खेल

एभरेस्ट महिला भलिबल लिगमा ६ टोली

कुल ६ वटा फ्रेन्चाइज टोलीले एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) को पहिलो सिजनमा चुनौती प्रस्तुत गर्ने भएका छन्। नेपालमा पहिलो पटक भलिबलको फ्रेन्चाइज लिग इन्फिनिटी ड्रिम्स प्रालिको आयोजनामा हुँदैछ।

इन्फिनिटी ड्रिम्स प्रालिले बिहीबार पत्रकार सम्मेलनमार्फत पहिलो सिजनको महिला भलिबल लिगको फ्रेन्चाइजका बारेमा जानकारी दिएको हो। काभा महिला भलिबल नेसन्स लिग सकिएको भोलिपल्टै नै आयोजकले फ्रेन्चाइज टोली सार्वजनिक गरेको हो।

नेपाल भलिबल संघले यसअघि नै पुरुष भलिबलको फ्रेन्चाइज लिगका लागि सम्झौता गरिसकेको छ। महिला भलिबलको भने बिहीबार पत्रकार सम्मेलनमार्फत फ्रेन्चाइज टोली सार्वजनिक भएको छ।

पहिलो सिजनमा टिम काठमाडौं, टिम ललितपुर, टिम मधेस, टिम गण्डकी, टिम चितवन र टिम कर्णाली हुनेछन्। काठमाडौंको प्रवर्धकमा शरदकृष्ण टिबरेवाला तथा ललितपुरको प्रवर्धकमा अनुज एम तिमिल्सिना, अनुज रिमाल र विरोचन खनाल छन्। रोहित अग्रवाल र विशाल अग्रवालको स्वामित्वमा टिम मधेस छ।

त्यस्तै गण्डकीको प्रवर्धक सौरभ केडिया र टिम चितवनको प्रवर्धक निम्बस होल्डिङ हुन्। प्रतीक अधिकारी र राजेश बगडियाले टिम कर्णालीको प्रवर्धन गर्ने भएका छन्। इन्फिनिटीका संस्थापक आमिर अख्तरले नेपालमा भलिबल खेल प्रवर्धनमा थप टेवा पुर्‍याउने र नेपाली खेलाडीलाई अन्तर्राष्ट्रियस्तरमा थप स्थापित गर्न भलिबलको फ्रेन्चाइज लिग सुरु गरेको जनाएका छन्। आयोजकले आगामी आइतबार नै नेपाली खेलाडीको ड्राफ्ट सूची सार्वजनिक गर्ने भएको छ । क्याटागोरी ‘ए’ का खेलाडीले एक लाख ५० हजार, ‘बी’ का खेलाडीले एक लाख र ‘सी’ का ले ५० हजार रूपैयाँ प्राप्त गर्नेछन्।

इन्फिनिटीका संस्थापक आमिरले टर्की, रसिया, ब्राजिल, कजाखस्तान, जर्मनी र अस्ट्रेलिया र भारत गरी करिब १८/२० वटा देशबाट राम्रा खेलाडी फ्रेन्चाइज टोलीमा समावेश गर्ने योजना रहेको बताएका छन्।

घरेलु खेलाडीलाई टोलीमा समावेश गरेलगत्तै अन्तर्राष्ट्रिय खेलाडीलाई भिœयााउने आमिरको भनाइ छ। ‘घरेलु टोली अनुबन्धित भएपछि करिब दुई हप्ताभित्र नै अन्तर्राष्ट्रिय खेलाडी ल्याउने प्रक्रिया सुरु हुनेछ। हामीले हरेक टोलीलाई ४५ दिनअगाडि टोली बनाउनुपर्ने प्रावधान राखेका छौं। त्यसैले अब छिट्टै नै अन्तर्राष्ट्रिय खेलाडीको पनि टुङ्गो लाग्नेछ,’ आमिरले भने। पहिलो सिजन उपत्यकाभित्र हुने भए पनि दोस्रो सिजनबाट लिग मोफसलमा लाने उनको योजना छ। 

प्रकाशित: २५ श्रावण २०८१ ०७:३१ शुक्रबार

#Everest Women's Volleyball #Franchise League Infinity Dreams