खेल

एएफसी च्यालेन्ज लिग प्लेअफ :चर्च ब्वाइजलाई उत्कृष्ट चुनौती दिनेछौं– पारो एफसी

भुटानी लिग च्याम्पियन पारो एफसीका प्रशिक्षक पुष्पलाल शर्माले अनुभवी खेलाडी सम्मिलित आफ्नो टोलीले यसपल्ट राम्रो तयारी गरेकाले एएफसी च्यालेन्ज लिगको प्लेअफमा सुखद प्रदर्शन गर्ने बताएका छन् ।

पारोले आगामी साउन २९ गते दशरथ रङ्गशालामा नेपालको लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड विरुद्ध चुनौती प्रस्तुत गर्दै छ । उक्त प्लेअफ खेल्न पारो एफसी शनिबार नै नेपाल आइपुगेको छ । त्रिभुवन विमानस्थलमा पत्रकारसँगको कुराकानीमा पारोका प्रशिक्षक शर्माले मच्छिन्द्र फुटबल क्लबसँग भएको पछिल्लो खेलको तुलनामा उत्कृष्ट प्रदर्शन गर्ने आशा व्यक्त गरेका छन् ।

गत संस्करण एएफसी कपको प्रारम्भिक चरणको खेलमा पारो मच्छिन्द्रसँग ३–२ ले पराजित भएको थियो । ‘यसपल्ट राष्ट्रिय टोलीका राम्रा र क्षमतावान् खेलाडी छन् ।जापानिज स्टार केइसुके होन्डासहित उत्कृष्ट विदेशी खेलाडी अनुबन्धित गरेका छौं र टोली बलियो बनेको छ,’प्रशिक्षक शर्माले भने, ‘यसपल्ट तुलनात्मक रूपमा बलियो प्रदर्शन गर्छौं ।’

होन्डा तीन पटक विश्वकप खेलिसकेका अनुभवी खेलाडी हुन् । उनी पछिल्ला केही वर्ष कम्बोडियाको प्रशिक्षकसमेत बनेका थिए । तर, एएफसी च्यालेन्ज लिगको प्लेअफ खेल्न उनी पारोमा जोडिएका हुन् । उनको आगमनले अन्य खेलाडीलाई पनि प्रोत्साहन मिलेको प्रशिक्षक शर्मा बताउँछन्।

प्राविधिक रूपमा पनि होन्डाले टोलीलाई मजबुत बनाएको पारोका प्रशिक्षक शर्मा र कप्तान किन्ले वाङचुकेको विश्वास छ। दशरथ रङ्गशालाले अन्तर्राष्ट्रिय मान्यता नपाउँदा पछिल्ला केही अन्तर्राष्ट्रिय खेल घरेलु मैदानमा हुन सकेका थिएन।अस्थायी रूपमा अन्तर्राष्ट्रिय मान्यता पाएसँगै दशरथ रङ्गशालामा पहिलो पटक अन्तर्राष्ट्रिय प्रतिस्पर्धा हुन लागेको हो।

यद्यपि, उक्त मैदानमा खेल्न सहज नहुने कप्तान वाङचुकको भनाइ छ । प्रशिक्षक शर्मा पनि पछिल्लो भेटमा उक्त मैदानमा खेल्न आफ्नो टोलीका लागि कठिन बनेको उल्लेख गर्छन् ।  ‘हामी भुटान टर्फमा खेल्छौ । त्यसैले पछिल्लो त्यहाँ खेल्न गाह्रो भएको थियो । अहिले ग्राउन्डको कन्डिसन अनुसार तयारी गरेका छौं,’प्रशिक्षकले भने । आफ्नो प्रतिद्वन्द्वी चर्च ब्वाइजका बारेमा राम्रो जानकारी रहेको पनि उनको भनाइ छ । ‘चर्च ब्वाइजमा अधिकांश नेपालका राष्ट्रिय खेलाडी छन् । तीनमध्ये दुई विदेशी खेलाडीबारे पनि जानकार नै छु,’ प्रशिक्षकले भने । 

पारोका कप्तान वाङचुकले पछिल्लो नेपाल भ्रमण सुखद नभए पनि यसपल्ट टोली सकारात्मक लक्ष्यसहित आएको बताए । ‘अहिले भुटानमा लिग खेलेर आएका छौं । त्यसैले टोली सेट भएको र सन्तुलित पनि छ । होन्डाको आगमनले टोलीमा उत्प्रेरणा मिलेको छ । तयारी पनि राम्रो भएकाले यसपल्ट जित्ने विश्वासमा छौं,’उनले भने । टोली निर्माणमा क्लबले धेरै लगानी गरेकाले केही दबाबमा पनि हुने उनले उल्लेख गरे । यद्यपि, कप्तान किन्ले आफ्नो टोली कृत्रिम टर्फमा खेलेको र दशरथ रङ्गशालामा १/२ दिनको तयारीमा घुलमिल हुन कठिन हुनेमा उनी चिन्तित छन् । 

उनले पनि चर्च ब्वाइज बलियो रहेकाले कडा प्रतिस्पर्धा हुने आशा गरेका छन् । चर्च ब्वाइजले शुक्रवार मात्र पत्रकार सम्मेलन गरेर प्रारम्भिक चरणको खेलमा राम्रो प्रदर्शन गर्ने बताएको थियो । यद्यपि, पारोमा ११ जना विदेशी खेलाडी रहेकाले केही सचेत भएर खेल्नुपर्ने चर्च ब्वाइजका प्रशिक्षकको भनाइ थियो । उनले अधिकांश नेपाली सिनियर राष्ट्रिय टोलीमा रहेका खेलाडी क्लबमा आबद्ध गरिएकाले टिम कम्बिनेसन पनि राम्रो भइरहेको उल्लेख गरेका थिए । च्यालेन्ज लिग प्लेअफमा चार देशका लिग च्याम्पियनले खेल्दैछन् । चर्च ब्वाइजले पारो एफसीसँग खेल्दा किर्गिस्तानको लिग च्याम्पियन अब्दिस एटा कान्टले अफगानिस्तानको लिग च्याम्पियन क्लब अट्याक इनर्जीसँग खेल्ने तय छ ।

दुई विजेताले अघिल्लो चरणको यात्रा तय गर्नेछन् । अघिल्लो सिजनमा मच्छिन्द्रले पारो एफसीलाई नै हराउँदै दोस्रो चरणको यात्रा तय गरेको थियो । तर, दोस्रो चरणमा भारतीय क्लबसँग पराजित हुँदा मच्छिन्द्रले यात्रा टुङ्गाउनु परेको थियो । एएफसीले प्रारम्भिक चरणमा जति पनि विदेशी खेलाडी राख्ने पाउने नियमका कारण केही कठिन हुने चर्च ब्वाइजका प्रशिक्षक महर्जनको भनाइ छ । यस कारण पारोले ११ जना विदेशी खेलाडी क्लबमा अनुबन्धित गरेको छ । चर्च ब्वाइजले राष्ट्रिय टोलीका डिफेन्डर अनन्त तामाङको कप्तानीमा खेल्दै छ ।

एरिक विष्ट, अञ्जन विष्ट र आयुष घलान जस्ता नेपाली टोलीबाट प्रभावशाली प्रदर्शन गरिसकेका खेलाडीलाई चर्च ब्वाइजले अनुबन्धित गरिसकेको छ । पारोले युरोपियन क्लब एसी मिलान र मस्को लगायतबाट खेलिसकेका ३८ वर्षे होन्डालाई यही प्रतिस्पर्धालाई लक्षित गरेर भित्राएको हो । उनको सम्झौता पारोको आगामी यात्राले तय गर्नेछ । उनीबाहेक सर्बियाका गोलकिपर मिलोस सुपिच, जापानिज विंगर कोकी नारिता, सर्बियाका अन्य दुई खेलाडी र नेपालबाट उत्कृष्ट प्रदर्शन गरिसकेका विलियम ओपोकी लगायत घानाका खेलाडी पारोले भित्राएको छ । 

चर्च ब्वाइजमा अनन्त (कप्तान), एरिक (उप कप्तान), अञ्जन विष्ट, आयुष घलान, लाकेन लिम्बू, दीप कार्की, टेकेन्द्र सिंह थापा, रेम्बो कुमार चौधरी, सञ्जीव विष्ट, छिरिङ लामा, सनिश श्रेष्ठ, सौभाग्य राई, सन्तोष खत्री, रोहन कार्की, विवेक पौडेल, निरज चौधरी, एकराज बुढाथोकी, योगेश गुरुङ, मनीष कुमार जर्गा, आदित्य शाक्य, ओमोलाजा नुरेन करीम (नाइजेरिया), पिटर बान्दा (जाम्बिया), मोजेस ग्याबा त्वाम (घाना) छन् । पारोसँगको खेलका लागि जनरल प्यारापिटतर्फ दुई र भिआइपीतर्फ पाँच सय रुपैयाँ टिकट मूल्य तोकिएको क्लबले जानकारी दिएको छ ।

प्रकाशित: २६ श्रावण २०८१ १७:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App