खेल

‘सेन्थेटिक ट्र्याक’ उप्किएको बारे अध्ययन सुरु

निर्माण सम्पन्न भएको एक महिनामै नेपालगन्ज रंगशालामा रहेको ‘सेन्थेटिक ट्य्राक’ उप्किएपछि अध्ययन सुरु भएको छ।

सेन्थेटिक ट्य्राक उप्किएको समाचार सार्वजनिक भएसँगै राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले बोर्ड सदस्यसमेत रहेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान एलबी क्षेत्रीको संयोजकत्वमा तीन सदस्यीय अध्ययन समिति गठन गरेको थियो  समितिले बुधबार नै नेपालगन्ज रंगशालामा पुगेर स्थलगत अध्ययन सुरु गरेको छ। प्रारम्भिक अध्ययनका क्रममा समितिले सेन्थेटिक ट्य्राकमा निर्माण पक्षबाट प्राविधिक त्रुटि गरेको औंल्याएको छ।

सेन्थेटिक ट्य्राक निर्माणका लागि ठेकेदार कम्पनी ‘पञ्चकन्या/सिनकुट जेभी’ ललितपुरले ९ करोड ८६ लाख ४० हजार ८ सय ३२ रूपैयाँमा ठेक्का पाएको हो।

सन् २०२३ मार्च २३ मा भएको सम्झौताअनुरूप सन् २०२४ जनवरी ५ मा काम सम्पन्न गर्नुपर्ने सर्तमा उल्लेख छ। तर, ठेकेदार कम्पनीले गत असार मसान्तमा मात्र काम सम्पन्न गरेको थियो। निर्माण सम्पन्न भएको एक महिनामै सेन्थेटिक ट्य्राक उप्किएपछि त्यसको गुणस्तरमाथि प्रश्न उठेको छ। अध्ययन समितिका संयोजक क्षेत्रीले प्रारम्भिक अध्ययनका क्रममा सेन्थेटिक ट्य्राकको ‘डी एरिया’ मा उप्किएको र उत्तर÷दक्षिण साइडका विभिन्न स्थानमा पानी जम्ने गरेको पाइएको बताएका छन्।

‘औपचारिक रूपमा अध्ययन गरेका छौं। कमीकमजोरी देखिएका छन्, त्यसलाई लिपिबद्ध गर्नेर्छौ,’उनले नागरिकसँग भने, ‘कमिकमजोरी देखिन्छ। कमिकमजोरी कुन स्तरको हो भन्ने अध्ययन गर्छौं। त्यसपछि रिपोर्ट तयार गर्छौं। दोषी भए राखेपले कारबाही गर्नुपर्छ।’ सुझावअनुसार राखेपले सम्बन्धित पक्षलाई कारबाहीको दायरामा ल्याउनेमा आफू विश्वस्त रहेको क्षेत्रीले बताए। ठेकेदार कम्पनीका इन्जिनियर मनीषकुमार शाहले निर्माण सम्पन्न भएको ट्य्राक बिग्रेपछि पुनःनिर्माण गरिने बताए। उनले भारतबाट सम्बन्धित कम्पनीलाई बोलाइसकेको जानकारी दिए।

‘सेन्थेटिक ट्य्राक निर्माणस्थलमा ह्याम्बर उप्काउनका लागि हामीले क्रेन ल्याएका थियौं। त्यसको असरले यो समस्या आएको हो कि भन्ने अनुमान गरेका छौं,’ उनले भने ‘हामीले समयमै निर्माण सम्पन्न गर्नुपर्ने थियो, त्यसको कारणले पनि यस्तो भएको हुन सक्छ।’ नेपालगन्जको समृद्धिसँग जोडिएको खेलकुदको पूर्वाधार निर्माणलगत्तै बिग्रिँदा नेपालगन्जवासीले छानबिन हुनुपर्ने माग गरेका छन्। अख्तियारले पनि छानबिन गर्नुपर्ने स्थानीयको माग छ।

नेपालगन्जका नागरिक अगुवा कृष्णप्रसाद श्रेष्ठले राखेपको अध्ययन समिति गठन भएर छानबिन हुनु सकारात्मक भए पनि यसको उच्चस्तरीय छानबिन आवश्यकता रहेको औंल्याए। ‘जुन हिसाबले सम्झौता भएको छ, त्यसअनुरूप काम भएको छैन। हस्तान्तरण नहुँदै भत्किनु कमसल सामग्री प्रयोगले हो,’ उनले भने ‘यो विषयमा अध्ययन समितिले पक्कै पनि ध्यान दिएर हेर्नेछ।’ सम्झौताअनुसार भएको छैन भने पूरै भत्काएर नयाँ संरचना बनाउनुपर्छ।’ झन्डै १० करोड रूपैयाँ खर्च गरेर बनाएको सेन्थेटिक ट्य्राक उप्किँदा आफूहरू दुःखी भएको श्रेष्ठले बताए।

नेपालगन्जमा सेन्थेटिक ट्य्राक निर्माणका क्रममा राखेपले केन्द्रबाटै इन्जिनियरसहित अनुगमन टोली खटाएको थियो। तर, उनीहरूको अनुगमनमा पनि शंका उत्पन्न भएको छ। जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सन्दीपजंग शाहले सेन्थेटिक ट्य्राक निर्माणका क्रममा राखेपले अनुगमन नै गर्न नदिएको दुखेसो गरे। ‘हामीले स्थानीयस्तरमा अनुगमन समिति बनाउन माग गर्दै आठ महिनाअघि नै तालाबन्दी गरेका थियौं,’ उनले भने, ‘जुन कुरा पहिल्यै उठाएका थियौं, त्यसको परिणाम अहिले देखियो।’ सेन्थेटिक ट्य्राक कतै चर्केको र कतै पानी जम्ने गरेको भन्दै उनले यसमा अनियमितता भएको दाबी गरेका छन्।

प्रकाशित: ६ भाद्र २०८१ ०६:२७ बिहीबार

#nepalgunj