खेल

शीर्ष स्थानमा दूरी बढाउँदै पुलिस

नेपाल पुलिस क्बलले ललित स्मृति एन्फा यु–१८ युथ लिगमा आफ्नो अपराजित यात्रा कायम राख्ने क्रममा सोमबार विभागीय डर्बीमा एपिएफलाई ६–० ले पराजित गरेको छ।

जितसँगै शीर्ष स्थानको पुलिसले सात खेलबाट १९ अंक पुर्‍याएको छ। जुन दोस्रो स्थानको न्युरोड टिम (एनआरटी)को भन्दा तीन अंक बढी हो। एनआरटीले आइतबार अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ४–२ ले हराउँदै पुलिससँगको अंक बराबरी गरेको थियो। यद्यपि, पुलिस एक दिनपछि नै पुनः अंकदूरी बढाउन सफल भएको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा पुलिसलाई जित दिलाउन कप्तान सुवास बमले ह्याट्रिकसहित चार गोल गरे। यस्तै, लक्ष्मण थामीले अर्को दुई गोल थपे।

खेलको पहिलो हाफमा एपिएफले पुलिसलाई रोकेको थियो। तर, दोस्रो हाफमा भने पुलिसले लगातार आक्रमण बुन्दै ६ गोल गर्न सफल भयो । ४७औं मिनेटमा लक्ष्मणले गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए। त्यसको ११ मिनेटपछि नै उनले दोस्रो गोल थपे। एपिएफले पुनरागमन गर्न सन्देश बल र किशोर गुरुङलाई मैदान प्रवेश गराएको थियो। तर, मैदान छिरेको एक मिनेटमै सन्देशले पहेंलो कार्ड बेहोरेका थिए। दबाबमा खेलेको एपिएफले ७५ र ७८औं मिनेटमा अर्को दुई गोल बेहोर्‍यो। यी दुवै गोल सुवासले गरेका हुन्। उनले पहिलो गोल पेनाल्टीमार्फत गरेका थिए। ८९औं मिनेटमा अर्को गोल गर्दै उनले ह्याट्रिक पूरा गरे। लिगमा उनको यो पहिलो ह्याट्रिक हो। समग्रमा भने यो लिगको चौथो ह्याट्रिक हो।

आइतबार मात्रै एनआरटीका कप्तान विज्ञान खड्काले विभागीय टोलीविरुद्ध ह्याट्रिक पूरा गरेका थिए। यसअघि पुलिसका विक्रम गौतमले थ्री स्टार क्लब र जावलाखेल युथ क्लबका विवश दर्लामीले चर्च ब्वाइजविरुद्ध ह्याट्रिक गरिसकेका छन्। इन्जुरी समयको चौथो मिनेटमा सुवासले नै गोल गर्दै पुलिसलाई ६–० को फराकिलो जित दिलाए। लिगमा कमजोर प्रदर्शन गरिरहेको एपिएफको यो तेस्रो हार हो। एपिएफले सात खेलबाट सात अंक जोडेको छ। अर्को खेलमा भने संकटा फुटबल क्लबले जावलाखेल युथ क्लबमाथि २–० को जित हासिल गरेको छ। यो संकटाको दोस्रो जित हो। यसअघि संकटाले आर्मीलाई २–१ ले पराजित गरेको थियो। जितसँगै संकटाले सात खेलबाट नौ अंक जोडेको छ। दुई स्थान सुधार गर्दै संकटा छैटौं स्थानमा पुगेको छ। आर्मीको भने यो पाँचौं हार हो। लिगका आधाभन्दा बढी खेल सकिँदा आर्मीले लय समात्न सकेको छैन। आर्मीको समान खेलबाट चार अंक रहेको छ।

संकटाले २२औं मिनेटमै सविनकुमार लुंगेली मगरको गोलमार्फत सुरुआती अग्रता लिएको थियो। निर्धारित ९० मिनेटको खेल सकिन पाँच मिनेट बाँकी रहँदा दिवस राईले अर्को गोल थप्दै संकटालाई सहज जित दिलाए। 

प्रकाशित: २२ श्रावण २०८१ ०७:४९ मंगलबार

#नेपाल पुलिस क्बल #ललित स्मृति एन्फा यु–१८ युथ लिग