खेल

भलिबलकी ‘आशालाग्दी भविष्य’

खेलकुद

युवा वयमा प्रवेश गर्दै गर्दा सफलताका थुप्रै सिँढी उक्लिसकेकी प्रगति नाथ राष्ट्रिय भलिबल टोलीकी उम्दा खेलाडी हुन्। अग्लो कद र छरितो ज्यानकी उनी भलिबल प्रतियोगिताहरूमा ‘सेटर’को ‘पोजिसन’ कुशलतापूर्वक सम्हाल्छिन्। शान्त स्वभावकी उनी भलिबलमा तन्मयका साथ लाग्दै आएकी छन्। तसर्थ छोटो समयमै लोभलाग्दो प्रगति गर्न उनी सफल भएकी हुन्।

गत वर्ष काठमाडौंमा सम्पन्न काभा वुमन्स नेसन्स लिगमा राष्ट्रिय टोलीमा समावेश भई सेटरका रूपमा प्रगतिले अन्तर्राष्ट्रिय प्रतियोगितामा डेब्यु गरेकी थिइन्। काभा वुमन्सको हालै काठमाडौंमा सम्पन्न अर्को संस्करणमा पनि उनले सेटरकै रूपमा खेल प्रदर्शन गरिन्।

सुरुमा भारतविरुद्ध ऐतिहासिक जित निकालेको नेपाली टोलीले फाइनलमा हार बेहोर्नुपर्दा दुःख त लागेको तर खेलप्रेमीको मन जितेकोमा खुसीको अनुभूति भएको उनी सुनाउँछिन्। आगामी दिनमा देशलाई उत्कृष्ट नतिजा दिलाउन सेटरकै रूपमा दिलोज्यान दिएर खेल्ने लक्ष्य आफूले लिएको उनी बताउँछिन्।

रुकुम पश्चिमदेखि न्यु डाइमन्ड हुँदै राष्ट्रिय टोलीसम्म

भलिबलमा भविष्य चम्काउन सकिने विश्वास जागेपछि पाँच वर्षअघि रुकुम पश्चिमको बाफीकोटबाट काठमाडौं आएकी हुन् प्रगति। उनमा त्यस्तो विश्वास जगाइदिने व्यक्ति थिए, न्यु डाइमन्ड स्पोर्टस् क्लबका प्रशिक्षक कुमार राई अर्थात् नेपाली भलिबल जगत्कै सम्मानित नाम ‘कुमार सर’।

कुमार सरले नहौस्याएका भए भलिबलप्रति प्रगतिमा यस्तो लगाव सायदै देखिन्थ्यो। समयले जुराएको अवसर गुम्न नदिएकै कारण उनी अहिले भलिबलमा जमेर लाग्न सकेकी हुन्।

२०७६ सालको दसैंअघि भलिबल प्रशिक्षण दिन कुमार सर रुकुम पूर्व पुगेका थिए। प्रशिक्षण सकाएर रुकुमकोटबाट काठमाडौं फर्कने तर्खर गरिरहेकै बेला सडक अवरुद्ध भएपछि उनी उतै रोकिए। बस चल्ने कुनै सम्भावना नदेखिएपछि उनी न्यु डाइमन्डमै आबद्ध रुकुम पश्चिमकी ललिता नाथ (प्रगतिका ठुलाबाकी छोरी) को घर गए। सोही क्रममा कुमार सरसँगको भेट प्रगतिका लागि सुन्दर संयोग बनिदियो।

अग्लो उचाइकी प्रगतिमा कुमार सरले भलिबल खेलाडी बन्न सक्ने सम्भावना देखे। उनले प्रगतिलाई भलिबलमा लाग्ने भए काठमाडौं लाने कुरा सुनाए। प्रगति राजी भइन्। छोरीलाई काठमाडौं लगेर भलिबल खेलाडी बनाउने विश्वास कुमार सरले प्रगतिका बुवाआमालाई पनि दिलाए। ललिता पहिल्यै न्यु डाइमन्डसँग जोडिएको हुँदा बुवाआमाले पनि प्रगतिको नयाँ यात्रालाई रोक्न चाहेनन्।

त्यही सालको तिहारलगत्तै काठमाडौं आएकी प्रगतिले न्यु डाइमन्डमा आबद्ध भएर आफूलाई निरन्तर निखारिरहिन्। उनी काठमाडौं आएलगत्तै कोरोना महामारी फैलियो, लकडाउन भयो। छात्रावासमा बस्ने सबैजसो घरघर लागे तर उनी गइनन्। अरूका लागि कोरोना कहर बनेर आए पनि आफ्ना लागि अवसर बनेर आएको प्रगतिको भनाइ छ। ‘त्यतिबेला म बिहानदेखि बेलुकासम्म तालिम लिन्थें,’ उनले भनिन्, ‘त्यतिखेर मेरो सबै समय भलिबलसँगै बित्थ्यो।’

थुप्रै प्रतियोगिता खेलिसकेको अवस्थामा २०७८ भदौमा पोखरामा सम्पन्न मैत्रीपूर्ण प्रतियोगितामा उनले राष्ट्रिय स्तरको खेलमा डेब्यु गरेकी थिइन्। त्यसयता उनले न्यु डाइमन्डका लागि थुप्रै उपाधि दिलाइसकेकी छन्। उनले नेपाल भलिबल संघ (एनभिए) बाट केही समयअघि मात्र उदीयमान खेलाडीको अवार्डसमेत हात पारेकी छन्।

न्यु डाइमन्डले २०७७ मा पाँचौं र २०७९ सालमा छैटौं नेसनल एनभिए क्लब कपको उपाधि जित्दा प्रगतिको प्रदर्शन तारिफयोग्य बन्यो। त्यसैगरी उनले २०७८ सालमा पहिलो दमक कपको उपाधि न्यु डाइमन्डलाई जिताउँदा बेस्ट सेटरको उपाधि पनि हात पारिन्। २०७८ सालमै चितवनमा सम्पन्न लोकबहादुर पुन युथ क्लब च्याम्पियनसिप जिताउन पनि उनले कम्ती मिहिनेत गरिनन्। घरेलु भलिबलमा राम्रो प्रदर्शन गर्दै आएकै कारण उनी राष्ट्रिय टोलीमा पर्दै आएकी हुन्।

आफूलाई यो उचाइमा ल्याइपु¥याउने न्यु डाइमन्डका लागि प्रगति अझै धेरै योगदान दिन चाहन्छिन्। ‘मलाई नयाँ परिचय दिने न्यु डाइमन्डलाई धेरै उपाधि दिलाउनु छ,’ उनले भनिन्। न्यु डाइमन्ड छाडेर अन्यत्र नजाने दृढता उनले व्यक्त गरिन्।

‘सेटरका रूपमा प्रगति उपयुक्त’

खेल जित्दा पनि खासै चर्चा नपाइने हार्दा पनि अपजसको भागीदार बन्नुपर्ने पोजिसनका रूपमा सेटरलाई लिइन्छ। खालि स्पाइकरलाई बल मिलाउने मात्र नभएर परेका बखत स्पाइक नै गर्नुपर्ने, ब्लकका लागि उफ्रिरहनुपर्ने हुँदा सेटर बढी उचाइको हुनुपर्ने अपेक्षा राखिन्छ। त्यसकारण पनि प्रगतिलाई सेटरमा स्थापित गर्न आफू लागिपरेको कुमार सर सुनाउँछन्।

शान्त स्वभाव भएका कारण पनि सेटरका लागि प्रगति उपयुक्त भएको उनको ठम्याइ छ। ‘सेटर शान्त स्वभावको हुनुपर्छ। त्यस्तो स्वभाव प्रगति नाथमा छ,’ उनी भन्छन्, ‘रिसाउने, झर्किने, आत्तिने मान्छे राम्रो सेटर बन्न सक्दैन। त्यस्तो सेटरले आफ्नो मात्र नभएर अरूको पनि खेल बिगार्छ।’

कहिलेकाहीँ राम्रो बल मिलाउँदामिलाउँदै स्पाइकरले प्रहार गर्न नसक्दा त्यसको दोष सेटरमाथि थोपरिने देखिएको उनी बताउँछन्। भविष्यमा नेपाली महिला भलिबल टिममा नसमेटी नहुने सेटर प्रगति बन्न सक्नेमा कुमार सर विश्वस्त देखिन्छन्।

भविष्यमा राष्ट्रिय महिला भलिबलको ‘सेटर’ पोजिसन धान्ने सम्भावित खेलाडीका रूपमा हेरिएकी प्रगति कठोर मिहिनेत गरेर आफूलाई निखार्ने, देशका लागि खेल्ने, अन्तर्राष्ट्रिय जगत्मा देशको नाम चम्काउने हुटहुटी आफूमा कायम रहेको बताउँछिन्।

चुनौतीपूर्ण पोजिसन भए पनि आफू सेटरकै रूपमा स्थापित हुन लागिपरेकोे उनको भनाइ छ। ‘सुरुदेखि नै सेटरमै खेल्दै आएकी छु, यसैलाई निरन्तरता दिन्छु,’ उनी भन्छिन्।

पढाइ पनि प्राथमिकतामा

कक्षा ७ मा भर्ना भई न्यु डाइमन्ड एकेडेमीबाटै एसइई गरेकी उनी अहिले बाफलस्थित ग्रिनफिल्ड नेसनल स्कुल कक्षा १२ मा पढ्छिन्। जति कठिनाइ आए पनि पढाइ नरोक्ने अठोट उनले लिएकी छन्। ‘खेलसँगै पढाइ व्यवस्थापन गर्न गाह्रो छ तर हार मानेकी छैन,’ उनी भन्छिन्, ‘प्रतियोगिताहरू भइरहन्छन्। चोटपटक लागिरहन्छ। नियमित तालिम गर्नुपर्छ। यसले गर्दा पढाइ सम्हाल्न अप्ठ्यारो त हुन्छ तर भविष्य सम्झेर पनि आफूलाई पढाइमा अभिप्रेरत गरिरहेकी छु।’

ग्रिनफिल्डका प्राचार्य खडकबहादुर बस्नेत पनि उनलाई खेल र पढाइ सँगसँगै लान सुझाउँछन्। खेलमा राम्रा गरिरहेकाहरू अनुशासित र मिहिनेती हुने भएकाले पढाइमा पनि अब्बल हुने र प्रगति नाथ पनि त्यस्तै कित्तामा पर्ने जानकारी दिए।

‘विगतमा प्रतिभा माली, कृपा अधिकारीलगायतले पनि यही स्कुलमा पढ्नुभयो। उहाँहरूजस्तै प्रगति पनि पढाइमा अब्बल हुनुहुन्छ ।’ प्रगतिबाट अरू विद्यार्थीलाई पनि प्रेरणा मिल्ने गरेको उनको भनाइ छ।

सुरुमा रुकुम पश्चिमलाई चिनाएकी छोरीले अहिले देशलाई नै चिनाउने दिशातिर गएकोप्रति प्रगतिका बाबु वीरजित नाथलाई खुबै गर्व लाग्छ। उनी खेलमा हुने हारजितलाई स्वाभाविक रूपमा लिनुपर्ने बताउँछन्।

‘हार्दा आत्तिने र जित्दा मात्तिने गर्नुहुन्न भनेर छोरीलाई सम्झाउने गर्छु,’ उनी भन्छन्। छोरीले पढाइलाई पनि प्राथमिकता दिइरहेकोमा उनी खुसी छन्। ‘उमेर ढल्केसँगै खेलजीवन पनि सेलाउँछ तर पढाइले जिन्दगीभरि साथ दिन्छ भन्ने मलाई लाग्छ,’ वीरजित भन्छन्।

प्रगतिलाई अगाडि बढ्न प्रोत्साहित गर्ने न्यु डाइमन्ड, कुमार सरलगायत सबै धन्यवादका लागि हकदार रहेको उनले सुनाए।

प्रकाशित: १ भाद्र २०८१ ०६:५१ शनिबार

#Volleyball's "hopeful future" #A good player of the volleyball team