खेल

ताप्लेजुङ गोल्डकपको फाइनल सोमबार, उपाधि जित्ने दुबै टिमको दाबी

ताप्लेजुङ गोल्डकपको उपाधि होडमा रहेका कोशी प्रदेशको सगरमाथा यूथ क्लब मोरङ र मधेस प्रदेशको सलहेश फुटबल क्लब सिराहाका टिमले सोमबार हुने फाइनलमा उत्कृष्ट खेल खेल्ने दाबी गरेका छन्।

फाइनल खेलको पूर्व सन्ध्यामा आइतबार पत्रकार सम्मेलनमा दुबै टोलीले सो दाबी गरेका हुन्। सम्मेलनमा दुबै टिमले फाइनलमा आफ्नोतर्फबाट अब्बल र उपाधि रक्षा केन्द्रित खेल हुने बताए।

‘हामी टप ग्रुपमा थियौँ,त्यो ग्रुपको चुनौती चिरेर फाइनल आइपुगेका हौँ’ सलहेशका टिम कप्तान कुलदीप कार्कीले भने। उनले पछिल्ला दिनहरूमा आफू आबद्ध टिम मोफसलका धेरै गोल्डकपहरुमा सहभागी भई कतै उपाधि जित्न सफल र कतै उपविजेता भई फर्किएको अनुभव पनि सुनाए।

सलहेशका प्रशिक्षक राजीव यादवले प्रतिद्वन्द्वी टिमविरुद्ध आफ्नो टिमको सोमवारको उपस्थिति बलियो हुनेमा आसावादी रहेको बताए। प्रतिद्वन्द्वी टिममा रहेर ताप्लेजुङ गोल्डकप खेलिरहेका सगरमाथा फुटबल क्लबका कतिपय खेलाडीले यसअघि सलहेशको टिममा रहेर खेल खेलेको बताउँदै उनले त्यो सिकाई पनि सोमवारको फाइनल खेलमा प्रयोग गर्ने बताए।

समूह ‘बी’मा सलहेश सँगै विभागीय टोली त्रिभुवन आर्मी,बिर्तामोड युनाइटेड र पाँचथर वाईवाई फुटबल क्लब रहेका थिए।

सगरमाथा यूथ क्लबका कप्तान अशोक खवासले विभिन्न क्लबमा आबद्ध भएर खेलेका खेलाडी अहिलेको टिममा रहेपनि अहिलेसम्मको खेल अवस्थाले अलग क्लबमा आबद्ध खेलाडी अहिले मैदान उत्रिएका छौँ जस्तो नै नलागेको बताए।  ‘रेण्डम खेल्छौँ, टीमवर्कमा खेल्छौँ तर उपाधि रक्षाका लागि अधिकतम प्रयास गर्छौं ’खवासले भने।

खवास भन्छन्, ‘उहाँहरू(सलहेश)को टिममा विदेशी खेलाडी हुनुहुन्छ,हामीमा मनोबल छ,अनुभवी खेलाडीको साथ छ।’ आफूहरूले फरवार्ड लयमा रहेर प्रतिद्वन्द्वी टिमको सामना गर्ने खवासले बताए।

सगरमाथाका प्रशिक्षक युवेन गुरुङ आफुहरु खेलको लयमा रहेको दाबी गर्छन्। नेपाल सुपर लिग खेलेको बुटवल लुम्बिनी एफसी र युवा तथा खेल कौसलमा निपुण गृह टिम संघर्ष स्र्पोटिङ क्लबलाई घरेलु मैदानमा पराजित गरेको टिम भएकोले सगरमाथा उच्च मनोबलका साथ मैदान उत्रने तयारीमा रहेको छ।

बुटवलमा रिचर्ड ओसेई, बाओटिङ, हेनरी र एपिया जस्ता अनुभवी विदेशी खेलाडी थिए। सगरमाथाले उनीहरु सहित नेपाल सुपर लिग खेलेका खेलाडीले भरिएको बुटवल एफसीलाई पराजित गरेको थियो। सलहेश गत जेठमा धनकुटामा सम्पन्न रारा गोल्डकपको ११ औं संस्करणको विजेता हो। सगरमाथाले इटहरी गोल्डकपको उपाधि समेत चुमिसकेको छ।

यसवर्षको गोल्डकपका विजेताले ५ लाख रुपैयाँ र उपविजेताले २ लाख ५० हजार ५ सय ५५ रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाण–पत्र पाउने छन्। 

प्रकाशित: ९ भाद्र २०८१ १४:३१ आइतबार

#Taplajung Gold Cup