वाइसिएचका सक्षम शाक्यले पुष्पराज शाक्य स्मृति तेस्रो ट्राइ सिरिज टेबल टेनिस प्रतियोगिताको यु–१६ ब्वाइज सिंगल्समा स्वर्ण जितेका छन्।
खोल्छ पुखु खेलकुद समितिको आयोजनामा भएको प्रतियोगितामा उनले फाइनलमा आइएससीका स्वयं महर्जनलाई ३–२ को सेटमा हराउँदै स्वर्ण जिते। आइएससीका सुप्रिन्स महर्जन र खोल्छका उसान वज्राचार्य तेस्रो भए।
पुरुष खुला सिंगल्समा वाइसिएचका सन्जिल शाक्यले स्वर्ण, आइएससीका राजेन्द्र वज्राचार्यले रजत तथा आइएससी एवं खोल्छका नदिमरत्न शाक्य र अशोक महर्जनले कांस्य हात पारे। पुरुष डबल्समा वाइसीएचका सुमन शाक्य र सन्जिल शाक्यको जोडी पहिलो भयो।
यो विधामा खोल्छका नदिमरत्न शाक्य र समीप श्रेष्ठको जोडी दोस्रो तथा आइएससीका राजेन्द्र वज्राचार्य र मनीष खरेल तथा अशोक महर्जन र सुशील वज्राचार्यको जोडी तेस्रो भए। पुरुष टिम इभेन्टमा वाइसिएच, आइएससी र खोल्छ क्रमशः शीर्ष तीन स्थानमा रहे।
विजेतालाई ललितपुर महानगरपालिका–११ का अध्यक्ष अरोजकुमार खड्गी, टेबल टेनिसका मुख्य प्रशिक्षक राजेन्द्र कपाली र ललितपुर जिल्ला टेबल टेनिस संघका अध्यक्ष आशिष अवालेलगायतले पुरस्कृत गरे।
प्रकाशित: ३ भाद्र २०८१ ०८:५६ सोमबार