खेल

फुटसल प्रतियोगिता आयोजना गर्दै ‘दारी ग्याङ’

सामाजिक सञ्जालमा चर्चित शिक्षित युवाहरुको समूह ‘दारी ग्याङ’ ले आफ्नो पहिलो फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ। प्रतियोगिता भाद्र १४ र १५ गते काठमाडौंमा हुनेछ।

दारी ग्याङका सक्रिय सदस्य तथा फुटसल व्यवस्थापन समितिका सदस्य निरोज कुमार भट्टराईले प्रतियोगिताका लागि टिम दर्ता फारम खुलाइएको जानकारी दिए। उनका अनुसार   देशभरिका ३२ टिमले लिग चरण र त्यसपछि नकआउट चरणमा प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगिताको विजेताले ५० हजार नगद, ट्रफी, मेडल, र प्रमाणपत्र प्राप्त गर्नेछन्। साथै उपविजेताले ३० हजार नगद, मेडल, र प्रमाणपत्र प्राप्त गर्नेछन्।

‘परोपकारको लागि खेलकुद’ शीर्षकमा आयोजना हुने यो प्रतियोगिता सम्पन्न भएपछि बाँकी रहेको सम्पूर्ण रकम सामाजिक कार्यमा खर्च गरिने दारी ग्याङका केन्द्रीय सदस्य तथा फुटसल व्यवस्थापन समितिका सदस्य महेश्वर घिमिरेले जानकारी दिए।

दारी ग्याङ नेपाली सामाजिक सञ्जालमा सक्रिय शिक्षित युवाहरुको समूह हो। यो समूहले विभिन्न सामाजिक कार्य गर्दै आएको छ। भर्खरै दारी ग्याङ युकेको आर्थिक सहयोग र सुहास डेन्टल केयरको प्राविधिक सहयोगमा नुवाकोट, लिखु गाउँपालिका-६ को एक विद्यालयमा नि:शुल्क दन्त शिविर आयोजना गरेको थियो।

यस समूहका केन्द्रीय सदस्य प्रवीण ज्ञवालीका अनुसार दारी ग्याङले निरन्तर रक्तदान कार्यक्रम लगायत अन्य सामाजिक क्षेत्रमा अतुलनीय योगदान गर्दै आएको छ। 

फुटसल टुर्नामेन्टको दर्ता फारम प्रदेश तथा जिल्ला संयोजकमार्फत उपलब्ध गराइने बताइएको छ।

प्रकाशित: १७ श्रावण २०८१ १८:४१ बिहीबार