खेल

‘गब्बर’ले लिए क्रिकेटबाट बिदा, भावुक हुँदै सन्यासको घोषणा

भारतीय क्रिकेट टिममा लामो समय ओपनर ब्याटरको भूमिकामा खेलेका शिखर धवनले सबै खाले क्रिकेटबाट सन्यास लिएका छन् । शनिबार सामाजिक सञ्जालमार्फत आफ्ना प्रशंसकलाई सम्बोधन गर्दै धवनले अन्तर्राष्ट्रिय तथा घरेलु क्रिकेटबाट बिदा लिएको घोषणा गरेका हुन् । भारतीय प्रशंसकले धवनलाई ‘गब्बर’को नामले समेत सम्बोधन गर्छन् । 

सन् २०२२ देखि धवन भारतको अन्तर्राष्ट्रिय एक दिवसीय टिमबाट बाहिर छन् । शुभमन गिल र अन्य नयाँ युवा ओपनर ब्याटरले उत्कृष्ट प्रदर्शन गरिरहँदा छनोटकर्ताले धवनतर्फ फर्केर हेर्नु परेको छैन ।

धवनले आफ्नो क्रिकेट करिअरमा ३४ टेस्ट, १६७ अन्तर्राष्ट्रिय एक दिवसीय९ओडिआई० र ६८ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् । जसमा  टेस्टतर्फ ७ शतक, ५ अर्ध शतकसहित दुई हजार ३१५ रन, ओडिआईतर्फ १७ शतक ३९ अर्ध शतकसहित ६हजार ७९३ रन र टी–२० आई तर्फ ११ अर्ध शतकसहित एक हजार ७६९ रन बनाएका छन् ।

यस्तै लिस्ट ए खेलहरूमा उनको १२ हजार भन्दा बढी रन रहेको छ भने, आइपिएल लगायतका टी–२० खेलमा झन्डै १० हजार रन जोडेका छन् ।

धवनले सन्यास लिँदै गर्दा आफू निकै खुसी रहेको अभिव्यक्ति दिएका छन् । ‘आज एक यस्तो मोडमा खडा भएको छु, जहाँबाट पछाडि मात्र यादहरू देखिरहेका छन् र अगाडि पूरै दुनियाँ,’ उनले भनेका छन्,‘मेरो सधैँ एउटै मंजिल थियो, भारतको लागि खेल्नु र त्यो भयो पनि । जसका लागि म कैयौँ व्यक्तिप्रति शुक्रगुजार छु ।’ 

धवनले सबैभन्दा पहिला परिवार, बाल्यकालका क्रिकेट प्रशिक्षक तारक सिन्हा, मदन शर्मा, त्यसपछि वर्षौ वर्षका टिम मेट खेलाडीलाई सम्झेका छन् । ‘मलाई एक परिवार मिलेको छ । नाम मिलेको छ र तपाईँ सबैको प्यार मिलेको छ,’ भावुक हुँदै उनले भनेका छन् ।

‘तर, भन्छन् नि कहानीमा अगाडि बढ्नका लागि पाना पल्टाउन जरुरी हुन्छ । बस् म पनि यस्तै गर्न गइरहेको छु । म अन्तर्राष्ट्रिय र घरेलु क्रिकेटबाट आफ्नो सन्यासको घोषणा गर्दैछु,’ धवनले भनेका छन् ।

शिखरले त्यसपछि आफ्नो क्रिकेट यात्रालाई अलबिदा गरिरहँदा दिलमा ‘एक सकुन’ भइरहेको बताउँदै त्यो सकुन देशका लागि धेरै खेल्न पाएकामा रहेको बताएका छन् । ‘म शुक्रगुजार छु बिसिसिआई र डिडिसिएको जसले मलाई मौका दिए, मेरा प्रशंसक जसले मलाई यति धेरै प्यार दिए,’ उनले अगाडि भनेका छन्,‘म आफै यही भन्छु की भाइ तिमी यस कुराबाट दुखी नहोऊ की, तिमि फेरी आफ्नो देशका लागि खेल्दैनौँ । तर, खुसी यस कुराबाट आफूसँग राख, तिमी आफ्नो देशको लागि खेल्यौँ । र, मेरा लागि सबैभन्दा ठुलो कुरा यही हो की म देशका लागि खेलेँ ।’

प्रकाशित: ८ भाद्र २०८१ १४:०८ शनिबार

#Shikhar Dhawan #indian cricket