विभागीय टोली त्रिभुवन आर्मी क्लबले शुक्रबार भारतीय आई लिग क्लब सिलोङ लाजोङ एफसीविरुद्ध १-० को पराजयसँगै डुरान्ड कपको समूह चरणको यात्रा सुरु गरेको छ। जवाहरलाल नेहरू स्टेडियममा भएको खेलमा वादाजिद किन्साङ रिङ्ख्लेमले गरेको निर्णायक गोलमा सिलोङले महत्वपूर्ण तीन अंक जोड्यो।
घरेलु समर्थकको बलियो साथ पाएको सिलोङले खेलको अधिकांश समय आर्मीमाथि दबदबा कायम राखेको थियो। तर, उक्त दबदबाअनुसार भने सिलोङले प्रदर्शन गर्न सकेन। आर्मीले चौथो मिनेटमै गोलको अवसर खेल फ्याँकेको थियो।
डिफेन्डर जितेन्द्र कार्कीले डी बक्सबाहिरबाट गरेको प्रहार पहिलो बारनजिकबाट बाहिरिएको थियो। त्यसको चारमिनेटमा आर्मीका डिफेन्डरबीच तालमेल नमिल्दा सिलोङले फाइदा उठायो।
गोलकिपर मानस दुवेले रिलिज गरेको बललाई आर्मीका डिफेन्डरले क्लियर गर्ने प्रयास गरेका थिए। हुलमुलमा प्राप्त बललाई वादाजिदले आर्मीका डिफेन्डरलाई छक्याउँदै गोल गरे। आर्मीका गोलरक्षक विकेश कुथुले उक्त बल बचाउन डाइभ गरे पनि सफल हुन सकेनन्।
तीव्र गतिको खेलमा दुवै टोलीले बारम्बार मौका सिर्जना गरेका थिए। तर, फिनिसिङमा चुके। सिलोङका हार्डी क्लिफ नोङब्री, एभरब्राइटन साना र मार्कोस रुडवेर सिल्भाले गोल गर्ने केही अवसर गुमाए।
अर्कोतर्फ आर्मीले सबै दबाबलाई आत्मसात् गर्दै काउन्टर अट्याक गर्ने प्रयास गरेको थियो। मध्यान्तरअघि आर्मीले खेलमा फर्किने अवसर गुमायो। अनमार्क रहेका वसन्त जिम्बाले ‘वन भर्सेस वन’ मा गोल गर्न सकेनन्।
दोस्रो हाफमा पनि सिलोङले आक्रामक खेल जारी राखे पनि दोस्रो गोल गर्न सकेन। डी बक्सभित्र अन्तिम टचमा खेलाडी चुकेका थिए। विकेशले पनि उत्कृष्ट प्रदर्शन गर्दै सिलोङलाई गोल थप्न दिएनन्।
समूह ‘एफ’ मा आइएसएल टोली हैदराबाद एफसी र २०२१ को डुरान्ड कप च्याम्पियन एफसी गोवा पनि छन्। आर्मीले लगातार दोस्रो वर्ष डुरान कप खेलेको हो। अघिल्लो संस्करणमा आर्मी चेन्नइयिन एफसीसँग ३-० र हैदराबादसँग ३-० ले पराजित भएको थियो। यस्तै, दिल्ली एफसीसँग भने १-१ गोलको बराबरी खेल्दै अंक बाँडेको थियो।
आर्मीले दोस्रो खेल बिहीबार गोवासँग खेल्नेछ। यस्तै, १३ अगस्टमा हुने समूहचरणको अन्तिम खेलमा हैदराबादको सामना गर्नेछ।
प्रकाशित: १९ श्रावण २०८१ ०६:३३ शनिबार