खेल

पेरिस पारालिम्पिकमा भरत पराजित

नेपालका भरतसिंह महता पेरिस पारालिम्पिक– २०२४ अन्तर्गत तेक्वान्दोको के– ४४ क्याटगोरीको पुरुष ५८ केजीमुनिको स्पर्धामा पराजित भएका छन् ।

पेरिसस्थित ग्रान्ड पेलेसमा विहीबार भएको राउन्ड अफ १६ को खेलमा भरत विश्ववरीयताको पाँचौ नम्बरमा रहेका जापानका मित्सुया तानाकासँग पराजित भएका हुन् । भरत १९–३ ले पराजित भएका हुन् । भरत विश्ववरीयताको ५७ औं स्थानमा छन् । हारसंगै भरत प्रतियोगिताबाट बाहिरिएका छन् ।  

तेक्वान्दोमै पदकको आशा गरिएकी पलेशा गोबर्धनले के– ४४ क्याटगोरीअन्तर्गत महिला ५७ केजीमुनि तौलसमूहमा शुक्रबार नेपालको चुनौती प्रस्तुत गर्नेछन् ।

भरत र पलेशासहित पारालिम्पिकमा नेपालबाट ३ खेलाडी सहभागी छन् । पौडीका भीमबहादुर कुमालले सेप्टेम्बर २ तारिखमा एस ९ क्याटगोरीको पुरुष ५० मिटर फ्रिस्टायलमा सहभागिता जनाउने छन् । 

भरत र भीम वाइल्ड कार्ड मार्फत पारालिम्पिकका लागि छनोट भएका हुन् । पलेशाले भने छनोट चरण पार गर्दैै पेरिस यात्रा पक्का गरेकी थिइन् ।

प्रकाशित: १३ भाद्र २०८१ १६:५६ बिहीबार

#Bharat Singh Mahata #Paris Paralympics