खेल

मकाउमा स्वर्णमा चुके सुरज,असिम सर्वोत्कृष्ट

नेपालका सुरज कार्की मकाउमा आयोजना भएको ग्रेटर बे कप अन्तर्राष्ट्रिय तेक्वान्दो सिरिजमा स्वर्ण पदकको प्रतिस्पर्धामा चुक्दा असीम श्रेष्ठ भने सर्वोत्कृष्ट खेलाडी चयन भएका छन् ।

अन्तर्राष्ट्रिय तेक्वान्दो सिरिजमा फाइटतर्फ सुरज फाइनलमा चीनका खेलाडीसँग पराजित भएका हुन् । सिनियर पुरुष ८० केजी तौल समूहको फाइनलमा उनी चाइनिज खेलाडीसँग १६–१४ साँघुरो अन्तरले पराजित हुन पुगे । त्यसअघि उनले सेमिफाइनलमा हङकङका खेलाडीलाई १४–९ ले हराउँदै स्वर्ण पदकको भिडन्त तय गरेका हुन्।

यसै सिरिजमा क्याडेटतर्फ नेपालका असीम श्रेष्ठ पनि स्वर्ण पदकको प्रतिस्पर्धा असफल भएका थिए । यद्यपि, उनी समग्रमा सर्वोत्कृष्ट खेलाडी चयन भए । क्याडेट पुरुष ३६ केजी तौल समूहमा असिम फाइनलमा पराजित भएका हुन्।

यसै सिरिजमा सिनियर ह्यान्ड ब्रेकिङमा भने डेनिड विकले स्वर्ण पदक जिते । सिनियर पुरुष ६८ केजीमा विमल रोकाया पनि रजत पदकमै सीमित भए । सिनियर महिला ७३ केजीमाथि मुना खवास मगरले पनि रजत पदकमा चित्त बुझाइन् । पुरुष क्याडेट ४९ केजीमुनि प्रबल विक्रम बानियाँ र नियोल गुरुङले कांस्य पदक जिते । महिला क्याडेट ४२ केजीमुनि विनिशा प्रधान र ५३ केजीमा अञ्जली लामाले रजत पदक पक्का गरे । महिला क्याडेटतर्फ व्यक्तिगत पुम्सेमा अनुजा राईले तेस्रो स्थानमा रहिन् ।

उक्त प्रतियोगितामा प्रतिस्पर्धा गर्न मकाउ पुगेका नेपाली टोलीलाई स्थानीय ब्रदरहुड संस्थाले तीन हजार हङकङ डलर (नेपाली ५० हजार) रुपैयाँ सहयोग गर्दै खेलाडीलाई प्रोत्साहित गर्‍यो । पावर फोर्स सेक्युरिटी एन्ड क्लिनिङ म्यानेजमेन्ट ग्रुपले भने खेलाडीलाई एक लाख रुपैयाँ र टिम व्यवस्थापक अमरबहादुर श्रेष्ठ र टोली नेता तथा अन्तर्राष्ट्रिय निर्णायक कुमार लामा घिसिङलाई जनही ५० हजार रुपैयाँ सहयोग गरेको छ । पाकिस्तानका अलि बटले सो कम्पनी मार्फत  नेपाली टोलीलाई सहयोग गरेका हुन् ।

प्रकाशित: १० भाद्र २०८१ १९:४९ सोमबार

#International Taekwondo Series