खेल

सगरमाथा युथ क्लब ताप्लेजुङ गोल्डकपको सेमिफाइनलमा

दोस्रो आमन्त्रण ताप्लेजुङ गोल्डकपको क्वाटरफाइनल खेल जित्दै मोरङ बिराटचाेकको सगरमाथा यूथ क्लब सेमिफाइनल पुग्ने तेस्रो टोली बनेको छ। यसअघि सिराहाको सलहेश फुटबल क्लब र गृहटीम सङ्घर्ष  स्र्पोटिङ क्लब सेमिफाइनल पुगिसकेका छन्।

नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइजी समेत रहेको बुटवल लुम्बिनी एफसीलाई १–० को अनपेक्षित हार चखाउँदै मोरङको सगरमाथा यूथ क्लबले भदौ ७ गते हुने पहिलो सेमिफाइनल खेलमा गृह टिम सङ्घर्ष स्र्पोटिङ क्लब फुङलिङसंगको भेट पक्का गरेको हो।

जर्सी नं ११ का खेलाडी सुशिल राईले खेलको १९ औं मिनेटमा गरेको गोल नै मोरङको जीतमा निर्णायक बन्यो। पूर्व संकटा क्लबका गोलरक्षक बिनय श्रेष्ठले सुशिलको प्रहारलाई ‘ अपेक्षित’ ठान्न नसक्दा यही गोल नै बुटवल एफसीका लागि हारको कारण बन्यो।

बुधबारको खेलमा टिमका लागि मेहनत र खेल कौशल दुवै प्रस्तुत गरेका विजेता सगरमाथा यूथ क्लबका कप्तान अशोक खवास म्यान अफ म्याच बने। उनले ५ हजार रुपैयाँ नगद पनि प्राप्त गरे।

सगरमाथाका बुटवल लुम्बिनी एफसी रिचार्ड, बाओटिङ, हेनरी र एपिया गरी ४ विदेशी खेलाडीका साथ मैदानमा थियो। रिचार्ड र एपियालाई मोरङका खेलाडीले टाइट’मा राखेपनि बुटवलका अरु खेलाडी खुलेर खेल्न सकेनन्। गोल फर्काउन जति सङ्घर्ष र मेहनत गर्नुपर्थ्यो, बुटवलले त्यो लय गुमाउँदा ताप्लेजुङ गोल्डकपको दोस्रो संस्करणको मैदान नै गुमाएको छ।

खेलको अन्त्यतिर दुवै टोलीले आक्रामक खेले पनि कसैले गोल गर्न सकेनन् र एक गोलमार्फत नै खेलको निर्णय भयो। बिहीबार दोस्रो ताप्लेजुङ गोल्डकपको अन्तिम क्वाटरफाइनल खेलमा विभागीय टोली त्रिभुवन आर्मीले बिर्तामोड युनाइटेड फुटबल क्लब झापासँग प्रतिस्पर्धा गर्नेछ।

आर्मी भरत खवासको र नवयुग श्रेष्ठ सहितका खेलाडी लिएर मैदान उत्रदैं छ। खवास नेपाली राष्ट्रिय फुटबल टोलीका एक महत्त्वपूर्ण सदस्य हुन्।

नवयुग वंगबन्धु गोल्डकप र दक्षिण एसियाली खेलकुद (सार्क) फुटबल प्रतियोगिता खेलिसकेका नेपाली खेलाडी हुन्। बिर्तामोड युनाइटेड पूर्वी नेपालमा एक सशक्त फुटबल क्लबको रुपमा उदाइरहेको छ।

ताप्लेजुङ गोल्डकपमा प्रतिस्पर्धा गर्ने आर्मी पहिलो विभागीय टिम हो।

प्रकाशित: ५ भाद्र २०८१ १७:१८ बुधबार

#Taplajung Gold Cup