खेल

राखेप र एन्फाबीच दशरथ रङ्गशालाको मैदान स्तरोन्नतिका लागि छलफल

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य–सचिव टंकलाल घिसिङ र अखिल नेपाल फुटबल संघका अध्यक्ष पङ्कजविक्रम नेम्वाङबीच दशरथ रङ्गशालाको मैदान स्तरोन्नतिका विषयमा विहिबार  छलफल भएको छ। मैदान स्तरोन्नतिका लागि लाग्ने समय, बजेट लगायतका विषयमा दुई पक्षबिच त्रिपुरेश्वरस्थित राखेपमा प्रारम्भिक छलफल भएको हो।

सो अवसरमा सदस्य–सचिव घिसिङले मैदानको स्तरोन्नति गर्न लाग्ने समय सीमा, बजेटलगायतका विषयमा चासो व्यक्त गर्दै सो कार्यका लागि दुवै पक्ष गम्भीर भएर पहल गर्नु पर्नेमा जोड दिए।

‘दशरथ रङ्गशालाको मैदान स्तरोन्नति गर्न कति समय लाग्छ ? कति बजेट लाग्छ ? प्रारम्भिक खाका तयार गरी पेस गर्नु होला ।’ सदस्य–सचिव घिसिङले चासो व्यक्त गर्दै भने– ‘समय सीमा तोकेर प्रारम्भिक खाका तयार गर्नु होला । त्यसपछि राखेप र एन्फा मिलेर मैदान स्तरोन्नतिका लागि गम्भीर भएर पहल गर्नु आवश्यक छ । बजेटका कारण कुनै पनि हालतमा रोकिनु हुँदैन ।’

यो विषयमा राखेपले आइतबारै एन्फालाई पत्राचार पनि गरिसकेको छ।अध्यक्ष नेम्वाङले मैदानलाई अन्तर्राष्ट्रिय मापदण्ड पुग्ने गरी गरी स्तर वृद्धि गर्नका लागि परामर्शदाताबाट सुझाव लिएर मैदान स्तरोन्नति गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित: ३१ श्रावण २०८१ २०:२६ बिहीबार

#All Nepal Football Association (ANFA) #Dasharath Stadium #National Sports Council (NSC) #Member-Secretary Ghising #President Pankaj Bikram Nemwang