खेल

विपक्षीका विदेशी खेलाडीबाट शंका

पत्रकार सम्मेलनमा बोल्दै प्रशिक्षक बालगोपाल महर्जन। तस्बिर : नागरिक

बलियो लगानी, शीर्षस्तरको फुटबल प्रतियोगिता। त्यसैले पनि डेब्यु सिजनमै नेपाली घरेलु फुटबलको शीर्ष प्रतियोगिता ‘ए’ डिभिजन लिग जितेको चर्च ब्वाइज युनाइटेड एएफसी च्यालेन्ज लिगको प्लेअफ खेल्नुअघि आत्मविश्वासी देखिनुपर्ने हो, तर चार दिनपछि हुने प्रतियोगिताका लागि अन्तिम तयारीमा रहेको चर्च ब्वाइज त्यस्तो अवस्था देखिँदैन। ऊ आफ्नै लक्ष्यमा अत्यधिक शंकालु देखिन्छ। कारण हो- बलियो प्रतिस्पर्धी।

‘ए’ डिभिजन लिगमा डेब्यु उपाधि जितेको दुई महिनामै चर्च ब्वाइजले एएफसी च्यालेन्ज लिग खेल्ने अवसर प्राप्त गरेको हो। यसपल्ट उसले यही प्रतियोगितामार्फत अन्तर्राष्ट्रिय स्तरमा पनि डेब्यु गर्ने छ। यस्तोमा चर्च ब्वाइजको पहिलो प्रतिद्वन्द्वी छ, भुटान प्रिमियर लिग च्याम्पियन पारो एफसी।

खेलअघि मुख्य प्रशिक्षक बालगोपाल महर्जन टोलीको तयारीमा सन्तुष्ट देखिन्छन्, तर एसियाली फुटबल महासंघ (एएफसी) ले ल्याएको विदेशी खेलाडीको कोटाका कारण आफूले दिने नतिजामा उनलाई शंका लागेको छ। भन्छन्, ‘तयारीबाट म सन्तुष्ट छु। हामीसँग नेपाली राष्ट्रिय टोलीबाट लामो समयदेखि खेलिरहेका खेलाडीहरू छन्। तर, एएफसीको रुल्स एन्ड रेगुलेसन अनुसार विदेशी खेलाडी जति पनि राख्न पाउने नियम छ। यो हुँदा हामीसँग भन्दा पारोसँग राम्रा खेलाडी देखिरहेको छु।’

चर्च व्बाइजले डेब्यु सिजनमै उपाधि जित्ने लक्ष्यका साथ राष्ट्रिय टोलीका अञ्जन विष्ट, एरिक विष्ट, अनन्त तामाङ, तेज तामाङ, दिनेश राजवंशी र कमल श्रेष्ठ लगायत खेलाडी अनुबन्धित गरेको थियो। दिनेश र तेज भने लिगका खेल नखेल्दै विदेश उडे। यद्यपि, त्यसले उसको नतिजामा भने फरक पारेन। यसपल्ट च्यालेन्ज लिग खेल्न पनि चर्च ब्वाइजले दुरुस्तै रणनीति अपनाएको छ।

आयुष घलान, लाकेन लिम्बू, सौभाग्य राई, योगेश गुरुङ, सनिश श्रेष्ठ, छिरिङ लामा, सञ्जीव विष्ट, दीप कार्की लगायतका खेलाडीलाई उसले अनुबन्धन गरेको छ। ओमोलाजा नुरेज करिम, पिटर बान्दा र मोजेस ग्याबा चर्च ब्वाइजमा यही प्रतियोगिता खेल्न भित्रिएका तीन विदेशी खेलाडी हुन्। अञ्जन, अनन्त र एरिक त छँदै छन्।

सुरुआतमा चर्च ब्वाइजले चारभन्दा बढी विदेशी खेलाडी भित्र्याउने प्रयास गरेको थियो। तर, उसले खोजे जति खेलाडी भने पाउन सकेन। त्यसैले घरेलु लिग खेलेका जस्तो खेलाडी उपलब्ध भए उस्तै समेटेर उसले यसपल्ट २३ सदस्यीय टोली बनाएको छ।

यता, भुटान फुटबलमा विकसित भइसकेको देश होइन। तर, विगतमा भुटान फुटबललाई जसरी हेरिन्थ्यो उसलाई अहिले त्यति कमजोर नजरले हेरिहाल्ने अवस्थामा पनि छैन। अझ पारोलाई त कम आँक्ने कल्पना नै गर्न सकिँदैन। उसले सन् २०१९-२४ भुटान प्रिमियर लिग लगातार जितेको छ।

गत वर्ष नेपालकै मच्छिन्द्र फुटबल क्लबसँग २-३ ले पराजित भए पनि पारोले कति कडा टक्कर दिएको थियो त्यो सायद दशरथ रंगशालामा खेल हेरेका समर्थकको मस्तिष्कमा ताजै छ। त्यसैले उसले यसपल्ट प्लेअफ जसरी पनि पार गर्ने लक्ष्य बनाएको छ। त्यसका लागि तीन विश्वकप खेलिसकेका जापानी फरवार्ड केइसुके होन्डासहित ११ विदेशी खेलाडीको अनुबन्धनमा पारो आक्रामक देखिएको छ। त्यसैले पनि पारोसँग प्रतिस्पर्धा सहज नहुने बताउँछन् महर्जन।

‘विगत ३(४ महिनादेखि पारोले लगातार खेलिरहेको छ। लिगमा शीर्ष स्थानमा पनि छ। त्यसैले टोली सेट भइसकेको छ। नयाँ आएका विदेशी खेलाडीहरू पनि उच्च स्तरका छन्,’ उनी भन्छन्, ‘अहिले जसले बढी खर्चेर धेरै विदेशी खेलाडी ल्यायो त्यही टोलीले जित्ने अवस्था देखिएको छ। त्यसैले स्थिति फरक देखिएको छ।’

अहिले उनले चर्च ब्वाइज र पारोमा देखेको भिन्नता भनेको ठ्याकै यही हो। पारोले दिल खोलेर नै लगानी गरेको छ। चर्च ब्वाइजले भने यो गर्न सकेको छैन। उसले आठ नयाँ खेलाडी भित्र्याएको छ। ती खेलाडी पनि विभिन्न क्लबमा खेलेका छन्।

वर्षाको समय र व्यस्त क्यालेन्डर नहुँदा टोलीमा भएका खेलाडीले पनि नियमित फुटबल खेल्न पाएका छैनन्। खेले पनि त्यही मोफसलका नकआउट प्रतियोगिता हुन्। यसमा रोमाञ्चकता र व्यावसायिकता दुवैको कमी देखिन्छ। त्यसैले पनि पारोविरुद्ध उत्रिँदा घरेलु क्लबका खेलाडीले अन्तर्राष्ट्रिय टोलीसँग खेलेको जस्तो परिदृश्य देखिन सक्नेमा उनी बढी चिन्तित देखिन्छन्।

यसबाहेक फिटनेस, कम्बाइन्ड, कम्युनिकेसन र कोअर्डिनेसनमा पनि पारो राम्रो भएको उनको भनाइ छ। तर, आफूहरूसँग चार वर्षभन्दा बढी समयदेखि राष्ट्रिय टोलीबाट खेलिरहेका खेलाडी भएको कारण डराउनुपर्ने अवस्थाचाहिँ नरहनेमा उनी आशावादी देखिन्छन्। ‘राम्रा राष्ट्रिय खेलाडी छन्। विदेशी खेलाडी कमै भेटाए पनि राम्रो भेटाएको छु। त्यसैले आशा छ राम्रो हाम्रो नतिजा आउँछ,’ उनले भने।

प्रकाशित: २६ श्रावण २०८१ ०६:३० शनिबार

#UnitedAFCChallengeLeague #'A'DivisionLeague #ChurchBoys #StrongCompetitor