खेल

खेलाडीबारे नसोच्ने खेलकुद पदाधिकारीमाथि अप्रिय निर्णय लिन्छु: मन्त्री चौधरी

युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले खेलाडीहरूलाई स्वदेशमै जीवनयापन गर्न सक्ने वातावरण बनाउने गरी सरकारले आवश्यक कदम चाल्ने प्रतिवद्धता जनाएका छन् ।

बुधवार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप ) कोकार्यालयमा परिषद्का  निः वर्तमान उपाध्यक्ष शिव कोइरालाको बिदाइ कार्यक्रममा बोल्दै उनले यस्तो कुरा बताएका हुन। उनले खेलाडीका जुन देशमा राम्रो काम गर्न सकिँदैन, सेवा, सुविधा दिन सकिँदैन त्यस देशबाट प्रतिभावान खेलाडी पलायन भइरहने बताए । उनले सक्षम खेलाडीलाई कसरी नेपालमा रोक्ने, उनीहरूलाई केके सुविधा दिँदा जीविका चलाउन सहज हुन्छ भन्नेबारेमा सरकारले आवश्यक काम गर्ने पनि बताए । उनले खेलाडीहरूका लागि भन्दा आफ्ना लागि बढी सोच्ने मन्त्रालय मातहतका खेलकुद निकायहरूलाई अप्रिय निर्णय लिने चेतावनी दिए । उनले सरकारले उत्कृष्ट खेलाडीहरूको वर्गीकरण गर्न लागेको जानकारी दिँदै उनीहरूका दुई सन्तानसम्मलाई कक्षा १२ सम्मको शिक्षा राम्रा विद्यालयमा अध्ययन गर्न पाउने व्यवस्था गर्न लागेको पनि बताए। 

उनले भने,‘‘जुन देशमा खेलाडीका लागि राम्रो काम गर्न सक्दैन, सुविधा पाउन सक्दैन, उसको खर्च कटौती गरेर उसको हरेक चिज काटेर हामी जथाभाबी गर्छौं भने त्यो देशको खेल क्षेत्र कहिल्यै प्रगति हुँदैन, खेलाडीहरू यसै गरी विदेश पलायन भइरहन्छ । हाम्रो एउटा लक्ष्य के छ भने हाम्रो देशका खेलाडीहरूलाई सक्षम खेलाडीलाई कसरी नेपालमा रोक्ने, उनीहरूलाई केके सुविधा दिँदा उसको जीविका चलाउन सकिन्छ, बाच्न सकिन्छ भन्ने हिसावले हाम्रो खेल क्षेत्रका पदाधिकारीहरूलाई सोच्न आग्रह गर्दछु । त्यो भिजनमा जान सक्नु भएन भने कतिपय कुरा म अप्रिय निर्णय लिन सक्छु । आफ्नो सुविधाको लागि जे पनि गर्न तयार तर खेलाडीको लागि कुनै मतलब नराखेपछि कहाँ राम्रो हुन्छ । सङ्घमा विवाद छ, तदर्थ समिति, संघ, संघ बी, संघ सी, के संघ हो यो रु एउटा संघ हुँदा हुँदै दुई वटा संघ हुन्छ । केही त स्वार्थ होला नि । दुई वटा संघ भएपछि खेलाडीहरू तानातान गर्ने हो । कोच तानातान गर्ने हो । यी कुरामा ध्यान दिन आग्रह गर्दछु । हामी राम्रो खेलाडीको क्याटोगोरी छुटाउँदै छौँ । उनीहरूका छोराछोरीहरूलाई कक्षा १२ सम्म प्याब्सनसँग सम्झौता हुँदैछ । उनीहरूको छोराछोरीलाई १२ कक्षासम्म निःशुल्क पढाउने, केही छुट दिएर पढाउने व्यवस्था गर्नेछौँ ।’

मन्त्री चौधरीले खेलाडीको जीवन बिमा बढाउने गरी सरकारले सोचिरहेको बताए । उनले खेलाडीहरूको स्वास्थ्य बिमाका बारेमा अस्पतालहरूसँग कुरा भइरहेको बताए। उनले खेलाडीहरूलाई नेपाली सेना र नेपाल प्रहरीमा मात्रै जागिर दिइरहेको भन्दै अन्य क्षेत्रमा पनि जोड्ने गरी आवश्यक पहल गर्ने बताए । 

प्रकाशित: २३ श्रावण २०८१ १५:१४ बुधबार

#National Sports Council (Rakhep) #Youth and Sports Minister Tejulal Chaudhary