खेल

चुनावको बाधा फुक्यो– शेर्पा

काठमाडौं –  उच्च अदालत ललितपुरको अन्तरिम आदेशका कारण चैत १४ मा हुने भनिएको निर्वाचन स्थगित भए पनि विवादित जिल्लामा निर्वाचनको प्रक्रिया सुरु भएपछि अब केन्द्रिय चुनावका लागि बाटो खुलेको अध्यक्ष पदका उम्मेदवार कर्माछिरिङ शेर्पा समूहले बताएको छ।

भक्तपुरका क्लबहरुले जिल्ला फुटबल संघविरुद्ध दायर गरेको मुद्धा फिर्ता लिनाका साथै मकवानपुर जिल्ला फुटबल संघले निर्वाचन गर्न अखिल नेपाल फुटबल संघ (एन्फा)को पत्र बुझेपछि केन्द्रिय कार्यसमिति चुनावको बाटो खुलेको शुक्रबार पत्रकार सम्मेलन गर्दै शेर्पा समूहले बताएको छ।

नेपालको अवस्था बुझ्न यसै साता नेपाल आएका एसियाली फुटबल महासंघ (एएफसी) का राष्ट्रिय संघ मामिला निर्देशक रवि कुमारले बुझाएको प्रतिवेदनका आधारमा विश्व फुटबलको सर्बोच्च निकाय फिफाले छिट्टै निर्वाचनको मिति तोक्न बिहीबार एन्फालाई निर्देशन दिएको शेर्पाले पत्रकार सम्मेलनमा बताए।

फिफाले एन्फालाई प्रतिबन्धबाट जोगिन अन्तिम मौका दिएको शेर्पा समूहका प्रचार विभागका प्रमूख किरण राईले बताए। ‘हामी परिवर्तन पक्षधरका मताधिकार प्राप्त ४७ प्रतिनिधि र एन्फाका पदाधिकारीहरुले संयुक्त हस्ताक्षरसहित अवरोध हटेको जानकारी गराउँदै निर्वाचन गर्ने प्रतिवद्धता एएफसी र फिफाका प्रतिनिधिसँग गरेपछि नेपालले अन्तिम मौका पाएको हो,’ राईले भने, ‘एन्फा प्रतिबन्धबाट जोगिन अब सबैले पदीय स्वार्थ त्यागी फुटबल विकासमा लाग्न एक ठाँउमा उभिनुपर्छ । देशको फुटबललाई प्रतिबन्धबाट रोक्न सबैले सकारात्मक भूमिका खेल्नु पर्छ।’

तीन क्लबले भक्तपुर जिल्ला फुटबल संघमाथि आफूहरुलाई समावेश नगरेको भन्दै जिल्ला अदालतमा मुद्धा हालेपछि भक्तपुरको निर्वाचन स्थगित भएको थियो। यसैबीच हुन लागेको एन्फाको केन्द्रिय निर्वाचनमा आफ्नो प्रतिनिधित्व नहुने भएपछि भक्तपुर र मकवानपुर जिल्ला फुटबल संघले उच्च अदालत ललितपुरमा एन्फाविरुद्ध मुद्धा दायर गरेका थिए। उच्च अदालतले गत साता दुई जिल्लालाई सहभागि नगराई तत्काल चुनाव नगर्नु भन्दै बाटो म्यादवाहेक १५ दिनभित्र लिखित जवाफ पठाउन दुवै पक्षलाई अन्तरिम आदेश जारी गरेको थियो। 

अदालतको आदेशपछि एन्फाले निर्वाचन स्थगित गरेको थियो। त्यही विषय बुझ्न नेपाल आएका एएफसी प्रतिनिधि कुमारको प्रतिवेदनका आधारमा कानूनी अड्चन फुक्ने सम्भावना देखेर फिफाले नेपाललाई मौका दिएको बताइएको छ।  

‘अब एन्फा निर्वाचन समिति वैशाखको पहिलो सातालाई निर्वाचनको मिति तोक्ने गरि सबै पक्षसँग छलफलमा जुटेको छ। अबको केही दिनमा एन्फा निर्वाचनको वातावरण देखिनेछ,’ राई थपे। 

प्रकाशित: १७ चैत्र २०७४ ०१:४९ शनिबार

चुनावको बाधा फुक्यो– शेर्पा