खेल

आइसिसी क्रिकेट विश्वकप लिग–२ को तयारीका लागि नेपाली टोली भारतमा

वर्षाले प्रशिक्षण प्रभावित गरेपछि नेपाली राष्ट्रिय क्रिकेट टोली आइसिसी क्रिकेट विश्वकप लिग–२ को थप तयारी गर्न भारत प्रस्थान गरेको छ। घरेलु मैदानमा एक हप्ता फिटनेस प्रशिक्षण गरेर टोली सोमबार बिहान त्यसतर्फ प्रस्थान गरेको हो।

नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्बी लामाका अनुसार बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया (बिसिसिआई)को औपचारिक निमन्त्रणमा टोली भारत गएको हो। टोलीले बैङ्लोरस्थित बिसिसिआईको नेसनल क्रिकेट एकेडेमी (एनसिए) मा प्रशिक्षण गर्नेछ। ‘नेपालमा वर्षाको समय छ, त्यसैले असर गर्ने देख्यौं। बिसिसिआईको निमन्त्रणा आएपछि हामीले टोलीलाई भारतमा प्रशिक्षण गर्न पठाएका हौं। त्यहाँ टोलीले इन्डोर र आउट डोर दुवैमा प्रशिक्षण गर्न पाउनेछन्,’ उनले भने।

टोलीले बैङ्लोरमा दुई हप्ता प्रशिक्षण मात्रै गर्नेछ। यो प्रशिक्षणले खेलाडीको प्राविधिक पक्षहरूमा योजना बनाउन केन्द्रित रहने उनको भनाइ छ। आगामी सेप्टेम्बरमा क्यानडामा नेपालले आयोजकसँगै ओमानसँग त्रिकोणत्मक शृंखला खेल्दै छ। यो लिग–२ मा नेपालको यो दोस्रो शृंखला हो। यसअघि नेपालले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नामिबिया र नेदरल्यान्ड्ससँग शृंखला खेलेको थियो। नामिबियासँग नेपाल चार र दुई विकेटले पराजित भएको थियो। यस्तै, नेदरल्यान्ड्ससँग पहिलो खेल नौ विकेटले जितेको नेपालले दोस्रो खेल भने आठ विकेटले गुमाएको थियो। उक्त टोलीमा रहेका अधिकांश खेलाडीलाई समेटेर क्यानले २२ जनालाई बन्द प्रशिक्षणमा राखेको छ। तर, सोमबार १७ खेलाडी मात्रै बैङ्लोर प्रस्थान गरेका थिए। अलराउन्डर गुलसनकुमार झा र ब्याटर देव खनाल भने भारतमै प्रशिक्षण गरिरहेका छन्। उनीहरू उतैबाट सोमबार एनसिसी पुगेका छन्। मुख्य प्रशिक्षक मोन्टी देसाई पनि टोलीलाई प्रशिक्षण दिन अमेरिकाबाट फर्किएका छन्। तीव्र गतिका बलरद्वय सोमपाल कामी र करण केसी पनि भारतमा प्रशिक्षण गर्न गएका थिए। उनीहरू भने एक साताअघि नेपाल फर्किएर बन्द प्रशिक्षणमा सहभागी भएका थिए।

कप्तान रोहितकुमार पौडेल, अलराउन्डर दिपेन्द्रसिंह ऐरी र लेग स्पिनर सन्दीप लामिछाने भने ग्लोबल ट्वान्टी–२० लिग खेल्न क्यानडामा थिए। दीपेन्द्र र सन्दीप आबद्ध भ्यानकुभर नाइट्स लिगचरणबाटै बाहिरिएको थियो। रोहित आबद्ध टोरन्टो नेसनलले भने सोमबार मन्ट्रियल टाइगर्सलाई आठ विकेटले पराजित गर्दै उपाधि जितेको थियो। सन्दीपले भने सम्भवतः क्यानडामै रहेर प्रशिक्षण गर्ने लामाले जानकारी दिए। रोहित र दीपेन्द्रले म्याक्स ६० क्यारेवियन ट्वान्टी–१० लिगमा सहभागिता जनाउनेछन् । यो लिग अगस्ट १८–२५ सम्म हुनेछ। रोहित मियामी लायन्स र दीपेन्द्र ग्रान्ड केम्यान स्टिन्ग्रेजमा आबद्ध भएका थिए। वेस्ट इन्डिजमा हुने यो लिग खेलेर उनीहरू क्यानडा नै फर्किनेछन्।

प्रवक्ता लामाका अनुसार लिग–२ भन्दा अगाडि नेपाली टोलीले तयारीका लागि शृंखला खेल्ने या नखेल्ने भन्ने कुनै निर्णय भइसकेको छैन। ‘अहिले हामी प्रशिक्षणमै केन्द्रित छौं। अभ्यास खेल खेल्ने या नखेल्ने भन्नेबारे निर्णय गर्न बाँकी छ। नेपालमा खेल्ने, श्रीलंका या भारतमा कहाँ खेल्ने भन्नेबारे योजनामा मात्रै छौं,’ उनले भने। यसअघि नेपालले एसिसी मेन्स प्रिमियर कपको तयारी गुजरातको वापीमा गरेको थियो। त्यतिखेर गुजरात क्रिकेट एसोसिएसन र बरोडा क्रिकेट एसोसिएसनसँग नेपालले एसएमएस फ्रेन्डसिप कप ट्वान्टी–२० प्रतियोगिता पनि खेलेको थियो।

प्रकाशित: २९ श्रावण २०८१ ०६:४० मंगलबार

#kushal bhurtel #anil sah #kamalsingh airee #karan KC #Nepali Cricket