खेल

‘सेन्थेटिक ट्रयाक’ अध्ययन उपसमितिले बुझायो प्रतिवेदन

नेपालगन्ज रंगशालामा रहेको ‘सेन्थेटिक ट्रयाक’ हस्तान्तरण नहुँदै उप्किएको विषयमा छानविन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ।

सेन्थेटिक ट्रयाक उप्किएको समाचार सार्वजनिक भएपछि राष्ट्रिय खेलकुद परिषदले राखेपका सदस्य एल.बि. क्षेत्रीको संयोजकत्वमा तीन सदस्यीय अध्ययन उपसमिति गठन गरेको थियो। उक्त समितिले नेपालगन्ज आइपुगेका राखेपका सदस्य सचिव टंकलाल घिसिङलाई संयोजक क्षेत्रीले प्रतिवेदन हस्तान्तरण गरेका हुन्।

राखेपले सेन्थेटिक ट्रयाक निर्माण गर्नका लागि ठेकेदार कम्पनी ‘पञ्चकन्या/सिनकुट जेभी’ ललितपुरलाई ९ करोड ८६ लाख ४० हजार ८ सय ३२ रुपैयाँमा ठेक्का दिएको थियो। सन् २०२३ मार्च २३ मा ठेक्का सम्झौता भएकोमा सन् २०२४ जनवरी ५ मा काम सम्पन्न गरिसक्नुपर्ने थियो। 

तर, ठेकेदार कम्पनीले गत असार मसान्तमा मात्र काम सम्पन्न गरेको थियो। निर्माण सम्पन्न भएको एक महिनामै उप्किएपछि सेन्थेटिक ट्रयाकको गुणस्तरमाथी चौतर्फी रुपमा प्रश्न उठिरहेका बेला राखेपद्धारा गठित उपसमितिले प्रतिवेदन तयार गरेर बुझाएको हो।

प्रतिवेदन बुझाएपछि संयोजक क्षेत्रीले सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा उठेका कुरालाई सम्बोधन गर्न सेन्थेटिक ट्रयाकको स्थलगत रुपमा देखिएका कमजोरीलाई प्रतिवेदनमा समेटिएको बताए। ‘हामीले तीन दिनको समय पाएका थियौं, तीन दिनभित्रै हामीले प्रतिवेदन बुझाएका छौं,’ उनले भने ‘हामीलाई अध्ययन गर्न भनिएको थियो, प्रतिवेदनमा हामीले ठोस सुझाव पनि दिएका छौं।’ 

प्रतिवेदनमा सेन्थेटिक ट्रयाक निर्माणमा भएको कमी, कमजोरीलाई उठान गरिएको संयोजक क्षेत्रीले सुनाए। ‘अनुगमन निरीक्षणका क्रममा जुन लापरबाही देखिएको छ, त्यो लापरबाहीको सम्बन्धमा राखेपले गम्भिरता पूर्वक निर्णय गर्नुपर्ने, साथ साथै जुन–जुन ठाउँमा क्र्याक भएको छ, त्यो लापरबाहीको सम्बन्धमा तुरुन्तै सच्याउनुपर्ने जस्ता सुझाव दिएका छौं,’ उनले थपे।

उक्त प्रतिवेदनमा राखेपले देशभर निर्माण गरेका भौतिक संरचनाको रेखदेखका सम्बन्धमा प्रदेश र सम्बन्धित स्थानीय तहलाई पनि जिम्मेवारी दिनुपर्ने सुझाव दिइएको समितिले जनाएको छ। प्रतिवेदन बुझेपछि सदस्य सचिव घिसिङले प्रतिवेदनका आधारमा राखेपले आवश्यक निर्णय गर्ने बताए।

प्रकाशित: ६ भाद्र २०८१ ११:०२ बिहीबार

#"Synthetic Track" #Nepalganj #Rakhep