खेल

नेपालीलाई रियालको प्रशिक्षण

काठमाडौं – गत जेठ २२ देखि २६ गतेसम्म स्पेनिस माहारथी रियाल मड्रिडको रियाल मड्रिड फाउन्डेसन प्रशिक्षणमा उत्कृष्ट छानिएका नेपालका युवा खेलाडी विदितमान तुलाधार क्लबले दिने प्रशिक्षणका लागि  सिंगापुर जाने भएका छन्। 

यही चैत २६ देखि ३० गतेसम्म प्रदान गरिने प्रशिक्षणमा सहभागी हुन शुक्रबार सिंगापुर प्रस्थान गर्ने शुभारम्भ एजुकेसन एन्ड स्पोटर््स टुर्सका प्रबन्ध निर्देशक विजयकुमार खत्रीले जानकारी दिए।

प्रशिक्षणका लागि सिंगापुर जानका लागेका तुलाधरले विश्वको चर्चित क्लबका प्रशिक्षकले दिने प्रशिक्षणमा उत्कृष्ट प्रदर्शन गर्नेमा आशावादी रहेको बताए। 

विदितले रियाल मड्रिड फाउन्डेसनको सिंगापुरमा रहेको रियाल मड्रिड फाउन्डेसन टेक्निकल एकेडेमीमा पाँच दिन प्रशिक्षण लिनेछन्। उनले त्यहाँ रियाल मड्रिडका दक्ष प्रशिक्षकबाट प्रशिक्षण लिनेछन्। शिविरमा एसियाली राष्ट्र तथा दक्षिण एसियाका मलेसिया, बंगलादेश, सिंगापुरका खेलाडी सहभागी हुनेछन्।

रियाल मड्रिड फाउन्डेसन यु–१८ फुटबल प्रशिक्षण शिविरबाट तुलाधर सिंगापुरमा रियाल मड्रिड क्लबका पूर्वखेलाडी तथा युइएफए को ‘ए’ लाइसेन्स प्राप्त प्रशिक्षकद्वय ल्यान्डबुरु रोटेला र राफायल पालासियसले शिविरबाट उत्कृष्ट परीक्षार्थीका रूपमा तुलाधरलाई छनोट गरेका थिए। विदितले सिंगापुर पाँचदिने शिविरमा उत्कृष्ट प्रदर्शन गर्न सके रियाल मड्रिडको यु–१५ एकेडमीमा भर्ना हुने मौका पाउने फाउन्डेसनका प्रबन्ध निर्देशक खत्रीले जानकारी दिए। 

सोही अवसरमा आइतबार शुभारम्भ एजुकेसन एन्ड स्पोर्ट्स टुर्सले काठमाडौको रोजबड स्कुलमा ८ कक्षामा अध्ययन गर्ने १५ वर्षीय तुलाधरलाई रोजबड स्कुलका प्रिन्सिपल दामोदर ढुंगानालगायतले बिदाइ गरे।

तुलाधरको खर्च व्यवस्थापन शुभारम्भ एजुकेसन एन्ड स्पोट्र्स टुर्स प्रालिले गर्नेछ भने प्रशिक्षण शिविरमा लाग्ने खर्च रियाल मड्रिड फाउन्डेसन टेक्निकल एकेडमीले गर्नेछ।

प्रकाशित: १९ चैत्र २०७४ ०३:५३ सोमबार

नेपालीलाई रियालको प्रशिक्षण