खेल

पेरिस ओलम्पिकमा नेपालका तीन खेलाडीको चुनौती समाप्त

पेरिस ओलम्पिकमा नेपालका तीन खेलाडीको चुनौती समाप्त भएको छ। नेपालकी सुटर सुस्मिता नेपाल, पौडीतर्फकी डुवाना लामा र टेबल टेनिसका स्यान्टु श्रेष्ठको पेरिस ओलम्पिक २०२४ मा चुनौती समाप्त भएको हाे।

फ्रान्सको सेन्टर भाल डे लोइरेमा भएको १० मिटर एयर राइफलमा प्रतिस्पर्धा सुस्मिताले खराब प्रदर्शन गरेकी थिइन्। सुस्मिताले ६०७.८ अंक जोडिन्। यो प्रदर्शनले उनी ४३ खेलाडीमध्ये ४२औं स्थानमा सीमित भइन् । छनोटबाट आठ खेलाडीले अन्तिम चरणमा स्थान बनाएका छन्। यो चरणबाट दक्षिण कोरियाकी बान होजिनले ६३४ अंक बटुल्दै शीर्ष स्थान प्राप्त गरेकी थिइन्। सुस्मिताले आफ्नो व्यक्तिगत प्रदर्शनमा पनि सुधार गर्न सकिनन्।

आइतबार नै पेरिस ला डिफेन्स एरिनामा भएको पौडीतर्फm प्रतिस्पर्धामा डुवाना लामाको यात्रा पनि हिट चरणबाटै समाप्त भएको छ। डुवाना २०० मिटर फ्रि–स्टायलको हिट चरणमै सातौँ स्थानमा रहिन्। समग्रमा भने उनी ३०औं स्थानमा रहिन्। उनले दुई मिनेट २०.७४ सेकेन्डमा यो दूरी पार गरिन्। १६ खेलाडीले हिट चरण पार गरेका थिए। डुवानासँगै तीन नेपाली खेलाडीको ओलम्पिक यात्रा सकिएको छ।

त्यस्तै टेबल टेनिसका स्यान्टु श्रेष्ठ पनि पहिलो चरणबाटै बाहिरिएका थिए। उनी छनोट चरण पार गरेर पेरिस ओलम्पिक खेल्ने एक मात्र नेपाली खेलाडी हुन्। पेरिस ओलम्पिकमा नेपालबाट सात खेलाडीको चुनौती तय भएको थियो।

प्रकाशित: १३ श्रावण २०८१ १८:५० आइतबार

#Paris Olympics – 2024