खेल

रोड्रीबिना सिटीको उपाधिरक्षा यात्रा सुरु

स्पेनिस मिडफिल्डर रोड्रीबिना नै म्यानचेस्टर सिटीले यस सिजन इङ्लिस प्रिमियर लिगको आफ्नो पहिलो खेलमा चेल्सीविरुद्ध खेल्दै उपाधि रक्षाको यात्रा सुरु गर्ने भएको छ।

गत युरो कप २०२४ को फाइनलमा स्पेनले इङ्ल्यान्डविरुद्ध २–१ को जित निकाल्दा २८ वर्षे प्रभावशाली मिडफिल्डर रोड्री पहिलो हाफपछि मैदानबाट बाहिरिनुपरेको थियो। त्यसयता उनी पहिलो पटक मैदान फर्किंदै प्रशिक्षणमा सहभागी भएका छन्।

इङ्ल्यान्डका तीन स्टार फिल फोडेन, जोन स्टोन्स र कायल वाल्कर स्टामफर्डब्रिजमा हुने खेलका लागि सिटीको टोलीमा समावेश भइसकेका छन्। तर, रोड्री भने अहिले समावेश हुन सकेका छैनन्।

शुक्रबार पत्रकार सम्मेलनमा चेल्सीविरुद्ध रोड्री टोलीमा समावेश हुन सक्छन् भन्ने प्रश्नमा सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले ‘सम्भव नै छैन’ भन्दै प्रतिक्रिया दिएका थिए।

‘उनी प्रशिक्षणमा आएका छन्। तर, अहिलेसम्म पनि उनलाई सहज अवस्थामा देखेको छैन। उनले ट्रेनिङपछि कस्तो महसुस गर्छन् त्यो हेर्न बाँकी छ,’ सिटीका प्रशिक्षक ग्वार्डिओलाले भने। सिजनको सुरुआतमा नै रोड्रीको अनुपस्थितिमा सिटीले पाँचौं पटक प्रिमियर लिगको दाबेदारी यात्रा थाल्नेछ।

यसपल्ट सिटी वेस्ट लन्डनमा उपाधिरक्षाका लागि बलियो सुरुआत गर्ने लक्ष्यमा छ। तर, सिजनको सुरुआतमा आफ्नो टोलीलाई फिटनेसको समस्या रहेको प्रशिक्षक ग्वार्डिओलाको भनाइ छ। प्रशिक्षणमा फर्किसकेका फोडेन, स्टोन्स र वाल्कर पनि पूर्ण रूपमा फिट देखिएका छैनन्।

‘उनीहरू ९० मिनेटकै लागि पूर्ण फिट छैनन् भन्नेमा म पूर्ण विश्वस्त छु। सम्भवतः १५ मिनेट पनि,’ ग्वार्डिओलाले भने, तर सबैभन्दा महत्त्वपूर्ण पक्ष ओस्कारबाहेक (बोब) सबै जना टोलीमा फर्किएका छन्।’ बोबले शुक्रबार मात्र सर्जरी गराएका छन्। प्रशिक्षणका क्रममा चोटका कारण उनले सर्जरी गराएका हुन्।

नर्वेका युवा विङ्गर चार महिनाका लागि मैदानबाहिर रहने भएका छन्। ‘दुर्भाग्यवश, उनले चोटको सामना गर्नु ठूलो क्षति हो,’ ग्वार्डिलोलाले भने, ‘उनले आज साँझ नै सर्जर गरेका छन्। उनी छिट्टै ठीक हुन्छन् भन्ने आशा छ।’

कम्तीमा उनी ३/४ महिना टोलीबाहिर रहने र जुन दुखद पक्ष रहेको ग्वार्डिआलाले उल्लेख गरेका छन्। अर्जेन्टिनाका फरवार्ड जुलियन अल्भारेज एटलेटिको मड्रिड गएपछि बोबले उनको स्थान लिने आशा गरिएको थियो। ग्वार्डिओलाले अब ट्रान्सफर मार्केटमा उनको विकल्प खोज्ने प्रयास गरिने उल्लेख गरेका छन्।

‘ट्रान्सफरबाट उनको विकल्प खोज्ने प्रयास हुन पनि सक्छ या नहुने सम्भावना छ,’ उनले भने, ‘टोली राम्रो बनाउने प्रयास हुनेछ।

एकपटक फेरि हेर्नेछु। ट्रान्सफर बजार के हुन्छ एक पटक हेर्नेछु। जनवरीमा त्यसको सदुपयोग गर्न सक्छौं। त्यति बेला केही खेलाडी अनुबन्धित हुन सक्छन्।’  

प्रकाशित: १ भाद्र २०८१ ०९:३९ शनिबार

#Without Rodri #English Premier League #Spanish midfielder