खेल

प्रिमियर लिग: नयाँ सिजनमा क्लबलाई चुनौती

प्रिमियर लिग उपाधिमा म्यानचेस्टर सिटीको अभूतपूर्व पकड चार वर्ष पुगेको छ, तर नयाँ सिजनमा इङ्लिस च्याम्पियनलाई मैदान बाहिर शंकाले घरेको छ। पेप ग्वार्डिओलाको सिटीले पछिल्ला सात सिजनमध्ये ६ वटा प्रिमियर लिगको उपाधि जित्दै दबदबा बनाएको छ। ग्वार्डिओलाको यो सिजन करार सम्झौता सकिँदै छ। इतियाद स्टेडियममा करिब दशक पूरा हुन लागेपछि उनी आफ्नो करार सम्झौता अवधि बढाउने पक्षमा छैनन्।

 ‘यो क्लबमा ९ वर्ष बिताइसकेको छु,’ प्री सिजनमा ग्वार्डिओलाले भने, ‘मेरा लागि क्लब छाड्ने यो नै उचित समय हो भन्न चाहन्छु। यो मेरा लागि मात्र होइन । क्लब र खेलाडीका लागि पनि उचित समय हो।’ उनको यो अभिव्यक्तिमा सिटीको उपाधि रक्षामा अर्को धमिलो बादल मडारिएको अनुमान गर्न सकिन्छ। यो वर्ष सिटीको उपाधि रक्षामा अर्को एउटा संकटा पनि देखा परेको छ। 

प्रिमियर लिगमा वित्तीय नियम उलंघनको सुनुवाई यसै वर्षको अन्त्यमा हुँदै छ । यद्यपि, सिटीले यी आरोप अस्वीकार गर्दै आएको छ। यी आरोपमध्ये केही सन् २००९ को पनि छ। तर, ती आरोप प्रमाणित भएमा क्लबमाथि कयौं प्रतिबन्ध लाग्न सक्छ। एभर्टन र नटिङ्घम फरेस्टले पनि नाफा तथा स्थायित्वको नियम उल्लंघन गरेकाले गत सिजन अंकमा कटौती सामना गर्नुपरेको थियो। लेस्टरले पनि यस सिजन यसै किसिमको चुनौती सामना गर्न सक्छ।

युरोपियन च्याम्पियनसिप र कोपा अमेरिकाले पनि समरको ट्रान्सफर विन्डोमा प्रिमियर लिगका क्लबले असामान्य रूपमा ढिलो सुरु गरेको आरोप लगाएका थिए। सिटीले यस पटक ब्राजिलियन विंगर साभिन्होलाई मात्र अनुबन्धित गरेको छ। जुलियन अल्भारेजलाई एट्लेटिकोमा बेचेपछि सिटीले त्यो स्थान पूरा गरेको हो। सिटीका लागि आर्सनल सबैभन्दा ठूलो चुनौतीका रूपमा हेरिएको छ। पछिल्ला दुई सिजनमा लिगको दोस्रो स्थानमा रहेको आर्सनलले सिटीलाई दुवै पटक चुनौती दिएको थियो।

मिकेल आर्टेटाको टोली आर्सनलले गत सिजन ८९ अंक बटुल्ने क्रममा सन् २००३/४ को सिजनपछि लिगमा अपराजित रहेको इतिहास पनि दोहोर्‍याएको थियो। आर्सनलले यस सिजन इटालियन डिफेन्डर रिकार्डो कालाफिओरीलाई अनुबन्धित गर्दै आफ्नो रक्षापंक्तिमा थप सुधार गरेको छ। 

यसले आर्सनललाई यस सिजन पनि दाबेदारको रूपमा खडा गर्न सक्नेछ। आर्टेटाको टोली गत सिजन सबैभन्दा युवाले भरिएको तेस्रो क्लब बनेको थियो। विलियम सालिबा, बुकायो साका र गाब्रियल मार्टिनेलीजस्ता युवा आफ्नो करियरको सुरुआती चरणमा रहेकाले त्यसको फाइदा आर्सनलले पाएको छ।  

‘आर्सनले गत सिजन हाम्रै जस्तो खेलेको थियो,’ ग्वार्डिओलाले भने,‘उनीहरू उत्कृष्ट थिए र हरेक वर्ष उनीहरू झन् कठिन प्रतिद्वन्द्वी बनिरहेका छन् ।’ लिभरपुल पनि गत सिजन सिटी र आर्सनलको निकट प्रतिद्वन्द्वीका रूपमा रह्यो। डच प्रशिक्षक आर्ने स्लटलाई योर्गान क्लोपले लिभरपुललाई आफ्नो करियरका दौरान दिलाएको सफलता (च्याम्पियन्स लिग र प्रिमियर लिग उपाधि) दोहोर्‍याउन चुनौती पनि बन्नेछ। फेएनोर्डका पूर्वप्रशिक्षक आर्नेले प्रिसिजनमा लिभरपुललाई केही सफलता दिलाउँदै सुखद संकेत गरेका छन्।

यस क्रममा लिभरपुलले आर्सनल, म्यानचेस्टर युनाइटेड र सेभियासँगको मैत्रीपूर्ण खेलमा जित निकालेको थियो। यता, म्यानचेस्टर युनाइटेडका प्रशिक्षक एरिक टेन हागले गत सिजन लिगको खराब प्रदर्शन गरे पनि आफ्नो पद जोगाएका छन्। युनाइटेडले आठौं स्थानमा रहेर लिग टुङ्ग्यााएको थियो। तर, गत सिजन एफए कपको फाइनलमा म्यानचेस्टर सिटीलाई हराएपछि उनको पद सुरक्षित भएको पनि मान्न सकिन्छ।

यता, नयाँ व्यवस्थापनमा रहेको चेल्सीमा इन्जो मारेस्का छन् । उनले ५० जना खेलाडी टोलीमा समावेश गर्दै युवा टोली निर्माणमा ध्यान दिएको प्रस्टै छ। गत सिजन शीर्ष चारमा अटाउन असफल न्युक्यासल र टोटेनहमलाई पनि बलियो प्रतिद्वन्द्वीका रूपमा हेरिएको छ । सन् १९८२/८३ पछि पहिलो पटक च्याम्पियन्स लिगमा स्थान बनाएको एस्टन भिल्लाले पनि यस सिजन आफूलाई बलियो टोलीका रूपमा उभ्याउन सक्नेछ।  

प्रकाशित: ३० श्रावण २०८१ ०९:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App