खेल

एएफसी च्यालेन्ज लिग: होन्डाको प्रतिक्रियाले ल्याएको तरंग

एएफसी च्यालेन्ज लिग प्लेअफमा मंगलबार नेपालको लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड र भुटानी च्याम्पियन पारो एफसीबीच बहुप्रतीक्षित प्रतिस्पर्धा हुँदै छ।

पारो र चर्च ब्वाइज मंगलबार दशरथ रंगशालामा साँझ ६ बजे भिड्दै छन्। दुईबीच प्रतिस्पर्धाअगावै नेपाली खेलकुदमा कैयन चासो र चिन्ता बढेको छ। दशरथ रंगशालाले अन्तर्राष्ट्रिय मान्यता गुमाउँदा नेपालले विश्वकप छनोट चरणका दुई खेल नै गुमाउनुपरेको थियो। लामो समयपछि दशरथ रंगशालामा अन्तर्राष्ट्रिय प्रतिस्पर्धा फर्किंदै छ। यो नेपाली फुटबल समर्थकका लागि विशेष हो। सँगै चिन्ता पनि छ। पारो र चर्च ब्वाइजबीचको खेल अन्य कारणले पनि चर्चामा छ। अहिले पारोमा जापानी स्टार केइसुके होन्डा छन्।

उनी तीन पटक विश्वकप खेलिसकेका अनुभवी खेलाडी हुन्। ३८ वर्षे स्टार होन्डा च्यालेन्ज लिग प्लेअफकै लागि भुटानी क्लबमा जोडिएकाले यो प्रतिस्पर्धाभन्दा बढी उनको चर्चा छ। खेलअघि पारोले भद्रकालीस्थित आर्मी मैदानमा प्रशिक्षण गरेको थियो। वर्षाका कारण मैदान भिजेपछि त्यहाँ प्रशिक्षण गर्दा विश्वस्तरीय फुटबलर होन्डाले धेरै प्रश्न उठाए। युरोपेली फुटबल क्लब एसी मिलानलगायत सुविधासम्पन्न मैदानमा खेलिसकेका होन्डाले प्रश्न उठाउनु स्वाभाविक हो। सामाजिक सञ्जालमा उनले करियरकै खराब मैदान भनेपछि दिनभर त्यो चर्चाको विषय बन्यो।

पारोका प्रशिक्षक पुष्पलाल शर्माले पनि सोमबार प्रि–म्याच कन्फरेन्समा मैदानको स्तरबारे प्रश्न उठाए। यसैमा चित्त बुझाउनुको विकल्प नभएकाले भन्दै उनले सहनाभूति पनि प्रकट गरे। त्यसो त गत सिजनमा मच्छिन्द्र फुटबल क्लबसँग पराजित हुँदा पनि उनले हारको कारण खराब मैदान रहेको उल्लेख गरेका थिए। नेपालको एक मात्र अन्तर्राष्ट्रिय रंगशालाको स्तरबारे यसपल्ट मात्र प्रश्न उठेको होइन। यसअघि नै प्रश्न उठेपछि विश्वकप छनोट चरणमा संयुक्त अरब इमिरेट्स (युएई) र बहराइनसँगको ‘होम म्याच’ नै हुन सकेन।  

मंगलबार खेलका दौरान पनि त्यो प्रश्न उठ्न सक्ने आकलन गरिएको छ। यसै पनि एएफसीले अस्थायी रूपमा रंगशालाको मान्यता फिर्ता गराएको हो। यस्तो स्थितिमा होन्डाजस्ता विश्वस्तरीय खेलाडीले फेरि यो विषय उठान गरे नेपालका लागि ठूलो खतरा बढ्न सक्छ। स्थायी रूपमा नै नेपालको एक मात्र अन्तर्राष्ट्रिय रंगशाला गुम्न सक्छ। देशभित्र अन्तर्राष्ट्रिय प्रतिस्पर्धा हेर्ने नेपाली समर्थकको इच्छामा फेरि तुषारापात हुन सक्छ। त्यसैले चर्च ब्वाइज र पारोबीचको नतिजासँगै रंगशालाको स्तरबारे उठ्न सक्ने प्रश्न नेपाली खेलकुद निकाय, अखिल नेपाल फुटबल संघ (एन्फा) र नेपाली समर्थकका लागि चिन्ताको विषय हो।

होन्डा एक समय एसियाकै आइकोनिक स्टार हुन्। युरोपमा उनको प्रदर्शनप्रति पूरै एसियाले नै गर्व गर्दथ्यो। उनै होन्डा खेलाडी करियर टुङ्ग्याएपछि पनि खेलाडीका रूपमा फर्किएका छन्। भुटानको फुटबल विकासमा काम गर्न आइपुगेका होन्डा नेपाली भूमिमा खेल्नु संयोग मात्र हो। तर, यति ठूलो स्टार नेपालमा आउँदा फुटबलप्रेमी समर्थकका लागि विशेष नै छ। त्यसैले पनि मंगलबार चर्च ब्वाइजको प्रदर्शनसँगै नेपाली समर्थकका लागि होन्डाको सुन्दर फुटबल कौशलको प्रतीक्षा पनि हुनेछ। उनको आगमनले पारोको समग्र टोलीलाई नै प्रेरणा मिलेको छ। यसले टोलीको प्रदर्शन पनि सुधार हुने दुई मत छैन।

यस्तोमा चर्च ब्वाइजका लागि पनि पारो कठिन प्रतिद्वन्द्वी बन्न सक्छ। तर, चर्च ब्वाइजका कप्तान अनन्त तामाङले विपक्षी टोलीमा जस्तोसुकै नाम भएको खेलाडी भए पनि आफ्नो टोलीप्रति पूर्ण विश्वास रहेको उल्लेख गरे। उनको संकेत होन्डालगायत पारोमा रहेका ११ विदेशी खेलाडीप्रति हो। यी टोलीविरुद्ध पनि आफ्नो टोलीले राम्रो खेल्ने उनको विश्वास छ। यस क्रममा अनन्तले नेपाली खेलाडीको क्षमताप्रति बलियो विश्वास पनि देखाए। चर्च ब्वाइजका प्रशिक्षक बालगोपाल महर्जनले पनि खेलाडीले आफ्नो क्षमता र रणनीतिअनुरूप खेल्न सके घरेलु समर्थकलाई सुखद नतिजा दिन सक्षम हुने उल्लेख गरे।

कप्तान र प्रशिक्षकले भनेजस्तै चर्च ब्वाइजमा क्षमता पनि छ। किनकि यसमा अधिकांश राष्ट्रिय टोलीका सदस्य छन्। त्यस कारण चर्च ब्वाइजले भुटानी प्रतिद्वन्द्वीसँग खेल्दा नेपाली राष्ट्रिय टोलीको झल्को पनि दिनेछ। पारोका प्रशिक्षक शर्माले पनि चर्च ब्वाइजलाई नेपालको राष्ट्रिय टोलीजस्तै रहेको उल्लेख गरेका थिए। उनले भनेजस्तै प्रदर्शन गर्न चर्च ब्वाइजका लागि चुनौती बन्नेछ। राष्ट्रिय टोलीका सदस्य रहेकाले टिम कम्बिनेसन राम्रो हुनेछ। साथै खेलाडीलाई एकअर्काका बारेमा राम्रोसँग बुझ्ने सजिलो भएको छ।

‘राष्ट्रिय टोलीबाट सँगै खेलेका खेलाडीबीच तालमेल मिलेको छ। खेलमा पनि सकारात्मक प्रभाव ल्याएको छ,’ प्रशिक्षक महर्जनले भने। चर्च ब्वाइजले यो प्रतिस्पर्धाको तयारी करिब एक महिनादेखि गरेको हो। यता, पारोको पनि टिम कम्बिनेसन राम्रै रहेको अनुमान गर्न सकिन्छ। अहिले भुटानमा लिग चलिरहेको छ। लिगमा पारो शीर्ष स्थानमा छ। उनीहरूबीच राम्रो तालमेल पनि मिलेको अनुमान लगाउन सकिन्छ। पारोले जापानका पाँच खेलाडी, युरोप र केही अफ्रिकन खेलाडीलाई भिœयाउँदै टोली थप बलियो बनाएको छ।

यसपल्ट एएफसीले विदेशी खेलाडी अनुबन्धन खुकुलो गर्‍यो। त्यसको फाइदा लिँदै पारोले ११ विदेशी खेलाडी अनुबन्धन गरेको हो। चर्च ब्वाइजका प्रशिक्षक महर्जनले भने लगानी धेरै गर्न नसक्ने क्लबका लागि यो नियम कठिनाइ हुने उल्लेख गरे। तर पनि पारोमा विदेशी खेलाडीबीच त्यति राम्रो तालमेल मिल्न नसकेको उनको बुझाइ छ। पत्रकार सम्मेलनमा पारो एफसीका प्रशिक्षक पुष्पलाल शर्माले तयारीसँगै नेपाली फुटबलको व्यवस्थापनबारे पनि प्रश्न उठाए। अफिसियल मैदानमा प्रशिक्षण गर्ने स्थान राम्रो पाउने नसकेपछि उनी रुष्ट भएका हुन्। उनको चिन्ता मंगलबार खेलका क्रममा हुन सक्ने मैदानको अवस्थाप्रति पनि छ।

रातभर ठूलो वर्षा भएमा मैदानमा त्यसको असर पर्ने दुईमत छैन। यस्तो स्थितिमा होन्डासँगै प्रशिक्षक शर्माले हार भएमा ठूलो प्रश्न खडा गर्नेछन् । पारोले आर्मीको फुटबल मैदान अयोग्य रहेको उल्लेख गरेपछि उसलाई दशरथ रंगशालामा नै प्रशिक्षण गर्ने अवसर दिइएको थियो। यसले गर्दा चर्च ब्वाइजले खेल हुने स्थान रंगशालामा दुई सेसन प्रशिक्षण गर्ने अवसर गुमाउन पुग्यो। त्यसले गर्दा आफ्नो टोलीलाई केही घाटा भएको प्रशिक्षक महर्जनको बुझाइ छ। तर, कप्तान अनन्तले भने दशरथ रंगशालामा लामो समयदेखि खेल्दै आएकाले त्यहाँ प्रशिक्षण गर्न नपाए पनि केही फरक नपर्ने प्रतिक्रिया दिए।

आफ्नो योजना र रणनीतिअनुरूप खेले जुनसुकै मैदानको तयारीले पनि राम्रो नतिजा ल्याउनेमा उनी विश्वस्त छन्। पारोका प्रशिक्षक शर्माले मच्छिन्द्रसँग नतिजा सुखद नभए पनि यसपल्ट आफ्नो टोली बलियो रहेको र चर्च ब्वाइजविरुद्ध फरक प्रदर्शन गर्ने दाबी गरेका छन्। ‘नेपाल हाम्रो छिमेकी हो। हरेक खेलाडीबारे राम्रोसँग जानकार छौं र चर्च ब्वाइजबारे पनि राम्रो जानकारी नै छ,’ उनले भने, ‘तर चर्च ब्वाइजमा सबै राष्ट्रिय टोलीका खेलाडी छन्। त्यसैले कुनै गल्ती गर्ने छैनौं।’ नेपालमा पछिल्लो समय लिग हुन सकेको छैन। त्यसको फाइदा लिने पारोका प्रशिक्षक शर्माको योजना छ।

पारोको कप्तान किन्ले वाङ्चुकले पछिल्लो नेपाल भ्रमण सुखद नरहे पनि यसपल्ट राम्रो नतिजा ल्याउने विश्वास व्यक्त गरे। त्यसका लागि आफ्नो टोलीले राम्रो तयारी पनि गरेको उनको भनाइ थियो। पारो प्लेअफ खेल्न गत शनिबार नेपाल आइपुगेको हो। यसबीच पाहुना टोलीले नेपालको मौसमअनुरूप प्रशिक्षण गर्न पनि पाएको छ। अघिल्लो सिजन मच्छिन्द्रले पारोलाई हराउँदै दोस्रो चरणको यात्रा तय गरेको थियो। तर, दोस्रो चरणमा मच्छिन्द्र भारतीय क्लब मोहन बगानसँग पराजित हुन पुग्यो। मच्छिन्द्रले पहिलो चरणमा पाएको सफलता जोगाइराख्न चर्च ब्वाइजका लागि चुनौती हो।

च्यालेन्ज लिग प्लेअफमा चार देशका लिग च्याम्पियनले खेल्दै छन्। अर्को प्रतिस्पर्धा किर्गिस्तानको लिग च्याम्पियन अब्दिस एटा कान्ट र अफगानिस्तानी लिग च्याम्पियन अट्याक इनर्जीबीच हुनेछ। दुई विजेताले अघिल्लो चरणको यात्रा तय गर्नेछन् । दोस्रो चरणमा पुगेमा चर्च ब्वाइजको सफलताको कथामा नयाँ अध्याय पनि जोडिनेछ। सन् २०२१ मा मात्रै ‘सी’ डिभिजन खेलेको चर्च ब्वाइज लगातार ‘बी’ र ‘ए’ डिभिजन च्याम्पियन बनेको हो। च्यालेन्ज लिग प्लेअफमा पनि जितले चर्च ब्वाइजका लागि अर्को इतिहास थपिनेछ।

प्रकाशित: २९ श्रावण २०८१ १०:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App