खेल

ओलम्पिक दाबी गर्ने योजनामा पोल्यान्डका प्रधानमन्त्री

पोल्यान्डका प्रधानमन्त्री डोनाल्ड टस्कले सन् २०४० र सन् २०४४ को ग्रीष्मकालीन ओलम्पिक आयोजनाको दाबी गर्दै आफ्नो राष्ट्रले इतिहासमा पहिलोपल्ट ओलम्पिक आयोजना गर्ने बताएका छन् । 

वार्साको पूर्वी क्षेत्रमा भएको एक फुटबल प्रशिक्षण कार्यक्रममा डोनाल्डले आफ्नो देशले विश्व खेलकुदकै ठूलो महोत्सव ओलम्पिक आयोजनाको दाबेदारी प्रस्तुत गर्ने उल्लेख गरेका हुन्। ‘पोल्यान्डले आधिकारिक रूपमा ओलम्पिक आयोजनाका लागि प्रयास सुरु गरेको छ। 

यो सम्भव हुने लक्ष्य नै हो। तर, हामीले यो आयोजनाका लागि गम्भीरतापूर्वक काम गर्नुपर्छ,’ डोनाल्डले भने। उनले सन् २०४० र २०४४ को ओलम्पिक आयोजना गर्न अहिले नै कुरा अगाडि बढाउनु उत्तम रहेको पनि उल्लेख गरेका छन्। 

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) ले प्रक्रिया अगाडि बढाउनभन्दा अगावै काम गर्ने उनको योजना छ। त्यो आयोजना गर्न अहिले नै १०, १२ र १५ वर्षसमूहका बालबालिकाको खेलकुदमा लगानी गर्नुपर्ने उनको भनाइ छ । साथै युवाले खेल्ने खेलमैदान र प्रशिक्षण सुविधा पनि बढाउनुपर्ने आवश्यकता उनले औंल्याएका छन्। 

‘जब ओलम्पिक पोल्यान्डमा हुनेछ, त्यति बेला म मैदानमा आउन सक्दिनँ होला,’ पोल्यान्डका ६७ वर्षे प्रमुख डोनाल्डले भने,‘ तर अबको केही वर्षमा यो सपनालाई साकार बनाउन केही गर्नेछु।’ पेरिस ओलम्पिक २०२४ मा पोल्यान्डले खराब प्रदर्शन गरेपछि उनको यो प्रतिक्रिया आएको हो । पेरिसमा पोल्यान्डले एक मात्र स्वर्ण पदक जितेको थियो ।  

उनको यो लक्ष्यप्रति त्यहाँको सत्तारुढ दल सिभिक प्लेटफर्म पार्टीले पनि स्वागत गर्दै देशमा खेलकुदका संरचना बढाउनुपर्नेमा जोड दिएको छ। तर, डोनाल्डका विपक्षीले भने आफूमा ध्यान केन्द्रित गर्न उनले यस्तो आशा देखाएको भन्दै आलोचना गरेका छन्। 

उनकै सत्तामा साझेदार रहेका पार्टीले पनि यस्तो आरोप लगाएका छन्। ‘जुन देशले एउटा मात्र स्वर्ण पदक जितेको छ, त्यही देशका प्रधानमन्त्री स्टेडियम बनाउन चाहन्छन्। ओलम्पिक आयोजना गरेर इतिहास बनाउनुको सट्टा राम्रो ओलम्पिक टिम बनाउनु नै उत्तम हुनेछ। त्यसका लागि समान रूपमा खेलकुदमा लगानी आवश्यक पर्छ,’ एक सांसद एन्ना मारिया जुकोवस्काले सामाजिक सञ्जालमा पोस्ट गरेकी छन्।

पोल्यान्डले पेरिसमा कुल १० पदक जितेको थियो। त्यो सफलतापछि पोल्यान्ड समग्रमा ४२औं स्थामा रह्यो। जुन प्रदर्शन सन् १९५६ पछिकै सबैभन्दा खराब पनि हो। सन् २०१२ मै युक्रेनसँग मिलेर युरोपियन फुटबल च्याम्पियनसिप गरेको पोल्यान्डले अहिलेसम्म विन्टर ओलम्पिक आयोजना पनि गर्न पाएको छैन। 

पोल्यान्डका खेलकुदमन्त्री स्लावमिर नित्रासले पेरिस ओलम्पिक आपूmले देखेको र यस किसिमको आयोजना पोल्यान्ड पनि गर्ने लक्ष्यमा हुने उल्लेख गर्दै प्रधानमन्त्रीको समर्थन गरेका छन्। ‘एक आयोजकका रूपमा हामीले पनि ओलम्पिक गर्न सक्छौं। मलाई लाग्छ सम्पूर्ण पोल्यान्डको खेलकुद पनि यो आयोजनाको पर्खाइमा छ,’ उनले भने। 

प्रकाशित: १ भाद्र २०८१ १०:०१ शनिबार

#Donald Tusk #Prime Minister of Poland #Summer Olympics