस्त राख्न घरेलु प्रतियोगितामै जोड गरिरहेका छौं,’ उनी भन्छन्।

टोलीको सन्तुलन बिग्रिने खतरा

एन्फाको नयाँ नेतृत्व आएसँगै घरेलु र अन्तर्राष्ट्रिय फुटबल शून्य हुँदा करिब दुई दर्जन राष्ट्रिय खेलाडीले विदेश पलायनको बाटो रोजे। त्यही समयमा विश्वकप र एसिया कप छनोटजस्तो अन्तर्राष्ट्रिय प्रतियोगिता खेलाउन इटालियन प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसलाई निकै हम्मेहम्मे प¥यो।

नयाँ खेलाडी बटुलेर एक टिम त बन्यो तर पुराना खेलाडी झौं सेट हुन नसक्दा उनले नतिजा दिन सकेनन्। त्यही भएर एन्फाले उनलाई नेपाल फिर्ता नबोलाउने निर्णय गरिसकेको छ। तर, नेपाली राष्ट्रिय टोलीका पूर्वडिफेन्डर विक्रम लामा अहिले टोलीको सन्तुलन मिल्दै गएको बताउँछन्। त्यसैले अबको एक वर्ष लगातार यो टोलीलाई व्यस्त राख्नुपर्ने उनको भनाइ छ।

‘धेरै खेलाडी पलायन भएपछि नयाँ टिम थियो। उनीहरूमा सन्तुलन मिल्न सकेको थिएन। तर, अहिले सबै मिल्दै गएर तयार टिम बनिसकेको छ। त्यसैले एक वर्षजति धेरैभन्दा धेरै फम्र्याट दिएर खेलाउने हो भने यो टोलीले नतिजा दिलाउन सक्छ,’ उनी भन्छन्।

कुवेती प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको बहिर्गमन र एनेसको आगमनसँगै नेपाली टोलीमा करिब २८ खेलाडीले स्थान बनाएका छन्। ती खेलाडीमध्ये  १८ ले राष्ट्रिय टोलीमा डेब्यु गरेका छन् भने बाँकीले गर्न बाँकी नै छ। डेब्यु गरेका खेलाडीले मार्चदेखि कुनै न कुनै प्रतियोगिता खेल्दै आएका छन्।

अहिले घरेलु प्रतियोगिता नहुँदा अन्य खेलाडीले तत्कालै डेब्यु गर्ने सम्भावना पनि छैन। त्यसले गर्दा अहिले अनुभव बटुलेर बसेका खेलाडीलाई त्यो अनुभव देखाउन नपाउँदा समस्या उत्पन्न हुने लामाको भनाइ छ। ‘हामीमा अनुभव छ। तर, टेक्निकल र फिटनेस लगायत कुरामा अझै हामी कमजोर नै छौं। यसरी विन्डोमा पनि लगालग खेल भइदिएको भए सुधार गर्ने अवसर पाउथ्यौं। त्यसैले यो कुरामा अलिकति ध्यान दिनपथ्र्याे,’ उनी भन्छन्।

प्रकाशित: १५ भाद्र २०८१ ०७:३३ शनिबार

#Danger of losing team balance # Fotball