खेल

महिला भलिबल अर्को महिना

काठमाडौं – शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा वैशाखको अन्त्यमा संस्करणको राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुने भएको छ।

वैशाख २१ देखि २५ सम्म राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा हुने प्रतियोगितामा ६ टोलीको सहभागिता रहने शुक्रबार पत्रकार सम्मेलनमा शेरबहादुर खड्का स्मृति प्रतिष्ठानले जानकारी गरायो। प्रतियोगितामा तीन विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ, नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबसहित न्यु डायमन्ड एकेडेमी, पश्चिमाञ्चल भलिबल टिम र जावलाखेल भलिबल प्रशिक्षण केन्द्रले सहभागिता जनाउने प्रतिष्ठानका अध्यक्ष  रञ्जन खड्काले बताए।

लिग कम नकआउट प्रणालीमा हुने प्रतियोगिताका सहभागिलाई दुई समूहमा विभाजन गरिनेछ। दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन्। 

पाँच दिन चल्ने प्रतियोगिताको विजेताले नगद १ लाख ५० हजार रुपैयाँ पाउनेछ भने उपविजेताले १ लाख तथा तेस्रो हुने टोलीले ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन्। यस्तै, प्रतियोगिताका सर्बोत्कृष्ट खेलाडीले १० हजार रुपैयाँ तथा विधागत उत्कृट पाँच खेलाडी र प्रशिक्षकले नगद ५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

प्रतिष्ठानले छात्रवृत्तिलाई निरन्तरता दिँदै महिला भलिबल खेलाडी कामना विष्ट र रेश्मा भण्डारीलाई छात्रवृति स्वरुप मासिक २ हजार रुपैयाँ प्रदान गर्ने भएको छ। साथै, सोही प्रतियोगिता दौरान प्रतिष्ठानले भलिबलका एक खेलाडीलाई स्पेशल अवार्डबाट सम्मान गर्ने अध्यक्ष खड्काले बताएका छन्। 

प्रकाशित: १७ चैत्र २०७४ ०१:५५ शनिबार

महिला भलिबल